प्रधानसेनापति सिग्देलद्वारा भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले आज देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको अन्तिम दलको कवाज निरीक्षण गरेका छन् ।
सो क्रममा उनले नवनियुक्त अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्नाका साथै उनीहरूसँग अन्तरक्रियासमेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाले विसं २०१० देखि सो एकेडेमीमा आफ्ना अधिकृत क्याडेटलाई तालिममा सहभागी गराउँदै आएको छ । हालसम्म उक्त एकेडेमीबाट २०० भन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेट दीक्षित भइसकेका छन् ।
१२ देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेट तालिमरत रहेको सेनाले जनाएको छ ।