ओलीको प्रष्टोक्ति- एमालेमा कसैको गुट छैन, विष्णु पौडेल र शंकर पोखरेल मेरा लागि बराबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विष्णु पौडेल र शंकर पोखरेलको गुट नरहेको भन्दै दुवै नेता आफ्नो लागि बराबर रहेको प्रष्ट पारेका छन् ।
केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीमा प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल आफ्नो लागि एउटा नजिक र अर्को टाढा नभएको बताएका हुन् ।
कार्याशाला गोष्ठीको दोस्रो दिन औपचारिक सम्बोधनको लाइभ काटेर मिडियालाई बाहिर पठाएपछि अध्यक्ष ओलीले पार्टीभित्र कसैको गुट नरहेको र गुटबन्दी स्वीकार्य पनि नहुने प्रष्ट पारे ।
ओलीको भनाइ उद्धृत गर्दै भेलाका एक सहभागीले भने, ‘अहिले कतिपयले बिष्णु पौडेलको गुट छ,शंकर पोखरेलको गुट छ भन्छन् तर एमालेमा कसैको गुट छैन । मैले गुट गर्ने कुरै भएन सबै मेरा साथीहरु हुन् सबैतिर सबैले मलाई सघाएकै छन् । मेरा लागि सबै बराबर हुन् ।बाहिर कसले के भन्छन्, कसका नाममा गुट बनाइन्छन्, तर एमालेमा अहिले विशेषगरी पार्टी पुनर्गठनपछि कसैको गुट छैन । विष्णु पौडेलको पनि गुट छैन, शंकर पोखरेलको पनि गुट छैन । मेरा लागि दुवै जना बराबर हुन् । त्यसैले कोही भ्रममा पर्न आवश्यक छैन ।’
अध्यक्ष ओलीले पार्टीभित्र विमति राख्ने, तर समाधान दिन नसक्ने प्रवृत्ति देखिने गरेको भन्दै विचार र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिँदामात्र पार्टी बलियो बन्ने बताए ।
ओलीले स्थानीय तहका जनप्रतिनिधि र पार्टी कमिटीबीच जनताको हितमा काम गर्ने सन्दर्भमा नियमित छलफल गर्न निर्देशनसमेत दिए ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान‘ विषयक राष्ट्रिय कार्यशालामा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल विशिष्ट अतिथि छन् ।
कार्यशालामा महासचिव पोखरेलले पार्टी केन्द्रले पारित गरेको वार्षिक कार्ययोजनाका विषयमा अभिमुखीकरण गरेका छन् । कार्यशालाको मुख्य विषयवस्तुको रूपमा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यपत्र केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले पेश गरेका छन् ।
कार्यशालामा जिल्ला कमिटी र प्रदेश कमिटीका अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई जना महिला सदस्यहरु, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित मेयर, उपमेयर गरी ३१५ जनाको सहभागिता रहेको छ ।
कार्यशालामा उपस्थित सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरेर सुझावहरु संकलन गरिएको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।
याे पनि पढ्नुस् : एमालेको ‘प्रोक्सी वार’ र विष्णु-शंकर ‘एक बुँदे विमति’ को चिरफार