सरकारविरुद्धको घेराबन्दी र षड्यन्त्रकारी भाष्य – Nepal Press

सरकारविरुद्धको घेराबन्दी र षड्यन्त्रकारी भाष्य

नेपालमा राजनैतिक परिवर्तन गरेर राष्ट्र निर्माणमा मात्र नजुटेर जनताका अभिमतका साथ नेतृत्वमा आई राष्ट्रलाई उन्नतिको मार्गतिर लैजान अहोरात्र खटिरहेका राजनीतिक दल अझ तिनका कद काटी छोट्याउने जुन चौतर्फी षड्यन्त्र भइरहेको छ, त्यसबारे तथानाम गालीगलौजको शिकार भइरहेको बदनामीको भूमरीमा थन्काइएको नेतृत्व पंक्ति र दलहरु कुनै किसिमको प्रतिरोधमा नउत्रिएको देख्दा म छक्क परेको छु । यदाकदा नेकपा एमाले र माओवादीका नेता प्रचण्डले सामान्य स्पष्टीकरण दिन खोज्दा पनि उहाँहरुलाई उल्टो घात गर्ने परिस्थिति केही टाठाबाठा कमलबाजहरुले गरेको सबैका सामु छर्लङ्गै छ । डा. बाबुराम भट्टराई जस्ता व्यक्तिले पनि राजनैतिक रुपमा आफ्नो असफलताको रिस केपी ओली, प्रचण्ड र शेरबहादुर देउवामाथि जथाभावी अर्बौं खाएको दोषारोपण गरेको र पछि त्यस विषयमा गैरजिम्मेवारीपूर्ण जवाफ दिएको देखिन्छ ।

बहुदलीय संसदीय व्यवस्थाको सौन्दर्य भनौं या जनाधिकार यसमा कसैले पनि सामान्य व्यक्तिदेखि राष्ट्र प्रमुखसम्मलाई जुनसुकै अभियोग लगाउन, आलोचना गर्न वा निन्दा गर्नसक्छ । तानाशाही व्यवस्थामा कानूनलाई बन्देज लगाएको आधारमा कसैलाई पनि थुनछेक गर्ने र कानूनी कारबाही गर्ने गरिन्छ, तर विचारको स्वतन्त्रताको प्रत्याभूति दिएको व्यवस्थामा जति पनि निन्दा आलोचना गर्न छुट हुन्छ । यसमा मर्यादित र उच्च आधिकारिक व्यक्तिहरुले त्यस्तो आक्षेप लगाएको भएमा राज्यको ध्यानाकर्षण हुनसक्छ, तर यदि आक्षेप लगाउने पक्ष गैरजिम्मेवार भयो भने त्यस्तो गाईजात्रे अभियोगलाई हाँसेर उडाइदिनुपर्छ । नेपालीमा एक उखान छ- ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ ।

डा. बाबुराम भट्टराई जस्ता व्यक्तिले पनि राजनैतिक रुपमा आफ्नो असफलताको रिस केपी ओली, प्रचण्ड र शेरबहादुर देउवामाथि जथाभावी अर्बौं खाएको दोषारोपण गरेको र पछि त्यस विषयमा गैरजिम्मेवारीपूर्ण जवाफ दिएको देखिन्छ ।

देशमा सहनशील र विशाक्त आलोचनालाई पनि सहने प्रवृत्तिलाई यसले उजागर गर्छ । प्रजातान्त्रिक व्यवस्थाको विशेष उद्धार पक्ष विद्वान दार्शनिक चाल्स बोद्लेयरको सुन्दर विचारमा अभिव्यक्त भएको छ । उहाँका अनुसार विरोध गर्ने प्रतिद्वन्द्वीको रक्षा प्राण दिएर भए पनि गर्नुपर्छ । त्यसैले भन्न सकिन्छ, हामीले लामो संघर्ष र बलिदानबाट स्थापना गरेको वर्तमान व्यवस्थामा आलोचनाको छुट छ । यसको अर्थ झूटा प्रचार निम्नकोटीको निन्दा र अराजक व्यवहारलाई स्वीकार गर्न सकिँदैन । त्यसको लागि सम्पूर्ण प्रजातन्त्रिक समाज बुद्धिजीवी दल र नेताहरु चनाखो हुनुपर्छ । विचार र व्यवहारमा दरिलो हुनुपर्छ । नेताहरु १-२ जनाले अराजक र निम्नकोटीका लाञ्छना र कटाक्ष गरेर पुग्दैन । न साइबर कानूनका नाममा प्रहरी-प्रशासनले कारबाहीका नाममा प्रतिद्वन्द्वीहरुलाई फसाउने किसिमका कामको परिणाम ज्यादै प्रत्युत्पादक हुन जान्छ ।

अराजकताविरुद्ध, निम्नकोटीका लाञ्छनाका विरुद्ध र अनावश्यक गालीगलौजविरुद्ध एक जिम्मेवारीपूर्ण गतिलो बौद्धिक प्रतिरोधको ठोस कार्यक्रम निर्माण गर्न नसके प्रजातन्त्र फेरि २०१७ सालको कालो काण्डको बलि चढ्नसक्छ । सर्वप्रथम पार्टी सरकार र नेताहरुले थाङ्ने कुरामा नलागी प्रजातन्त्रको रक्षामा गतिलो अग्रसरता लिनुपर्दछ र हरेक काण्डका पछाडि हरेक अभियोगका अन्तर्यमा गम्भीर षड्यन्त्र छन् भन्ने हामीलाई थाहा भएकै कुरा हो । जतिबेला पार्टी, नेता र प्रजातन्त्रविरुद्ध धराप थापिन्छ, त्यतिबेला कारण स्थानीयमात्र हुँदैन । कसैलाई विदेशी बैंकमा ठूलो धनराशी राखेको कुरा होस् या कुनै सैनिक विद्रोह होस्, त्यसका पछाडि राष्ट्रिय कारणमात्र हुँदैन ।

हामीले सचेत भएरमात्र पुग्दैन, पार्टी र नेतृत्वको उच्च जागरणको खाँचो छ । राष्ट्रका लागि चुच्चे नक्सा जस्तै अन्तर्राष्ट्रिय सम्बन्धमा राष्ट्रको सार्वभौम व्यक्तित्वलाई चम्काउने वर्तमान सरकार र केपी ओलीको राजनैतिक स्थायित्वका लागि जागरुक, बौद्धिक वर्गमा राजनीतिकर्मीहरु सचेत हुनुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएपछि स्वदेशी विदेशी अनेकौं तत्वहरु सक्रिय भएको हामीलाई थाहा छ । एमाले पार्टी पङ्क्तिले मंसिर ८ को दरबार मार्गको जागरण भेलामा सरकार र पार्टीलाई चौतर्फी घेराबन्दीमा पारेको कुरा अगाडि ल्याए । त्यसैलाई एमाले र वर्तमान सरकारप्रति विश्वास भएको बौद्धिक र राजनैतिक तप्काले चर्काे रुपमा व्याख्या विश्लेषण गरेको भए आमजनता मात्र होइन, लाखौं राजनीतिक कार्यकर्ताहरु पीत पत्रकारिता र गलत सूचना दिएर सर्वत्र वितण्डा मच्चाउने तत्वहरुलाई सहज नङ्ग्याउन सकिने थियो । हामीलाई थाहा छ, २०१६ सालमा नेपाल चीन मैत्री सन्धि गरेर फर्केका बीपी कोइरालाविरुद्ध वैदेशिक साम्राज्यवादीहरुले सैनिक विद्रोह गराएका थिए । ठीक त्यसरी नै केपी ओली नेतृत्वको सरकारले सर्वप्रथम चीन जाने र त्यहाँ बीआरआई सम्झौता गरेर नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्वलाई नयाँ उचाइमा पु¥याउने काम गरेपछि त्यस सम्बन्धमा सुरुबाट नेपाललाई भुटान जस्तो भेसल स्टेट बनाउन चाहने तत्वहरु चौतर्फी षड्यन्त्रको घेराबन्दीमा लागे । उनीहरुले सञ्चार क्षेत्रलाई मात्र होइन, राजनीतिक अभियन्ताहरुलाई प्रयोग गरेर अब कतै अन्य संगठित शक्तिहरु पनि उनीहरुले प्रयोग नगरून् ।

हामीले सचेत भएरमात्र पुग्दैन, पार्टी र नेतृत्वको उच्च जागरणको खाँचो छ । राष्ट्रका लागि चुच्चे नक्सा जस्तै अन्तर्राष्ट्रिय सम्बन्धमा राष्ट्रको सार्वभौम व्यक्तित्वलाई चम्काउने वर्तमान सरकार र केपी ओलीको राजनैतिक स्थायित्वका लागि जागरुक, बौद्धिक वर्गमा राजनीतिकर्मीहरु सचेत हुनुपर्छ । आन्तरिक तथा बाह्य षड्यन्त्रकारीहरुले निर्माण गरेको अराजक भाष्यहरु र सम्भावित षड्यन्त्रहरुलाई छियाछिया पार्नु आजको आवश्यकता हो । सबैलाई चेतना भया !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *