बिरेन्द्र शाहको नेतृत्वमा नेकपा (बहुमत) निकट विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन
काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कास्कीको पोखरामा सम्पन्न सम्मेलनले बिरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारी सहित ७५ सदस्यीय केन्द्रीय समिती चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा रुपा बुढामगर, डिबि बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिबमा डिबि शाही, रमेश सुनार, गोबिन्द बिष्ट, प्रेमप्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार चयन भएका छन् ।
संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिती संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको उद्घाटन नेकपा ९बहुमत० का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले गरेका थिए । संगठनको उद्घाटन सत्रमा संगठनका पुर्ब अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, विद्यार्थी संगठनमा पूर्व महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतका उपस्थिती रहेको थियो ।
‘वैज्ञानिक समाजवादी शिक्षाका लागि क्रान्तिकारी विद्यार्थी आन्दोलन, बेरोजगारी, कुशासन र भ्रष्टाचारका विरुद्ध २३ औँ राष्ट्रिय सम्मेलन’ सम्मेलनको नारा रहेको थियो । सम्मेलनले शिक्षा र स्वास्थ्यमा व्यापार गरेर नागरिक लुटिरहेका माफियाका विरुद्ध निर्णायक संघर्ष गर्ने घोषणा पनि गरेको छ ।
सम्मेलनमा नेपालको शिक्षा र विद्यार्थी आन्दोलनका भावी कार्यभारका विषयमा गम्भिर रुपमा बहस भएको छ । सम्मेलनको बन्दसत्रमा विद्यार्थी संगठनका निवर्तमान अध्यक्ष मिलन राईले पेश गरेको ‘निर्णायक संघर्षमा अघि बढौँ’ शिर्षकको दस्तावेज एकमतले पारित भएको छ ।