नेकपा एसका सम्मानित नेता झलनाथ आराम गर्दै, बैठकमा अनुपस्थित
काठमाडौं । शुक्रबारदेखि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पार्टी कार्यालयमा जारी छ, तर पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनाल बैठकमा देखिएका छैनन् ।
चीन भ्रमणबाट मंसिर २२ गते काठमाडौं फर्किएका उनी फर्किएदेखि नै बाहिर निस्किएका छैनन् । पार्टीका विदेश विभाग सचिव डा.शंकर खतिवडाका अनुसार नियमित स्वास्थ्य परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार खनाल घरमै आराम गरिरहेका छन् ।
डा. खतिवडा खनालसँगै चीन गएर फर्किएका हुन् । चीनबाट फर्केको भोलिपल्टै ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा ‘होल बडी चेकअप’ भएको उनले बताए ।
‘कुनै रोग वा विमारी भएर हैन, नियमित स्वास्थ्य परीक्षण गरिएको हो’, उनले भने ।
स्वास्थ्य परीक्षणपछि चिकित्सकले १० दिनसम्म घरमै आराम गर्न भनेको कारण खनाल पार्टीको बैठकमा अनुपस्थित भएको उनले बताए ।
तर बैठकका कार्यसूचीबारे अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालसित नियमित परामर्श भैरहेको खतिवडाले बताए ।
गत साउन महिनामा चीनको इन्टरनेसनल हस्पिटल अफ सिचुवानमा खनालको प्यारा थाइराइड र मृर्गौलाको पत्थरीको अपरेशन गरिएको थियो ।