एमाले डोटीको अध्यक्षमा मन्जु निर्वाचित
डोटी । नेकपा एमाले डोटीको अध्यक्षमा मन्जु मलासी निर्वाचित भएकी छन् । मंगलवार बिहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार मन्जुले आफ्ना प्रतिस्पर्धी शेरबहादुर मल्ललाई ४४ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । मन्जुले दुई सय १५ मत पाउँदा मल्लले एक सय ७१ मत पाए ।
सुरुमा अध्यक्षमा चार जनाको दावी रहेको थियो । पछि दुई दावेदार पदमराज भट्ट र लक्ष्मण मलासीले मन्जुलाई सहयोग गरी लक्ष्मण उपाध्यक्ष र पदमराजले सचिवमा प्रतिस्पर्धा गरे ।
मंसिर २८ गते सुरु भएको एमालेको नवौं डोटी जिल्ला अधिवेशनमा चार सय १२ जना प्रतितिधि रहेका थिए । सोमवार सम्पन्न भएको निर्वाचनमा तीन सय ९३ प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता नवराज भट्टले जानकारी दिए ।
जिल्ला कमिटीको उपाध्यक्ष पदमा खगेन्द्र बढैला एक सय ११ मत पाई बिजयी भए । उनीसंग सो पदका लागि प्रतिस्पर्धा गरेका गणेशबहादुर बिष्टले एक सय सात, लक्ष्मण मलासीले ९७ र चक्रवहादुर घर्तिमगरले ५८ मत पाए ।
सचिवमा पदमराज भट्ट दुई सय ३७ मत पाई बिजयी भए । उनका प्रतिस्पर्धीहरु धनबहादुर नेपालीले एक सय १९ र झलकबहादुर पालीले ६८ मत प्राप्त गरे ।
खुला उपसचिवमा डम्मरसिंह डौडीले एक सय ५२ मत पाई बिजयी भए । उनका प्रतिस्पर्धी बमवहादुर बलमे एक सय २३, कृष्ण कुमार खड्काले ६७ र कृष्ण दर्लामीले ३४ मत प्राप्त गरे ।
महिला उपसचिवमा बिस्ना सिंह दुई सय आठ मत पाई बिजयी भएकी छन् । उनका प्रतिस्पर्धी सशी सोवले एक सय ४६ मत पाइन् ।