पत्रकार महासंघको काठमाडौं उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित – Nepal Press

पत्रकार महासंघको काठमाडौं उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित भएका छन् । उपत्यका प्रदेश निर्वाचन समितिले शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो ।

महासंघको उपत्यका प्रदेशअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाका मतदाताले मतदान गरेर नयाँ नेतृत्व चयन गरेका हुन् ।

अध्यक्ष पदमा निर्वाचित रोकाले ६४८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी मोहनप्रसाद पन्तले ४१० मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार शिव बस्नेतले ९३ मत पाएका छन् ।

उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा ६८३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कालिकाबहादुर महतले ४१६ मत पाए । उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने ६८८ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी सतीदेवी उप्रेतीले ३६३ मत पाइन् ।

महासचिव पदमा आशिष गुरागाईं ५६७ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी रामचन्द्र दुलालले ५०९ मत पाएका छन् ।

उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी ६३१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले ४४४ मत पाएका छन् । समावेशी सचिवतर्फ प्रवीण श्रेष्ठ विजयी भएका छन् । उनले ६१९ मत पाए । उनका प्रतिद्वन्द्वी मोहन बल्लले २६३ मत ल्याए ।

कोषाध्यक्षमा सञ्जीप घिमिरे निर्वाचित भए । उन ४७७ मत पाउँदा उनका प्रतिस्पर्धी निरज रञ्जितले ३५२ मत पाए ।

त्यसैगरी खुला ६ जना सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भीमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी भए । महिला तीन जना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित भए ।

दलित सदस्यतर्फ लीलामाया नेपाली विजयी हुँदा जनजाति सदस्यमा शैलेस डंगोल र सुरेश सायजु विजयी भए । मधेशी र अल्पसंख्यक सदस्यमा क्रमशः प्रदीप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *