‘कमेडी दरवार’मा हमला भएपछि विच्किए ऋषि धमला, ‘काजु जोक्स’ मा लाग्यो कैंची – Nepal Press

‘कमेडी दरवार’मा हमला भएपछि विच्किए ऋषि धमला, ‘काजु जोक्स’ मा लाग्यो कैंची

काठमाडौं । आफूमाथि हुने जतिसुकै कडा व्यंग्य र ट्रोलहरूलाई सहजै पचाउन सक्ने व्यक्ति हुन् ऋषि धमला । ‘नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस्’ भन्ने सिद्धान्तबाट प्रेरित उनी सकारात्मक वा नकारात्मक जस्तो चर्चामा पनि रमाउन सक्छन् ।

तर आफ्नो यो स्वभावविपरीत धमला हालै एक टेलिभिजन रियालिटी शोमा गरिएको व्यंग्य÷रोस्टलाई लिएर नराम्ररी बिच्किएका छन् । अन्ततः निर्माताले सुटिङ भएको कार्यक्रममा निकै काँटछाट गर्नुपरेको छ ।

सन्दर्भ ‘कमेडी दरवार’को हो । पछिल्लो समय दर्शकले निकै रूचाइरहेको यो रियालिटी शोमा पाहुना बनेर गएका थिए ऋषि धमला र अर्का भाइरल पत्रकार प्रकाश सुवेदी । उनीहरू दुवै ‘कमेडी दरबार’का कमेडियनहरूको सर्वाधिक निशानामा पर्ने पात्रहरू हुन् । कार्यक्रममै पाहुना बनेर आएपछि कलाकारहरूले जमेर दुवैलाई रोस्ट गरे । बढी प्रहार चाहिँ धमलामाथि नै भयो ।

‘काजु काण्ड’ देखि ‘डोनाल टुम’ सम्मका प्रसंग जोडेर धमलाको उछितो काढिएको थियो । अतिथिको आसनमा रहेका धमला जोक नबुझेर हो वा चित्त नबुझेर, खुलेर हाँस्न सकिरहेका थिएनन् । प्रकाश सुवेदीले उनलाई सुझाव दिँदै भने, ‘तपाईं अलिकति गम्भीर देखिनुभयो, आफूमाथि रोस्ट हुँदा त मज्जाले हाँस्नुपर्छ ।’

धमलाले जवाफ दिए, ‘खासमा म भित्रभित्र रमाइरहेको छु । म तपाईं जस्तो खुलेर हाँस्दिनँ क्या ।’

बुधबार कार्यक्रमको सुटिङ सकिएपछि बाहिर सञ्चारकर्मीले उनलाई कस्तो लाग्यो भनेर सोधेका थिए । धमलाले आफूले व्यंग्यलाई सहज रुपमा लिने भन्दै ‘अझै नपुगेको’ प्रतिक्रिया दिए, तर उनको अनुहार उज्यालो थिएन ।

यो एपिसोडको सुटिङ मंसिर १९ गते बुधबार भएको थियो भने अर्को शुक्रबार (मंसिर २८ गते) टेलिभिजन र युट्युबमा प्रशारण हुनुपर्ने थियो । कमेडी दरबारको प्रशारण प्राइम टीभीमा हुने गर्छ, जसका सञ्चालक धमला नै हुन् । युट्युबमा भने ओएसआर रियालिटीले हाल्छ ।

कार्यक्रम प्रशारण हुनेभन्दा दुई दिन अगाडि अचानक प्राइम टीभीका केही कर्मचारी ‘कमेडी दरवार’को कार्यालयमा आए । उनीहरुले धमला अतिथि भएको एपिसोडमा काँटछाँट हुनुपर्ने माग गरे । कमेडियनहरुले धमलाको चरित्रहत्या हुने गरी रोस्ट गरेको उनीहरुको आरोप थियो । स्रोतका अनुसार उनीहरुले धमलामाथि गरिएका जोक्सका आधाभन्दा बढी अंश हटाउनुपर्ने माग राखेका थिए । निर्माण पक्षले भने यति धेरै काँटछाँट गर्न नसकिने बतायो । कुरा नमिलेर उनीहरु हिँडे ।

भोलिपल्ट निर्माण समूहका व्यक्ति र ओएसआरका प्रतिनिधि प्राइम टीभीमा वार्ता गर्न गए । उनीहरुले धमलासित नै कुरा गरे । लामो गलफत्तिपछि धमलामाथिका ५-६ वटा व्यंग्यहरुमा कैंची लगाउने सहमति भयो । यही सहमतिअनुसार काँटछाट गरेर कार्यक्रम प्रशारण गरिएको हो । अहिलेसम्म यो एपिसोडले ८ लाख ६० हजार भ्युज कमाइसकेको छ । धमला रुष्ट भए पनि हेर्ने दर्शकहरुले मनोरञ्जन लिएका छन् । खासगरी सुन्दर खनाल र विकास अर्यालले दर्शकलाई पेट मिचिमिची हँसाउन सफल भए ।

निर्माण टीमका एक सदस्यले भने, ‘कार्यक्रम १६ एपिसोडसम्म आइपुग्दा पहिलोपटक यस्तो लफडा भयो ।’


प्रतिक्रिया

2 thoughts on “‘कमेडी दरवार’मा हमला भएपछि विच्किए ऋषि धमला, ‘काजु जोक्स’ मा लाग्यो कैंची

  1. अरूको उछित्तो काढन र अरूलाई नचाहिदो समाचारसँग जोडेर लेख्न र बोल्न त मजा आउँछ । आफूलाई पर्दा कस्तो हुँदोरहेछ त महाशय ? अब अरूका बारेमा पनि बोल्दा सत्य कुरा मात्र बोल्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर