दुई दलीय प्रणालीको पक्षमा छैनौं, संविधान संशोधनमा राष्ट्रिय सहमति खोज्छौं: एनपी साउद (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले आफूहरु दुई दलीय व्यवस्थाको पक्षमा नरहेको बताएका छन् ।
संविधान संशोधनबारे शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एक दलीय शासन व्यवस्था खोज्ने कम्युनिष्टहरुले बहुदलीय व्यवस्थाको पक्षमा वकालत गरेको सुन्दा आफूलाई सन्तुष्ट हुने बताए ।
उनले भने, ‘संविधान संशोधन गरेर दुई दलीय बनाउन खोजिएको छ भन्ने कुरामा सत्यता छैन । कहिलेकाहीँ थ्रेसहोल्डको कुराले दुई दलीय व्यवस्थालाई प्रमोट गर्ने बाटोमा चाहिँ अगाडि बढ्छ कि भन्ने चर्चा हुने गरेको छ । २०–२५ हजार मतले एक सांसद हुने, दल थरीथरी खुल्ने र मिश्रित निर्वाचन प्रणालीको कारण एकल बहुमत आउन नसक्ने भएपछि कुनै न कुनै आधारमा सहमति गर्नुपर्छ भन्ने हो । त्यसका लागि हामीले राष्ट्रिय सहमति खोजेका छौं ।’
नेता साउदले दुई दलीय व्यवस्था खोज्ने र नयाँलाई आउन रोक्ने आफूहरुको नीति नभएको बताए ।
उनले संविधान संशोधनको विषयमा औपचारिक छलफल सुरु भइनसकेको भन्दै दुई तिहाइको बलमा सरकार अघि नबढ्ने बताए ।