‘नेपाली औषधि उद्योगमा चुनौतीका चाङ छन्, नीतिगत रुपमै अप्ठेरोमा पारियो’ – Nepal Press
नेपाल टक

‘नेपाली औषधि उद्योगमा चुनौतीका चाङ छन्, नीतिगत रुपमै अप्ठेरोमा पारियो’

देउराली-जनता फर्मास्युटिकल्सका कार्यकारी सञ्चालक हरिभक्त शर्मा भन्छन्- धेरै औषधि उद्योगहरू तीनचार वर्षमा हराउँदै जान सक्छन्

काठमाडौं । आममानिसको जीवनसँग जोडिएको औषधि उत्पादन गर्ने उद्योगहरूको संख्या बढ्दो छ । सङ्ख्या बढे पनि नेपाली औषधि उद्योगहरूले त्यसअनुसार प्रतिफल पाएका छैनन् । अझै पनि नेपाली बजारमा विदेशी औषधिको पकड दह्रो देखिन्छ ।

नेपाली उत्पादकहरूले औषधिको बजार ४५ प्रतिशत लिँदा आयातित विदेशी औषधिहरूले ५५ प्रतिशत हिस्सा ओगटेका छन् । नेपालमा औषधि उत्पादन, बजारको अवस्था र अबको बाटोबारे देउराली-जनता फर्मास्युटिकल्स प्रालिका कार्यकारी सञ्चालक हरिभक्त शर्मासँग नेपाल प्रेसकर्मी रिता राउतले गरेको कुराकानीको सम्पादित अंश नेपाल टकमाः

– लामो समयदेखि औषधि उत्पादनको क्षेत्रमा हुनुहुन्छ । औषधि उत्पादन शुरु गर्दा र अहिलेको अवस्था कस्तो पाउनुभएको छ ?

मैले देउराली-जनता फर्मास्युटिकल्स प्रालि शुरु गर्दा नेपालमा औषधि उद्योगहरू खासै थिएनन् । हामीले जुन बेला औषधि उद्योग खोल्यौं, त्यसबेला हामी पाँचौं स्थानमा थियौं । अहिले औषधि उद्योगहरूको सङ्ख्या बढेको छ । यस क्षेत्रमा लगानी बढेको छ । हजारौंले रोजगारी पाएका छन् ।

गएको १५-२० वर्षदेखि नेपालमा औषधि खपतको ४५ प्रतिशत आन्तरिक उत्पादनले धानिरहेको छ । बाँकी ५५ प्रतिशत औषधि बाहिरबाट आयात भइरहेको छ । भारत, चीन, बंगलादेश एवं विभिन्न विकसित देशबाट औषधि आयात गरिन्छ । औषधि उत्पादनको कच्चापदार्थ पनि विभिन्न देशबाट आयात गरिन्छ, तर औषधि उद्योगहरूको सङ्ख्या बढ्दै गर्दा बजारको हिस्सा भने घट्दै गएको छ । सञ्चालनमा रहेका औषधि उद्योगहरूलाई प्रतिफल लिन सकस परिरहेको छ । देउराली-जनताले पनि औषधि उत्पादनमा ठूलो लगानी गरेको छ, तर त्यसअनुसारको प्रतिफल पाएको छैन ।

आममानिसको जीवनसँग जोडिएका औषधि उद्योगहरूमा चुनौतीहरू थपिएका छन् । २०६२/६३ सालको परिवर्तनपछि नेपाल उद्योगमैत्री हुन्छ, नेपालले औद्योगिक विकासमा फड्को मार्छ भन्ने हाम्रो अपेक्षा रहेको थियो, तर परिवर्तन भएन । यतिका वर्षसम्म पनि देशमा उद्योगमैत्री वातावरण बनाइएन, देश व्यापारमैत्री मात्रै भयो । नेपालमा आयातलाई सहज नीति बनाउने र उत्पादनलाई अप्ठेरोमा पार्ने खालको नीति बनाउने गरिएको छ । नीतिगत रुपमा नै देशलाई व्यापार गरेरमात्रै खाने मुलुक बनाइसकिएको छ ।

– औषधि उत्पादकहरूले बेलाबेला उत्पादन लागत र मूल्यमा मेल नखाएको गुनासो गर्ने गर्छन् । लागतभन्दा कम मूल्यमा औषधि बेच्न बाध्य हुनुभएको हो ?

विदेशी कम्पनीलाई २५ रुपैयाँमा नेपालमा औषधि बिक्री गर्न दिने सरकारले हामी स्वदेशी उत्पादकहरूले उत्पादन गरेको त्यस्तै औषधि १५-१६ रुपैयाँमा बेच भनेर भन्ने गरेको छ । लागतकै कुरा गर्ने हो भने पनि विदेशी कम्पनीहरूको भन्दा नेपाली उद्योगले उत्पादन गर्ने वस्तुहरूमा बढी पर्न जान्छ ।

सबै कच्चापदार्थको मूल्य बढेको छ । डलरको मूल्यदेखि पेट्रोलियम पदार्थसम्म सबै चिजको मूल्य बढेको छ, तर औषधिको मूल्य १२–१५ वर्ष अगाडि जे छ, त्यही राखेपछि मात्रै औषधि व्यवस्था विभागले नवीकरण गर्ने गरेको छ । कच्चापदार्थको मूल्य र उत्पादन लागत अन्य देशको तुलनामा महँगो छ । अनि औषधिको मूल्य सबैभन्दा सस्तो छ ।

नेपालमा आयातलाई सहज नीति बनाउने र उत्पादनलाई अप्ठेरोमा पार्ने खालको नीति बनाउने गरिएको छ । नीतिगत रुपमा नै देशलाई व्यापार गरेरमात्रै खाने मुलुक बनाइसकिएको छ ।

नेपालमा उत्पादन भएको औषधिको मूल्य सस्तो बनाउन बाध्य पारिन्छ । संसारका हामी जस्तै मुलुकमा यही कुनै वस्तु दुई रुपैयाँमा पाइन्छ भने नेपालमा एक रुपैयाँमा बेच्नुपर्छ भन्ने आधार के हो ? यस्तो वातावरण बनाएपछि नेपालका उद्योगहरूले विश्वमा प्रतिस्पर्धा गर्नु त परको कुरा भइहाल्यो, नेपालमै पनि प्रतिस्पर्धा गर्न सक्दैनन् ।

– नीतिगत रुपमै अप्ठेरोमा पारियो भन्न खोज्नुभएको हो ?

नेपाली उद्योगलाई सिस्टमेटिक तरिकाले नै समस्यामा पार्ने गरिएको छ । नेपाली उद्यमीहरूलाई पाइला-पाइलामा अप्ठेरोमा पार्ने गरिएको छ ।औषधि आयात गर्न भने सजिलै खुरुखुरु गर्न दिइन्छ । नेपाली औषधि उत्पादकहरूलाई अनेक थरीका कागजातहरू र झन्झटिलो प्रक्रियामा अल्झाउने गरिन्छ । चाहिनेभन्दा धेरै नचाहिने कागजातहरू तयार पारेर दिन बाध्य पारिन्छ । जस्तैः हरेक कच्चापदार्थ आयात गर्न हरेक वर्ष नयाँ लाइसेन्स लिनुपर्छ । हरेक उत्पादनको लागि छुट्टाछुट्टै अनुमतिपत्र लिनुपर्छ र हरेक वर्ष त्यसको पनि नवीकरण गर्नुपर्छ । जुन संसारमै नभएको नियम हो । फेरि त्यसमा पनि नयाँ उत्पादनको लाइसेन्स लिन त दुईतीन वर्षसम्म कुर्नुपर्ने बाध्यता छ ।

हाम्रोमा नयाँ उत्पादन गर्नुभन्दा त्यसको अनुमति लिन समस्या छ । कुनै एउटा उच्च टेक्निसियन ल्याउनुपर्‍यो भने बढीमा एक वर्ष श्रम स्वीकृति दिइनेछ भनेर श्रम विभागले नियमावली बनाएको छ । जबकि कानूनले पाँच वर्ष दिन्छ । कानूनमा भएको व्याख्याभन्दा खराब नियमावली बनाइएको छ ।

मेरै उद्योगको एउटा उदाहरण नै हेरौं न, देउराली-जनताको फ्याक्ट्री टोखा नगरपालिकामा छ । नगरपालिकाले पहिला यसलाई व्यवसाय दर्ता गर भन्छ । काठमाडौं महानगरपालिकामा यसको कार्यालय छ, त्यहाँ पनि व्यवसाय दर्ता गर्नुपर्छ । उद्योग विभागले उद्योग दर्ता गर्छ । कम्पनी रजिष्ट्रारले कम्पनी रजिस्ट्रेशन गर्छ । औषधि व्यवस्था विभागबाट स्वीकृति नलिई केही गर्न पाइँदैन । तीनतीन वटा सरकारी अड्डाबाट रजिस्ट्रेसन गरिसकेपछि नगरपालिकामा पनि रजिस्ट्रेसन गर्नुपर्छ ।

विदेशी कम्पनीलाई २५ रुपैयाँमा नेपालमा औषधि बिक्री गर्न दिने सरकारले हामी स्वदेशी उत्पादकहरूले उत्पादन गरेको त्यस्तै औषधि १५-१६ रुपैयाँमा बेच भनेर भन्ने गरेको छ ।

नगरपालिकामा गरिने रजिस्ट्रेसन कर लिनेमात्रै हो । पहिले उद्योगधन्दालाई सम्पत्ति कर लाग्दैन थियो । अहिले नगरपालिकाहरुले सम्पत्ति कर उठाइरहेका छन् । संसारमा धेरैजसो मुलुकले उद्योगधन्दाको सम्पत्तिमा सम्पत्ति कर लिँदैनन्, तर नेपालमा नगरपालिकामार्फत सम्पत्ति कर लिने गरिएको छ । उद्योगलाई सबैतिरबाट नियमन र उद्योगीसँग राजस्व संकलनमात्र गर्न खोज्दा उद्योगी सकसमा परिरहेका छन् ।

– नेपालका नीति नियम उद्योगमैत्री छैनन् र ?

औषधिमा मात्रै होइन, अहिले जुनसुकै क्षेत्रमा यदि कसैले उद्योग चलाएको छ भने त्यहाँ समस्या छ । भाषणमा सबैले उद्योगमैत्री बनाउँछु भन्ने गरिन्छ, तर व्यवहारमा उद्योगमैत्री वातावरण छैन । हामीले उद्योगमैत्री वातावरणको महसुस नै गर्न पाएका छैनौं ।

हामी नेपाललाई औद्योगीकरणको बाटोमा लैजान धेरै नै पछि परिसकेका छौं । नेपाली उद्योगहरू फस्टाउन सकेका छैनन् । नयाँ लगानी गर्न पनि उद्यमी डराइरहेका छन् । नेपालमा उद्योग सञ्चालन गरेकाहरूलाई हेर्ने नजर नै फरक छ । उद्यमीहरू सबै बदमास हुन्छन्, यिनीहरूले ठगी गर्छन् भनेर हेर्ने गरिन्छ । कानून पनि त्यही दृष्टिकोणले बनाइन्छ । नेपालमा सबै सरकारी कार्यालयहरूले त्यहीअनुसार काम गर्छन् । सरकारले उद्यमीहरूलाई सानो गल्तीमै जेल लगेर राख्ने कानून बनाएको छ । सानो गल्तीमै ठूलो सजाय दिने गरेपछि उद्योग चलाउन जोकोही डराउने भए ।

नेपालमा उद्योगलाई धेरै बढी नियमन र नियन्त्रण हुने गरेको छ । औषधिको क्षेत्रमा पनि चाहिनेभन्दा बढी नियमन हुने गरेको छ । हामी एकातिर खुला अर्थतन्त्रका कुरा गरिरहेका छौं, अर्कोतिर यसरी बाँधिदिने गरिएको छ कि कुनै नेपाली औषधि उद्योगले नयाँनयाँ औषधिको अनुज्ञापत्र नै लिन सकिन्न । कि हामी नियन्त्रित अर्थतन्त्रमा जानुपर्‍यो, कि त खुला अर्थतन्त्र हो भने खुला अर्थतन्त्रमै जानुपर्‍यो । यसरी न हाँसको न त बकुल्लाको चालले उद्योगधन्दाको विकास हुँदैन ।

– नेपाल औषधिमा आत्मनिर्भर बन्नसक्ने सम्भावना छ ?

सरकारले उद्योगमैत्री वातावरण बनाउने हो भने नेपाल औषधिमा आत्मनिर्भर बन्नसक्छ, तर औषधिका क्षेत्रमा हामीले नीतिहरू नफेरेसम्म औषधिमा आत्मनिर्भर बन्न सकिँदैन । छिमेकी मुलुकहरूमा औषधि उत्पादनका उद्योगको साइज ठूलो छ । उनीहरूले ठूलो स्केलमा उत्पादन गर्छन्, तर हाम्रोमा ठूलो उद्योगलाई फस्टाउन दिइँदैन, सानाले उत्पादन गरेर प्रतिस्थापन गर्न नै सक्दैनन् ।

संसारका हामी जस्तै मुलुकमा यही कुनै वस्तु दुई रुपैयाँमा पाइन्छ भने नेपालमा एक रुपैयाँमा बेच्नुपर्छ भन्ने आधार के हो ? यस्तो वातावरण बनाएपछि नेपालका उद्योगहरूले विश्वमा प्रतिस्पर्धा गर्नु त परको कुरा भइहाल्यो, नेपालमै पनि प्रतिस्पर्धा गर्न सक्दैनन् ।

– औषधि क्षेत्रका अल्पकालीन र दीर्घकालीन समस्या समाधान गर्न कसले के गर्नुपर्छ ?

पहिलो कुरा हाम्रो अर्थनीति के हो, त्यो स्पष्ट हुनुपर्छ । हामीले बनाउन चाहेको के हो, त्यो हुनुपर्छ । अहिले पनि धेरै औषधि उद्योगहरू अप्ठेरोमा चलिरहेका छन् । तीनचार वर्षमा नेपालमा औषधि उद्योगहरू हराउँदै जान सक्छन् । आयात गर्नेहरूलाई धेरै सुविधा दिइएको छ, तर नेपालमै उद्योग खोलेर काम गर्छु भन्नेहरूलाई उचित वातावरण छैन । आयात बढाउने र त्यसैबाट व्यापक राजस्व उठाउनेमा सरकार तल्लीन छ । यसले दीर्घकालमा नेपालमा उद्योगहरूको क्षमतामा ह्रास पुर्‍याउँछ भन्नेमा कसैको ध्यान गएको छैन ।

उद्योगमैत्री वातावरण नहुँदा बाहिरबाट लगानी पनि आउँदैन । नेपालमै भएका युवाहरू पनि उद्योग गरेर खान डराउँछन् । लगानी गर्न आँट गर्दैनन् । यहाँ केही आशा देख्दैनन्, अनि विदेशतिर लाग्छन् । जति पनि युवाहरू अहिले विदेश गइरहेका छन्, उनीहरूले नेपालमा भविष्य नदेखेर नै विदेशिएका हुन् ।

नेपालमा अवसरहरू प्रशस्त नै छन्, तर ती अवसरहरूको उपयोग गर्न नदिने खालको कानून, नीति, नियम बनाइएको छ । यसलाई सुधार गर्नुपर्नेमा कसैको ध्यान छैन । हामीले समस्या छन्, अप्ठेरो भइरहेको छ र सहज वातावरण बनाउन सके हामी थप अगाडि बढ्न सक्छौं भनेर भनिरहेका छौं र पनि कुनै नीतिगत सुधार र सम्बोधन भएको छैन । विदेशीहरूको भरमा बस्ने बानी हामीले लगाइरहेका छौं । निर्यात गर्न नसक्ने र आयात जति पनि गर्ने भइसकेका छौं । सरकार पनि आयातमा रमाइरहेको छ । जसले गर्दा नेपाली उद्योगहरू समस्यामा छन् । नेपाली उद्योग फस्टाउन सकेका छैनन् । ग्लोबल स्केलमा काम गर्ने खालको वातावरण नेपालमा छैन ।

कुनै पनि देशले आम्दानी नगरी खर्च गर्ने ठूलो आकांक्षा राख्छ भने त्यो देश आर्थिक हिसाबले गर्ल्यामगुर्लम भएको छ । नेपाल पनि अहिले त्यही बाटोमा हिँडिरहेको छ । यदि हामीले अहिलेको अवस्थालाई सुधार गर्न सकेनौं भने अगाडि बढ्न सक्दैनौं । बहुदल आएपछि नेपालमा कुनै पनि गुणस्तरीय उद्योग र कलकारखाना बन्नसक्ने औद्योगिक क्षेत्रहरूको निर्माण नै गरिएको छैन । बरु पञ्चायतले बनाएको औद्योगिक क्षेत्रहरू तहसनहस पारिएको छ । राजा महेन्द्रका पालामा धेरै औद्योगिक क्षेत्रहरू बनेका थिए । अहिले भाषणमा मात्रै औद्योगिक क्षेत्र छ, तर निर्माण प्राथमिकतामा छैन । यस्तो अवस्थामा हामी उद्यमीहरू कसरी अगाडि बढ्न सक्छौं ?

पहिले उद्योगधन्दालाई सम्पत्ति कर लाग्दैन थियो । अहिले नगरपालिकाहरुले सम्पत्ति कर उठाइरहेका छन् । संसारमा धेरैजसो मुलुकले उद्योगधन्दाको सम्पत्तिमा सम्पत्ति कर लिँदैनन्, तर नेपालमा नगरपालिकामार्फत सम्पत्ति कर लिने गरिएको छ ।

नेपाली औषधि उद्योगहरूलाई सहज तरिकाले चल्नसक्ने वातावरण बनाउने हो भने आयातित औषधिलाई प्रतिस्थापन गर्न सकिन्छ । चुरोट, रक्सी नेपालमै बनाउन सकिन्छ भने औषधि बनाउन किन सकिँदैन ? टेक्नोलोजी ल्याउन दिनुपर्‍यो, हामी लगानी गर्न तयार छौं, आयात प्रतिस्थापन गर्छौं, नेपाललाई औषधिमा आत्मनिर्भर बनाउँछौं र निर्यात पनि गर्छौं भनिरहेका छौं, तर उद्योगीहरूका कुनै कुरा सरकारले सुन्दैन ।

नेपालमा सरकारी प्रक्रिया नै धेरै झन्झटिला छन् । औषधि उद्योगहरूलाई सहज तरिकाले सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ । औषधि उद्योगका लागि बनाइएका अनावश्यक नीति, नियमहरू हटाउनुपर्छ । औषधि उद्योगको लागत नबढ्ने उपाय अपनाउन ढिलो भइसक्यो । चाहिनेभन्दा बढी नीति, नियमन भइरहेको छ, यसलाई सरकारले परिमार्जन गर्नुपर्छ ।

जति कडा कानून बनायो, त्यति नै धेरै व्यवसायिक अनुशासन राम्रो हुन्छ भन्ने गलत सोच राखिएको छ । यदि यस्तो हुने हो भने त नेपालमा अहिले रामराज्य हुनुपर्ने हो, तर त्यस्तो सुशासन कतै देखिँदैन । खराब मानिसहरूले त्यही सिस्टमबाट झन् खराब काम गर्दै जान्छन् । जहाँ नचाहिँदो तरिकाले नियन्त्रण गर्न खोजिन्छ त्यहाँका असल नागरिक बाहिर जान्छन् ।

नेपालमा उद्योगीहरूलाई अविश्वास गर्ने वातावरण बनाइएको छ । निजी क्षेत्रलाई अर्कै नजरले हेर्ने गरिन्छ । यसलाई तोड्नुपर्छ । निजी क्षेत्रलाई सरकारले विश्वास गर्नुपर्छ । खराब गर्‍यो भने कारबाही गर्ने कानून छँदैछ । यति हुँदाहुँदै पनि बढी नियमन र नियन्त्रणमा मात्रै ध्यान दिनुहुँदैन ।

नयाँ लगानी गर्न पनि उद्यमी डराइरहेका छन् । नेपालमा उद्योग सञ्चालन गरेकाहरूलाई हेर्ने नजर नै फरक छ । उद्यमीहरू सबै बदमास हुन्छन्, यिनीहरूले ठगी गर्छन् भनेर हेर्ने गरिन्छ । कानून पनि त्यही दृष्टिकोणले बनाइन्छ ।

– अन्त्यमा के भन्नु चाहनुहुन्छ ?

नेपालीहरूले गर्नुपर्ने नेपालमै हो । नेपालीहरूले केही राम्रो गर्दा गर्व गर्ने भनेको नेपालमै हो । मानौं, मैले अमेरिकामा गएर ठूलै काम गरें भने पनि त्यहाँ गर्व गर्न सक्दिनँ । किनभने त्यो मेरो ठाउँ होइन । अब नेपाल कसरी बन्नसक्छ र के कारणले नेपाल बनेन भनेर आत्मसमीक्षा गर्ने बेला आएको छ । आत्मसमीक्षा गरेर परिवर्तनको बाटो खोल्नुपर्छ । यसो गर्न सकिएमा मात्रै चाँडै विकास गर्न सकिन्छ ।

नेपालमा वर्षमा १५ हजार रोजगारी पनि सिर्जना गर्न नसकिरहेको अवस्थामा भाषणमात्रै नगरौं । रोजगारी बढाउन उद्योगधन्दा खोल्नुपर्‍यो, त्यसका लागि उद्योग प्रवर्द्धन गर्नुपर्‍यो । उद्योगधन्दा धेरै समस्यामा परेका विषयहरू बारम्बार भनिरहेका छौं र पनि सुधार भएको छैन । यसमा सुधार गर्न ध्यान दिनुपर्छ । समस्यामा परेका विषयहरूलाई सुधार गर्ने हो भने उद्योगधन्दा फस्टाउन सक्छ । रोजगारी बढ्छ, अर्थतन्त्र बढ्छ र नेपाल पनि चाँडै बन्छ ।

विदेशी औषधिको आयातमा गरिएको सहजता, नेपाली उत्पादनका लागि लामो र झन्झटिलो प्रक्रिया र निर्यातमा सहजीकरण नहुनु मुख्य समस्या रहेका छन् । नयाँ प्रविधि आयातमा र औषधि उद्योग निर्माण गर्न आवश्यक पर्ने संसाधन र निर्माण सामग्रीको आयातमा लाग्ने उच्च भन्सार र भ्याटले गर्दा उद्योगको लगानी छिमेकी मुलुकमा भन्दा ४०-५० प्रतिशत बढी लाग्ने कारणले औषधि उद्योगहरूलाई समस्यामा पारेको छ । यसबारे नीतिगत तहमा सम्बोधन हुनुपर्छ । अहिले सरकार उद्योगधन्दा चलाउनेभन्दा पनि उद्योगलाई नियन्त्रणमा लिनेमात्रै मानसिकतामा छ । उद्योग नियन्त्रण गर्ने, उद्यमीलाई नियन्त्रण गर्ने, धेरै राजस्व लिने र मूल्यमा पनि नियन्त्रण गर्नेमा केन्द्रित भएको छ । यसरी उद्योगहरू फस्टाउन सक्दैनन् ।

अहिले पनि नेपाली औषधि उद्योगहरूले उत्पादन गरेका औषधिहरूको बजार हिस्सा आयातको भन्दा कम छ । आयातलाई निरुत्साहन गर्दै औषधि उद्योगहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्छ । अनिमात्रै औषधिमा आत्मनिर्भर हुने सम्भावना बढ्छ । विदेशको भर नपर्नेगरी नेपालमै औषधि उत्पादन गर्न सकिन्छ, आयात प्रतिस्थापन हुन्छ, नेपाललाई औषधिमा आत्मनिर्भर बनाउँदै निर्यात पनि गर्न सकिन्छ । यसका लागि सरकारले कानून र नीतिमा आमूल सुधार गरी उद्योगहरू प्रोत्साहन हुने वातावरण बनाउनुपर्छ ।


प्रतिक्रिया

2 thoughts on “‘नेपाली औषधि उद्योगमा चुनौतीका चाङ छन्, नीतिगत रुपमै अप्ठेरोमा पारियो’

  1. २ रूपैयाँको चक्की ३० रूपैयाँमा बेच्ने नीति ल्याईदेउ सरकार यिनलाई । यी लुटन नपाए गनगन गर्छन् । देशमै ओैषधी उत्पादनको नाममा सर्वसाधारणको ढाड सेकाउने यी व्यवसायी र डाक्टर हुन् ।

  2. यो नेपालको उद्योगहरू धेरै जसो डुबाइसक्यो। अब बचेको उद्योग भनेको औषधिको उद्योग हो। त्यसलाई पनि डुबाउनको लागि भारतीयहरू लागि परेका छन्। नेपालमा भारतका payroll पेरोलका मान्छेहरु को संख्या सरकारमा असंख्य छन्। जनताहरूलाई केही थाहा छैन। हस्पिटलमा एकपटक भर्ना भएपछि लाखौं रुपैयाँ खर्च हुन्छ। त्यसको कसैले कुरा उठाउँदैन। जनता भेडा छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर