साइबर युगको दिशा- सिरिया, बंगलादेश र नेपालको दशा – Nepal Press

साइबर युगको दिशा- सिरिया, बंगलादेश र नेपालको दशा

साइबर हतियारले जनताको दिमाग नियन्त्रण गरेर देशलाई गलत बाटोमा लैजान्छ, शक्ति राष्ट्रले आफ्नो रणनीतिक राडारभित्र परेका देशमा कि तानाशाह जन्माउन चाहन्छन्, कि त उन्मादी नेता।

अनौठो तरिकाले हालै सिरियामा सत्ता परिवर्तन भयो । चुनावबाट भएको सत्ता परिवर्तन विश्वका लागि सामान्य हो । चुनावबाहेक पनि विभिन्न तरिकाले सत्ता परिवर्तन हुने गरेको छ । सिरियामा भएको पछिल्लो सत्ता परिवर्तनको अनौठो पक्ष के हो भने युद्ध नै युद्धका बीचमा शान्तिपूर्ण ढंगले सत्ता परिवर्तन भएको छ ।

सन् २०११ देखि लगातार सिरियामा गृहयुद्ध चलिरहेको थियो । गृहयुद्धको केन्द्रमा थिए राष्ट्रपति असद । सत्तामा टिकिरहन उनले एक दशकमा हजारौंहजार मानिस मारे । दशौं लाख सिरियाली शरणार्थीका रूपमा विदेश पुगे । राजधानी दमास्कससहित ठूलो भूभागमा असदकै नियन्त्रण थियो, तर देशका विभिन्न भाग विभिन्न हतियारधारी समूहको कब्जामा थियो ।

पछिल्लो केही महिनादेखि सिरियाको गृहयुद्ध केही मत्थर जस्तो देखिन्थ्यो । सिरियामा जसले जुन भूभाग कब्जा गरेका थिए, उनीहरू आफूले कब्जा गरेको क्षेत्रमै सीमित भएर बसिरहन चाहेको जस्तो देखिन्थ्यो, तर भित्रभित्रै खेल अर्कै चलिरहेको रहेछ ।

सिरियामा विभिन्न शक्ति राष्ट्रहरूले आफैंले सेना उतारेका थिए भने कतिपयले आफू पर्दा पछाडि बसेर विद्रोही समूहहरूलाई अगाडि सारेका थिए । सिरियामा यस्तो भइरहेको बेला छिमेकी लेबनान र गाजापट्टीमा भने उग्र युद्ध चलिरहेको थियो । सिरियामा असाध्यै ठूलो स्वार्थ गाँसिएका देशहरू अमेरिका, इजरायल, इरान, टर्की, रुस र इराक हुन् । यीमध्ये इराक आफैं बहुत कमजोर छ, अरूले जस्तो उसले सिरियाभित्र खेल्न सकेको थिएन ।

अमेरिका, इजरायल, रुस र इरान विभिन्न प्रोक्सी समूहहरूमार्फत आपसमा भिडिरहेका थिए । इजरायल, लेबनान, गाजापट्टी जस्ता क्षेत्रमै निर्णायक युद्ध भइरहेको भान हुन्थ्यो, तर भित्रभित्रैको खेल सिरियामा चलिरहेको रहेछ । देखाउने युद्ध गाजापट्टी  र लेबनानमा गरियो, युद्धको खास तयारी सिरियाभित्र रहेछ ।

अमेरिका, इजरायल, रुस र इरान विभिन्न प्रोक्सी समूहहरूमार्फत आपसमा भिडिरहेका थिए । इजरायल, लेबनान, गाजापट्टी जस्ता क्षेत्रमै निर्णायक युद्ध भइरहेको भान हुन्थ्यो, तर भित्रभित्रैको खेल सिरियामा चलिरहेको रहेछ । देखाउने युद्ध गाजापट्टी  र लेबनानमा गरियो, युद्धको खास तयारी सिरियाभित्र रहेछ ।

लेबनानको हिजबुल्ला समूहसँग इजरायलको युद्धविराम हुनासाथ सिरियाका विद्रोही गुटहरू अकस्मात सक्रिय भए । खासगरी टर्कीको आड पाएको भनिएको समूह राजधानी दमास्कसतर्फ अगाडि बढ्यो । रातारात विद्रोहीहरूले एलेप्पो जस्तो रणनीतिक महत्वको शहर राष्ट्रपति बसर अल असदको सेनाबाट खोस्यो ।

असदको सेनाले कुनै प्रतिरोध गरेन । विद्रोहीहरू क्रमशः अगाडि बढ्दै गए । राजधानी दमास्कससमेत विद्रोहीहरूले सजिलै कब्जा गरे । असदको सेनाले कुनै प्रतिरोध गरेन । असदको सेना सम्पूर्ण रूपमा तितरबितर भयो । राष्ट्रपति असद भागेर रुस पुगेका छन् ।

सरकारी सेनाले कुनै प्रतिरोध नगरी लडाकु समूहले राजधानीसहित देश कब्जा गरेको अनौठो घटना सन् २०२१ मा अफगानिस्तानमा भएको थियो । अहिले त्यस्तै खालको घटना सिरियामा भएको छ ।

दक्षिण एसियाली नजिर

दक्षिण एसियामा पनि सत्ता कब्जाको नौलो घटना बंगलादेशमा देख्न पाइयो, जननिर्वाचित सरकारलाई आन्दोलन र भीडले हटायो । त्यहाँकी प्रधानमन्त्री भागेर भारत पुग्नुपरेको थियाे ।

बंगलादेशदेखि सिरियासम्मका घटनाहरूलाई नियाल्दा के देखिन्छ भने यस्ता तख्तापलट पछाडि जनता होइन, विश्व शक्तिहरू देखिन्छन् । साइबर युगमा जनताको मनोभावनालाई खास दिशातर्फ मोड्न सकिन्छ, जनतालाई सजिलै भ्रमित पार्न सकिन्छ । एकपछि अर्को खेल रचना गरेर नयाँनयाँ भाष्य स्थापित गर्दै जनताको दिमाग भुट्न सकिन्छ । सबैभन्दा पहिले कुनै गलत तथ्य अगाडि सार्ने, गलत तथ्य र अलिकति सत्य मिसिएको विषयलाई बढाइचढाइ प्रचारप्रसार गर्ने, अनेक कोणबाट तथ्यको सानो अंश मिसिएको ठूलो आकारको असत्य समाजमा फैलाउने काम गरिन्छ । साइबर युगको खतरनाक पक्ष के देखियो भने जनतालाई जता पनि बहकाएर लैजान सकिन्छ ।

यसको मतलब सिरियाका तानाशाह असद ठीक थिए भन्ने होइन । विश्व शक्तिहरूले निर्वाचित सत्तालाई होस् या तानाशाही सत्ता, आफू अनुकूल चलाउन चाहन्छन् । आफूले भनेअनुसार नगरेमा सत्ताच्युत गराइदिन्छन् । तानाशाही सत्ता ढाल्नु स्वाभाविक लाग्ला, निर्वाचित सत्तालाई समेत साइबर हतियार प्रयोग गरेर ढाल्नसक्ने सामर्थ्य विश्व शक्तिहरूमा देखियो । नेपालमा केपी शर्मा ओली तथा शेरबहादुर देउवाहरूले यो कुरा बुझ्न ढिला गर्न हुँदैन ।

सिरियामा असदको सत्ता परिवर्तन भएसँगै अरब क्षेत्रको राजनीतिले कोल्टे फेरेको छ । अमेरिका र इजरायलसँग टक्कर गरिरहेको इरान केही कमजोर भएको प्रतीत हुन्छ । मध्यपूर्वको द्वन्द्वपूर्ण राजनीतिमा पछि केके हुन्छ थाहा छैन, तर अहिलेका लागि चाहिँ अमेरिका र इजरायल नै हाबी भए ।

विश्व शक्तिहरूले निर्वाचित सत्तालाई होस् या तानाशाही सत्ता, आफू अनुकूल चलाउन चाहन्छन् । आफूले भनेअनुसार नगरेमा सत्ताच्युत गराइदिन्छन् । तानाशाही सत्ता ढाल्नु स्वाभाविक लाग्ला, निर्वाचित सत्तालाई समेत साइबर हतियार प्रयोग गरेर ढाल्नसक्ने सामर्थ्य विश्व शक्तिहरूमा देखियो ।

चेसको कुटिल चालमा अमेरिका र इजरायल सफल भए । के मान्नुपर्छ भने अमेरिका र इजरायलले हतियार र शक्तिको बलमा मात्र अरब जगतमा दबदबा बनाएका होइनन्, कूटनीतिक र रणनीतिक चाललाई पनि त्यति नै अगाडि बढाएर सफल भए ।

सिरियामा गृहयुद्ध निरन्तर चलिरहन्छ कि स्थिरता हुन्छ भन्न सकिने अवस्था छैन । सिरियामा अमेरिका र इजरायलको प्रभाव र प्रभुत्व रुसले स्वीकारेको जस्तो देखिन्छ । इरानले भने यसमा सामान्य विमति जनाएको जस्तो देखिन्छ ।

वास्तवमै अनौठो खेल भयो सिरियामा । त्यहाँको घटनाक्रम नियाल्दा अर्को एउटा शक्तिलाई ध्यान दिनैपर्छ । त्यो शक्ति टर्की हो । सिरियाको सत्तापलटमा टर्कीको नै निर्णायक भूमिका देखियो । तथापि सिरियाको आन्तरिक राजनीतिमा भविष्यमा टर्कीको प्रभुत्व स्थापित हुनसक्छ कि सक्दैन भन्ने टुंगो छैन ।

विश्व राजनीति र कूटनीतिलाई परम्परागत ढंगले बुझेर तथा हेरेर नपुग्ने भयो । प्रविधिको विकाससँगै, समाजमा परिवर्तनसँगै कूटनीति, राजनीति र युद्ध पनि पहिले कहिल्यै नसोचेको तरिकाले हुन थालेको छ ।

युद्धको तरिका पनि पछिल्लो कालमा फरक देखिँदैछ । जस्तो कि रुस र युक्रेनको युद्ध । रुस महाशक्ति हो भने युक्रेन कमजोर शक्ति । रुस र युक्रेनबीचको युद्ध हात्ती र बाख्राको जस्तै हो । तैपनि युक्रेनले हारिसकेको र रुसले जितिसकेको छैन । बिरालोले खेलाइखेलाई मुसा मारे जस्तै रुसले पनि युक्रेनलाई खेलाएको खेलायै गरिरहेको छ ।

युद्धलाई निर्णायक अन्त्य गर्न रुस चाहँदैन । किनभने युक्रेन युद्धलाई रुसले बहुआयामिक बनाइरहेको छ । युक्रेनलाई जित्नु रुसका लागि ठूलो विषय होइन, युक्रेन युद्धको अन्त्यसँगै धेरै कुरा जित्ने रुसको रणनीति देखिन्छ ।

नेपालले के सिक्ने ?

विश्वमा अहिले शान्ति छैन, झन् ठूलो अशान्तिको बाटोमा विश्व अगाडि बढिरहेको जस्तो लाग्छ । अहिले ठूला शक्तिहरूलाई आफ्नो वर्चस्व कायम राख्ने र वर्चस्व बढाउने चिन्ता छ । आफ्नो स्वार्थ र वर्चस्वका लागि ठूला शक्तिहरूले साना शक्तिहरूको बलि चढाउन लाज मान्दैनन् भन्ने देखियो । बिचरा गाजापट्टी हजारौं मानिसको चिहान बनिरहेको छ, गाजापट्टीको गुहार कसैले सुनिरहेको छैन । अब सिरियाको हालत के हुन्छ भन्न सकिन्न । ठूला शक्तिराष्ट्रहरुको आड पाएर उन्मादी बन्दा युक्रेन बर्बाद भएको छ ।

असंलग्न आन्दोलन अहिले पनि कायम छ, तर त्यसले नयाँ प्रसंग र सन्दर्भलाई समात्न सकेको छैन । गुट निरपेक्ष आन्दोलनका हर्ताकर्ताहरू नै अहिले विश्व शक्ति र क्षेत्रीय शक्ति बन्ने होडमा छन् । यस्तो परिस्थितिमा आगामी विश्वमा साना देशहरूलाई धेरै कठिन हुने देखिन्छ ।

विगत शीत युद्धकालमा शक्ति राष्ट्रहरुको द्वन्द्व र ध्रुवीकरणबाट बच्न साना देशहरूले गुट निरपेक्ष असंलग्न आन्दोलन चलाएका थिए । असंलग्न आन्दोलनले नेपाल जस्ता साना देशहरूलाई जोगिएर बस्न ठूलो मद्दत पुगेको थियो । असंलग्न आन्दोलन अहिले पनि कायम छ, तर त्यसले नयाँ प्रसंग र सन्दर्भलाई समात्न सकेको छैन । गुट निरपेक्ष आन्दोलनका हर्ताकर्ताहरू नै अहिले विश्व शक्ति र क्षेत्रीय शक्ति बन्ने होडमा छन् । यस्तो परिस्थितिमा आगामी विश्वमा साना देशहरूलाई धेरै कठिन हुने देखिन्छ ।

नेपाल जस्ता साना देशहरूले आगामी विश्व द्वन्द्वबाट बच्न बुद्धिमतापूर्ण कदम चाल्नुपर्छ । साना देशहरूले उन्मादी नेता र नेतृत्वबाट बच्नुपर्छ । सिरियाको जस्तो तानाशाह नेताले पनि देश जोगाउन सक्दैनन्, युक्रेनका भोलोदोमिर जेलेन्स्की जस्ता नेताले पनि देश जोगाउन सक्दैनन् । ठूला शक्तिराष्ट्रहरुको स्वार्थ के देखिन्छ भने आफ्नो रणनीतिक राडारभित्र परेका देशमा कि तानाशाह जन्माउन चाहन्छन्, कि त उन्मादी नेता जन्माउन चाहन्छन् । अहिले विश्वभरि चलिरहेको द्वन्द्वबाट नेपालले यही कुरा सिक्नुपर्छ ।

मुख्य कुरा, साइबर हतियारले जनताको दिमाग नियन्त्रण गरेर देशलाई कसरी गलत बाटोमा लैजान्छ भन्ने बुझ्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *