अस्पताल नपुर्‍याउँदै श्रीमतीसँगै अस्ताए तिलकराम – Nepal Press

अस्पताल नपुर्‍याउँदै श्रीमतीसँगै अस्ताए तिलकराम

 भक्कानिए मलामी र आफन्त

रुपन्देही । शुक्रबार राती घरमा श्रीमती बिरामी भएपछि बुटवल १२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनालले तत्काल छोराहरूलाई खबर गरे । हतारहतार अस्पताल लैजान छोराले नै गाडीको व्यवस्था गरे ।

दमको बिरामी रहेकी उनकी श्रीमती ६७ वर्षीय गौरी खनाललाई छोराको गाडीमा राखेर हतारहतार बुटवलस्थित साझा अस्पतालमा लैजान हिँडालियो ।  तर ४ किलोमिटरको दुरीमा रहेको अस्पतालमा पुग्न ५ सय मिटर नजिकै बुटवलको तिनाउ पुलमा उनीहरु चढेको बलेरो जिप अनियन्त्रित भई पल्टिँदा न त  तिलकरामले श्रीमतीलाई अस्पताल पुराउन पाए न त श्रीमती गौरी जीवित रहिन् ।

रातीमा हतारमा अस्पताल दौडाउँदै गर्दा पुल नजिकैको डिभाइडरमा गाडी ठोक्किँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । यो घटनामा तिलकराम, उनकी श्रीमती गौरीसहित जिप चालक ३२ वर्षीय हरि न्यौपानेले ज्यान गुमाएका हुन् ।

कपिलवस्तु निवासी न्यौपाने तिलकरामका छोराको साला हुन् । घरमा गौरीलाई दमले च्यापेपछि उनका कान्छा छोरा विशाल खनाल मोटरसाइकलमा पहिले नै साझा अस्पताल पुगेर टिकट र डक्टरको व्यवस्था गरेर कुरेका थिए ।

तर त्यो जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाए । पश्चिमबाट बुटवल पुग्दै गर्दा पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनको भनाइ छ । तिलकरामका माइला छोरा ज्ञानप्रसादले बेलबासमा अर्घाखाँची क्याटरिङ चलाइरहेका छन् । सोही गाडीमा उनीहरूलाई अस्पताल लगिँदै थियो ।

तीन छोरा र एक छोरीका बुवाआमा रहेका तिलकराम र गौरी छोराहरूले तराईमै व्यवसाय गर्न थालेपछि १० वर्षअघि रुपन्देही झरेका थिए । उनीहरुका जेठा छोरा रामप्रसाद, माइला ज्ञानप्रसाद र कान्छा विशाल तथा छोरी सुशीला रहेका छन् ।

उनीहरु करिब ५० वर्षअघि विवाह गरेका थिए तर दुर्भाग्य गएराती एकै पटक ज्यान गुमाए । घटनापछि शोकाकुल आफन्त, छिमेकीले उनीहरूलाई कपिलवस्तुको लक्ष्मण घाटमा एकै सोलामा अन्त्येष्टि गरेका छन् । दाहसंस्कारमा सहभागी छिमेकी दाजुभाइ गोविन्द खनालले उनीहरुको एकै सोलामा राखेर अन्त्येष्टि गरेको बताए ।

‘निकै अपत्यारिलो दुःखद घटना भयो, म नै अध्यक्ष रहेको साझा अस्पतालमा आमा गौरीको उपचारका लागि कान्छा छोरा विशालले पहिले गएर टिकट लिएर डाक्टरलाई बोलाएर राखेका थिए, तर त्यति सिरियस बिरामी बाटोमा ४ किलोमिटरको दुरीमा १५ मिनेट रोकिएपछि फोन गरियो, कसैको फोन उठेन अनि खोज्दै जाँदा यस्तो घटना देखियो’ उनले सुनाए ।

हतारमा बिरामीलाई अस्पताल पुर्‍याउन गाडीको दौडाई र पुल कटेपछिको थोरै घुमाउरो बाटोमा गाडी नियन्त्रण हुन नसकेको देखिन्छ, यो घटनाले हामीलाई ठूलो पीडा दिएको छ’ उनले भने–‘रातीमा विपरीत दिशाबाट गएको गाडीले फोकस लाइट नमारेर पनि यस्तो हुनसक्छ ।’
उनीहरुको अन्त्येष्टिमा गएका बसन्तराज खनालले सँगै जिउने कसम खाएका जोडीलाई यसरी एकै पटक अन्त्येष्टि गर्नुपर्दा निकै पीडा भएको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर