सुन्दर परिवारको सपना ध्वस्त भयोः लेखक प्रगति राई – Nepal Press
नेपाल टक

सुन्दर परिवारको सपना ध्वस्त भयोः लेखक प्रगति राई

राजन मुकारुङकी पत्नीको विरह- श्रीमतीले सधैं ओछ्यानमा अभाइलेबल हुनुपर्ने रहेछ, सायद यसमै चुकें

काठमाडौं । १४ वर्षकै उमेरमा विवाह हुनु, १५ वर्षकै उमेरमा पहिलो सन्तान जन्माउनु, लगत्तै दोस्रो सन्तान जन्माउनु । अनिमात्रै ९ कक्षाबाट पढ्न सुरु गर्नु । दुई बच्चालाई लिटो खुवाउँदै, स्तनपान गराउँदै २०५७ सालमा एसएलसी पास गर्नु । अनि काठमाडौं आउनु । आईए पढ्नु । यसपछि ब्याचलर पढ्दै स्कुल पढाउनु ।

अनि मजदुरको रुपमा कोरिया जानु । १४-१६ घण्टा काम गर्नु । सन्तानलाई पढाउनु । श्रीमानलाई खर्च पठाउनु । बचेखुचेको आधा घण्टा फुर्सदमा किताब लेख्नु । अनि लेखकको परिचय बनाउनु ।

बितेको तीन दशकमा लेखक प्रगति राईका प्रगति विवरण यिनै हुन् । उनले कोरियामा लेखेको चर्चित उपन्यास हो, ‘लेखककी स्वास्नी’ । यसअघि नै उनले ‘वादी विज्ञप्ति’ कविता संग्रह सार्वजनिक गरेकी थिइन् । उनको पछिल्लो उपन्यास हो, ‘थाङ्ग्रा’ ।

भोजपुरकी लेखक राई पाँच वर्ष कोरियामा रहँदैखेरि उनका श्रीमान लेखक राजन मुकारुङले ‘दमिनी भिर’ उपन्यासमार्फत् मदन पुरस्कार पाए । मुकारुङले प्राप्त गरेको सफलताको पछाडि कहीँ न कहीँ श्रीमतीको रुपमा लेखक राईको त्याग र समर्पण नहुने कुरा भएन ।

यद्यपि विगत पाँच वर्षदेखि मुकारुङ र राई सँगै छैनन् । उनीहरु छुट्टिएर बसेका छन् । लेखक राईका अनुसार श्रीमान उनीसँग टाढिनुको कारण अर्को सम्बन्ध हो ।

राई भन्छिन्, ‘खै होला, हल्ला त्यस्तै छ । अब मलाई अगाडि ल्याएर चाहिँ देखाएको छैन ।’

खैर, लेखक राई र मुकारुङको व्यक्तिगत जीवनको प्रसंगमा धेरै चियोचर्चो नगरौं । राईले भोजपुरदेखि काठमाडौं, काठमाडौंदेखि कोरियासम्म गरेको संघर्ष, त्यही संघर्षबीच फक्रिएको उनको लेखन र लेखनले बनाएको उनको बेग्लै पहिचानमा यो कुराकानी केन्द्रित छ ।

लेखक प्रगति राईसँग नेपाल प्रेसका लागि नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंश-

– अचेल के काममा व्यस्त हुनुहुन्छ ?

‘थाङ्ग्रा’ उपन्यासले उठाएको मुद्दालाई कसरी व्यवहारमा लागू गर्न सकिएला भनेर अध्ययन गरिरहेकी छु । छोरीलाई अंशको अधिकार कानूनमा मात्रै भयो, व्यवहारमा भएन भनेर रिसर्च गरिरहेकी छु । यसपछि एउटा नयाँ किताब लेख्छु ।

– ‘लेखककी स्वास्नी’ त कोरियामा हुँदै लेख्नुभयो है ?

लेख्न त यतै लेखिसकेकी थिएँ । पछि फाइल हराएपछि पुनर्लेखन गरेकी हो । त्यहाँ त समय नै हुन्न । दिनभरि काम, रातभरि थकान । आधा घण्टा जतिमात्रै लेख्ने हो । लेख्ने समय नै हुँदैन । म्याच्युर्ड एजमा निद्राले चाँडो छोड्दो रहेछ । त्यो उमेरमा त निद्रा नै अति धेरै लाग्ने । पछि किताब फाइनल गर्ने वेला चाहिँ तीन महिना काम नै छाडें ।

– यो किताब २०६९ सालमा छापिएको हैन ?

हो, राजन मुकारुङले मदन पुरस्कार पाउनुअघि नै छापिएको हो । किनभने यो किताबमा एउटा प्रसंग छ । त्यसमा लेखकले भन्छ, ‘अब चाहिँ पुरस्कारको लागि किताब लेख्छु । त्यो पैसाले एउटा घर बनाउँछु । अनि बाँकी रहेको पैसाले राम्री केटी विवाह गर्छु ।’

पछि त ठ्याक्कै त्यस्तै भयो । मैले किताबमा यस्तो लेखेकी छु भनेर ख्यालै नगरेकी रहेछु । साथीहरुले किताबको फोटो खिचेर पठाउँदै भन्छन्, ‘यो प्रसंग त ठ्याक्कै वास्तविक जीवनमा मिल्यो त !’

– किताबमा चाहिँ के सन्दर्भमा यस्तो लेख्नुभएको थियो ?

सन्दर्भ त खासै केही थिएन । लेखकको जिस्कने बानी हुन्छ । अनि लेखककी स्वास्नीले भन्छे, ‘अब पुरस्कारको लागि लेख्दा त किताबको सन्दर्भ नै बिग्रियो भनेको होइन ?’

लेखकले भन्छ, ‘पुरस्कार नपाई त कसैले नटेर्ने रै’छ । मैले जति लेखे पनि मान्छे पुरस्कारको पछि कुद्छन्, आफ्नै मान्छेले टेर्दैनन् । अब चाहिँ म राष्ट्रिय पुरस्कार जित्ने किताब लेख्छु । अनि त्यो पुरस्कारको पैसाले मज्जाको घर बनाउँछु । अनि बाँकी रहेको पैसाले राम्री केटी ल्याउँछु ।’

कतिपयले त के भन्थे भने ‘राजन दाइले लेखिदिएको हो ।’ त्यसो भनिँदा मेरो जवाफ हुन्थ्यो, ‘मानिलिउँ प्रगति राईको ठाउँमा तपाईंको नाम लेख्नु्स्, मलाई केही फरक पर्दैन, तर यो किताबले के चाहिँ भनिरहेको छ ? यसको मुद्दा के हो ? त्यो चाहिँ हेरिदिनुस् ।’

अचेल साथीहरुले जिस्काउँछन्, कसरी यस्तो मिल्यो भनेर । त्यसवेला यस्तो हुन्छ भनेर सोचिएको पनि थिएन । कहिलेकाहीँ संयोग मिल्न जान्छ ।

– मजदुरको रुपमा कोरिया बसाइ कस्तो रह्यो ?

पहिलो वर्ष धेरै गाह्रो भयो । आफू यहाँ टिचिङ गर्ने मान्छे । स्यालरी नभए पनि रेस्पेक्ट थियो नि ! भलै पेट भोको होला । त्यहाँ गएपछि बोसले ‘आज राम्रो काम गर्‍यौ, तिमीहरुलाई म मीठो खानेकुरा खुवाउँछु’ भन्थे । यस्तो सुन्दा एकदमै पछुतो महसुस हुन्थ्यो । के थिएँ, के भएँ जस्तो लाग्थ्यो ।

– लेखकको रुपमा कोरिया बसाइ कस्तो रह्यो ?

त्यो वेलासम्म कोरियामा लेख्नेहरुको कुनै संगठन थिएन । त्यहाँ गएपछि पुराना दाइहरुसँग मिलेर चारपाँच जना मिलेर नेपाली साहित्य समाज गठन गर्‍यौं ।

– लेखककी श्रीमतीको रुपमा कोरिया बसाइ कस्तो रह्यो ?

उस (राजन मुकारुङ)ले एउटा उचाइ प्राप्त गरून् भन्ने मेरो एउटा सपना थियो । मलाई भनेका थिए, ‘म पनि विदेश जान्छु, दुई जना भएर छिट्छिटो पैसा कमाऔं ।’ मैले सोचें, यो ठाउँसम्म पुगिसकेको मान्छे किन विदेशिनुप¥यो ? अनि भनें, ‘तिमी लेखककै रुपमा स्थापित हौ, अब छोराहरु ठूल्ठूला भइसके । अब तिनले पनि कमाइहाल्छन् । हामीलाई सम्पत्ति थुपार्नु छैन, अहिले लेखनको रुपमा जुन काम गरिरहेका छौ, त्यसलाई निरन्तरता देऊ ।’ त्यसवेला विदेश जाऊ भनेर भनेको भए धनी भइन्थ्यो होला ।

– आर्थिक हिसाबले कोरिया बसाइ कस्तो रह्यो ?

सम्पत्ति थुपार्न सकिएन । छोराहरु पढाउनलाई टेन्सन भएन । मैले उनीहरुको चाहना सजिलै पूरा गर्न सकें । मैले छोराहरुलाई भोको राखें भनेर चित्त दुखाउनु परेन । मेरो श्रीमानको लागि यति गरिदेऊ भनेर कसैलाई ढोग्नु परेन ।

– तपाईं आफैंमा राम्रो लेखिका हुनुहुन्छ, तर ‘लेखक राजन मुकारुङकी श्रीमती’ भनेर सम्बोधन गरिँदा आफ्नो लेखकीय क्षमता छायाँमा परे जस्तो लाग्दैन ?

समाजले जे भनून्, मलाई जिरो नै भनून् चित्त दुख्दैन । हो, मलाई धेरैले त्यसरी सम्बोधन गर्छन् । कतिपयले त के भन्थे भने ‘राजन दाइले लेखिदिएको हो ।’ त्यसो भनिँदा मेरो जवाफ हुन्थ्यो, ‘मानिलिउँ प्रगति राईको ठाउँमा तपाईंको नाम लेख्नु्स्, मलाई केही फरक पर्दैन, तर यो किताबले के चाहिँ भनिरहेको छ ? यसको मुद्दा के हो ? त्यो चाहिँ हेरिदिनुस् ।’

– तपाईंले आफ्नो परिचयकै लागि किताब लेख्नुभएको होला । त्यस्ता भनाइले मनमा ठेस पुर्‍याउला नि ?

ठेस पुर्‍याउँथ्यो नि ! कति दुःख गरेर लेखिएको हुन्छ । यही काम ‘तैंले होइन, फलानाले गरिदिएको हो’ भनिदिँदा जसलाई पनि ठेस पुगिहाल्छ नि ! यही विषयमा कहिलेकाहीँ हामीबीच विवाद पनि हुन्थ्यो । म टिचिङ गर्थें । शनिबार पनि मिटिङ राखिदिन्थे । बाहिरतिर निस्कनै पाउँदिन थिएँ । कतै कविता गोष्ठी हुँदा खुरर्र गएर वाचन गर्थें । अनि हिँडिहाल्थें ।

अनि मैले नै लेखेको हो भनेर मान्छेले विश्वास नै गर्दैन थिए । उसले पनि कहिलेकाहीँ भन्थ्यो, ‘तिम्रो हरेक कविता मैले एडिट गरेको छु ।’ म भन्थें, ‘तिमीले एडिट गरिदिएको लाइन कसले मन परायो त ? तिम्रो एडिट आवश्यक छ कि छैन, आफ्नो मूल्यांकन आफैं गर ।’

बहिनी र मेरी आमाले साथ दिनुभयो । सासूआमाको त खै के भन्ने ! सरकारले यसो गर्छु, उसो गर्छु भन्छ, पछि केही गर्दैन नि ! त्यस्तै भयो । मेरी आमाले चाहिँ भन्नुभयो, ‘तँ के देखेर बिहे गरिस्, म जान्दिनँ, तर तेरो श्रीमान पढ्दै गएर एउटा स्थानमा जान्छ । अनि त्यसवेला श्रीमानको लेभलको सुहाउँदो तँ हुन्नस् । तँ तेरो श्रीमानको लेभलको हुने इच्छा छ भने आइज, पढ ।’

अहिले पनि धेरैजसोले मलाई चिनाउँदा ‘फलानोकी श्रीमती’ भन्छन् । उनीहरुलाई मेरो जवाफ हुन्छ, ‘मेरो पनि नाम छ हौ !’ सम्बोधनमा फलानोको श्रीमती होइन, लेखक प्रगति राई भन्न सक्नुपर्‍यो ।

– राजन मुकारुङसँग साह्रै सानैमा बिहे भयो है ?

म जे जे कुराको भोको थिएँ, सासूआमाले त्यही कुरा पूरा गराउँछु भनेपछि म लोभिएँ । विवाह भनेको यत्रो ठूलो कुरा रहेछ, त्योवेला मलाई सामान्य लाग्यो । उहाँको छोरासँग विवाह गरेपछि यति धेरै चाहना पूरा हुने रैछ भन्ने भ्रम सृजना भएपछि हुन्छ भनें ।

– कति वर्षकी हुनुहुन्थ्यो ?

१४ वर्षकी थिएँ । सानैदेखि अलि महत्वाकांक्षी थिएँ । एउटा स्थान बनाउँ भन्ने सोच अवचेतनमा थियो । किनभने अरुलाई फकाउँदा ‘सुन दिन्छु, तँलाई पैसा दिन्छु, गुन्युचोलो दिन्छु’ भन्थे, तर मलाई सासूआमाले भन्नुभयो, ‘तिमी यहाँ १० कक्षासम्म पढ । १० कक्षा पढ्नासाथ तिमीलाई म काठमाडौं पढ्न पठाउँछु । त्यसपछि विदेश पढ्न चाहन्छौ भने विदेश पनि पठाउँछु । यो घरको मान्छे सबैजना विदेश पढ्ने छन् । संगीत साहित्यको क्षेत्रमा जान्छौ भने पनि त्यता मान्छे छन् । आर्मी पुलिस हुन्छौ भने पनि यो घरका सबै मान्छे छन् ।’
अनि त म लोभिएँ । मलाई पहिचानको भोक थियो के !

– बिहेपछि तपाईं घरमै थन्किनुभएन, एसएलसी दिएर, काठमाडौं आएर लेखक हुनुभयो है ?

यो चाहिँ भोकको कारण हो । म केही हुन्छु, केही गर्छु, म जन्मेकै यतिका लागि मात्र होइन । विवाह गर्र्न, छोराछोरी जन्माउन मात्रै जन्मिएको होइन भन्ने सोच पहिल्यै थियो । अर्को कुरा के भने आफूले खोज्दै गयो भने संयोगहरु मिल्दै जाने रहेछ ।

८ कक्षादेखि माथि पढ्नै सक्दिनँ जस्तो भएको थियो । बच्चा दुईजना थिए । घरको सबै काम गर्नुपर्थ्यो । पढ्नलाई समय नै हुन्नथ्यो । पढ्न सक्दिनँ झैं भएको थियो । त्यस्तो वेला बहिनीले भनिन्, ‘तिमी पढ दिदी, म जे लेख्छ्ु तिमी त्यही सार ।’

अनि माइतीमा गएर पढें । बहिनी र मेरी आमाले साथ दिनुभयो । सासूआमाको त खै के भन्ने ! सरकारले यसो गर्छु, उसो गर्छु भन्छ, पछि केही गर्दैन नि ! त्यस्तै भयो । मेरी आमाले चाहिँ भन्नुभयो, ‘तँ के देखेर बिहे गरिस्, म जान्दिनँ, तर तेरो श्रीमान पढ्दै गएर एउटा स्थानमा जान्छ । अनि त्यसवेला श्रीमानको लेभलको सुहाउँदो तँ हुन्नस् । तँ तेरो श्रीमानको लेभलको हुने इच्छा छ भने आइज, पढ ।’

अनि ‘हो त’ भनेर फेरि पढ्न गएँ । अनि ९ कक्षा सकें । १० पढ्ने बेला श्रीमानको घरमै जानुप¥यो । स्कुलमा पूरा विषय पढ्न नपाइने । अंग्रेजी, गणित र विज्ञानमात्रै पढेर घर फर्किन्थें । एसएलसीपछि श्रीमानले काठमाडौं पढ्न आऊ भन्नुभयो । अनि काठमाडौं आएँ ।

– काठमाडौंमा श्रीमती र आमाको रुपमा गरेको संघर्ष अहिले सम्झँदा कस्तो लाग्छ ?

बरु गाउँमा सजिलो थियो । काठमाडौंमा झनै गाह्रो भयो । भएभरका कवि, लेखक सबै घरकै मान्छे जस्ता थिए । तिनलाई भात पकाउनुपर्थ्यो । तिनले मातेर सोफामा बोमिट गरेको सोहोर्नुपर्थ्यो । दराज, फ्रिजतिर पिसाब फेरिदिन्थे, सफा गर्नुपर्थ्यो । तिनीहरु अहिले उपसचिवसम्म भएका छन्, तर अचेल हाइसम्म पनि भन्दैनन् ।

कोठाको बसाइ थियो । होहल्लाले कोठामा बस्नै नसकिने । ‘मेरो भोलि जाँच छ, तपाईंहरु चुपचाप सुतिदिनुस्’ भन्दा पनि सुत्दैन थिए । रातभर उफ्रिन्थे, कराउँथे । यस्तो डिस्टर्ब वातावरणमा बसें । पछि पछि त मलाई डिप्रेसन भएछ । एकदमै धेरै बिर्सन थालें । बच्चाहरुको कपी चेक गरेर नम्बर जोड्नुपर्ने, तर नम्बरको हिसाब कता के हुने हुने ! यसले स्कुललाई पनि अप्ठेरो भयो । अभिभावकको धेरै कम्प्लेन आयो ।

घरको मान्छे भने हराएपछि हराएको हरायै गर्ने । घर आउँदा बजार नै उठेर आउने । एक दिन खाना पकाएर बसिरहेकी थिएँ । एउटा कथा लेख्न मन लाग्यो । कोठामा चुरोट जताततै लडिरहेको हुन्थ्यो । रक्सी पनि हुन्थ्यो । मैले एउटा चुरोट लिएँ । रक्सी पनि सारिहालें । पहिलो पटक चुरोट पिएकी थिएँ । त्यो चुरोटले यति धेरै भनन बनायो कि त्यही रन्कोमा ‘लेखककी स्वास्नी’ भनेर कथा लेखें ।

भएभरका कवि, लेखक सबै घरकै मान्छे जस्ता थिए । तिनलाई भात पकाउनुपर्थ्यो । तिनले मातेर सोफामा बोमिट गरेको सोहोर्नुपर्थ्यो । दराज, फ्रिजतिर पिसाब फेरिदिन्थे, सफा गर्नुपर्थ्यो । तिनीहरु अहिले उपसचिवसम्म भएका छन्, तर अचेल हाइसम्म पनि भन्दैनन् ।

एक दिन स्कुलबाट आउटिङ जाँदा बसको सीटमा बस्दाबस्दै ‘लेखककी स्वास्नी’ लाई उपन्यास बनाइदिउँ भन्ने सोच आयो । जब त्यस्तो सोच आयो, म त अचानक फ्रेस भएँ । लेखनले मान्छेलाई त्यसरी फ्रेस बनाउँदो रहेछ । त्यसपछि मेरो दिमाग पनि ठीक ठाउँमा आयो ।

– लेख्नुको मजा के हो ?

भ्रममै भए पनि एउटा सुख महसुस गर्नु हो । भ्रमले जीवनलाई सुख दिए जस्तो लाग्छ भने जीवनमा भ्रम नै सही हुन्छ । मान्छेले भ्रममा नबाँच्नु भन्छ, तर जीवन काट्न भ्रम पनि आवश्यक कुरा हो ।

– कवि लेखकलाई नजिकबाट नियाल्नुभयो । तपाईंलाई कवि लेखकहरु कस्ता लाग्छन् ?

कवि लेखकहरु क्षणिक बाँच्छन् जस्तो लाग्छ । उनीहरुसँग टुक्रा-टुक्रा जीवन हुन्छ । त्यो टुक्रा-टुक्रा जीवनमा पूर्ण जीवन बाँचिरहेका हुन्छन् जस्तो लाग्छ । उनीहरु अगाडि जे आउँछ, त्यो बाँच्छन् । त्यसपछि के आउँछ, त्यो बाँच्छन् । टुक्रा-टुक्रा जीवन बाँचेर रुमाल जस्तो जीवन बनाइरहेको हुन्छन् जस्तो लाग्छ ।

– परबाट हेर्दा चाहिँ तपाईंको पारिवारिक जीवनमा एकदमै धेरै आरोहअवरोह देखिन्छ नि ?

मैले संस्मरण लेखें भने एकदमै मीठो बन्ने खालको छ मेरो जीवन । कहिल्यै सलल बगेको छैन । विवाहपछि यति धेरै उथलपुथल भयो कि मेरो जीवन भोग्न लायकको भन्दा पनि लेख्न लायकको चाहिँ छ । भोग्न लायकको चाहिँ…. । जुन अवस्थामा जे हुनुपर्ने थियो, त्यो छैन । जुन अवस्थामा साथ हुनुपर्ने हो, त्यो अवस्थामा साथ छैन । जुन अवस्थामा सिंगल हुनुपर्ने हो, त्यो अवस्थामा सिंगल थिएन ।

– अहिले पारिवारिक जीवन चलिरहेको छ ?

व्यक्तिगत कुरा गर्ने हो भने अहिले मसँग नाति छ । छोराहरु हुर्काउँदाभन्दा नाति हुर्काउँदा छुट्टै अनुभव हुनेरहेछ ।

– राजन मुकारुङसँग सम्पर्क त हुन्छ ?

सम्पर्कभन्दा पनि यस पटकदेखि ‘नातिको स्कुलको फी तिर्नु है’ भनेर भनेकी छु ।

– तपाईंले ‘लेखककी स्वास्नी’मा लेखेको सन्दर्भ अहिले वास्तविक जीवनमै लागू भइरहेको छ है ?

अहिले ऊसँग को छ, के छ मलाई थाहा छैन, तर परिवारलाई सुन्दर बनाउँछु भन्ने मेरो जुन सपना थियो, त्यो चािहँ ध्वस्त भयो । जसले गर्दा म तीनचार वर्ष एकदमै गाह्रो अवस्थामा पुगें । आफूलाई सामान्य ट्र्याकमा ल्याउन समय लाग्यो । ‘म मेरो बाटोमा निरन्तर हुन्छु, मसँग आउने सम्बन्ध जोडिए पनि टुटे पनि कुनै फरक पर्दैन’ भन्ने सोच भएको म जस्तो मान्छेलाई त यस्तो गाह्रो हुनेरहेछ । कोहीविना बाँच्नै सक्दिनँ भन्नेहरुलाई सम्बन्ध टुट्दा कति गाह्रो होला !

माया भनेको आफू नरित्तिएसम्म दिइरहन मन लाग्ने चिज रहेछ । जिरोसम्मै झरे पनि बाँकी रहेको त्यही जिरो पनि सुम्पिदिऊँ लाग्ने चिज माया रहेछ । म त मसित दिनलाई केही थोक भए अझै दिउँ झैं लाग्छ नि ! अब त भए पो दिनु ! दिनुपर्ने सबथोक दिइसकें ।

– तपाईंहरु सँगै नरहनुमा तपाईंको आफ्नो चाहिँ कमजोरी छ कि छैन ?

मेरो कमजोरी नि होला ! हरेक गल्ती आफूबाट सुरु हुन्छ भनेर कोरियामा गएर सिकें । अरुले गर्दा यस्तो भएँ भनेर कहिल्यै भन्नुहुन्न । गल्ती आफूबाट सुरु हुन्छ । त्यो गल्ती मबाट सुरु भयो । किनभने म श्रीमतीको रुपमा रहन सकिनँ । श्रीमती भनेको चाहिँ सधैं ओछ्यानमा अभाइलेभल हुनुपर्दो रहेछ । म त कहिले कथा खोज्न पश्चिम गएको छ, कहिले विदेश गएको छ ।

– गुनासो केही छ ?

गुनासो केही छैन । एक बारको जुनी हो, यो जुनीलाई एकै तरिकाले जिउनुपर्छ भन्ने मान्यता म राख्दिनँ । यो एकबारको जुनीलाई हरेक तरिकाले बाँच्नुपर्छ ।

सायद अहिले उसको पे्रम मसँग होला, तर सँगै हुँदा त्यस्तो महसुस हुँदैन । कहिलेकाहीँ उसले जिस्किएर भन्थ्यो, ‘खासमा म कसलाई प्रेम गर्छु ?’ म भन्थें, ‘तिमीसँग भएको सर्वश्व कसलाई दिउँ जस्तो लाग्छ, तिमी उसैलाई प्रेम गर्छौ ।’ अनि उसले भन्थ्यो, ‘त्यो त तिमीलाई नै दिउँ जस्तो लाग्छ ।’ अनि म भन्थें, ‘उसो भए मसँग प्रेम गर्छौ नि ।’

– तपाईंको अहिलेसम्मको बुझाइमा सम्बन्ध भनेको के रहेछ ?

सम्बन्ध स्वार्थपूर्ण हुँदोरहेछ । त्यो ठाउँमा मबाहेक अरु कोही नहोस् भन्ने लाग्दोरहेछ । त्यसैले त दोस्रो मान्छे आउनासाथ सम्बन्ध टुट्यो । खासमा टुट्नुपर्ने केही छैन नि ! कहिलेकाहीँ मान्छेबाट गल्ती पनि हुन्छ, तर त्यस्तो गल्ती स्वीकार्नै नसक्ने चिज चाहिँ सम्बन्ध रहेछ ।

– माया भनेको चाहिँ के रहेछ ?

माया भनेको आफू नरित्तिएसम्म दिइरहन मन लाग्ने चिज रहेछ । जिरोसम्मै झरे पनि बाँकी रहेको त्यही जिरो पनि सुम्पिदिऊँ लाग्ने चिज माया रहेछ । म त मसित दिनलाई केही थोक भए अझै दिउँ झैं लाग्छ नि ! अब त भए पो दिनु ! दिनुपर्ने सबथोक दिइसकें ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *