नेपाली सेना प्रमुख, जसले चीनबाट हतियार ल्याउँदा भारतबाट पाएनन् मानार्थ महारथी उपाधि
काठमाडौं । नेपाली सेनामा जनआन्दोलन २०६२/६३ अगाडिसम्म मूलतः ५-६ थरका अनुहार प्रधानसेनापति भए । ती थिए- थापा, पाण्डे, बस्न्यात, शाह, कुँवर वा राणा । दोस्रो जनआन्दोलनपछि परम्परागत विरासत बोकेका थरबाहेक नेपाली सेनाको एक नम्बरको नेतृत्वमा अरु थरका व्यक्तिहरु पनि आए । जस्तैः कटवाल, गुरुङ, क्षेत्री, शर्मा र सिग्देल । नेपाली सेनामा क्षेत्रीहरुका खासखास ‘एलिट’ थरहरुमा ब्रेक भएर जनजातिदेखि बाहुनसम्मका छोराहरु प्रधानसेनापति भए ।
नेपाली सेनाका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देल हालै भारतको औपचारिक भ्रमण सकाएर स्वदेश फर्किए । नेपाल र भारतको सैन्य परम्पराअनुसार भारतको स्थल सेनाको मान्नार्थ प्रधानसेनापति उपाधि लिएर सिग्देल नेपाल आए । उनले भारतकी राष्ट्रपति द्रौपती मुर्मुबाट राष्ट्रपति भवनमा आयोजित एक औपचारिक समारोहबीच मानार्थ प्रधानसेनापतिको दर्जा पाएका थिए । मंसिर २५ मा भारत गएका प्रधानसेनापति सिग्देल मंसिर ३० मा स्वदेश फर्किए ।
गत मंसिर ६ गते भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई पनि नेपाली सेनाको मान्नार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।
यो त भयो, नेपालले भारतलाई र भारतले नेपाललाई गरेको सैन्य कूटनीतिक परम्पराको निरन्तरता । भारतीय मिडियाहरुले सन् १९५० बाट यो परम्परा अघि बढेको भन्दै आएका छन् । हालसालै सुधीर शर्माले बजारमा ल्याएको किताब ‘हिमालपारिको हुरी’मा भने २०२६ साल अर्थात् सन् १९६९ बाटै यो चलन चल्दै आएको उल्लेख गरेका छन् ।
नेपाल र भारतको यो सैन्य परम्परा सिग्देल र द्विवेदीमा लागू भएको जस्तो सधैं सकारात्मक भने छैन । भारतले एक नेपालका प्रधानसेनापतिलाई आफ्नो स्थल सेनाको मानार्थ प्रधानसेनापतिको मान्यता नदिएको पाइन्छ । त्यो नपाउने व्यक्ति थिए सत्चितशमशेर राणा ।
चीनसँग पहिलो व्यवसायिक सैन्य सम्बन्धले बिच्किएको भारत र त्यो नाकाबन्दी
प्रधानसेनापति राणाको चीनसँगको उठबस तीन कोणमा देखिनेगरी भएको शर्माको पुस्तक ‘हिमालपारिको हुरी’मा उल्लेख छ ।
पहिलो- उनी नेपाल र चीनको सीमाको सर्वे टोलीका एक अनुहार थिए । यो २०१७ सालको कुरा हो ।
दोस्रो- २०३१ सालको कथा । त्यसताका पनि उनी चीनसँगको सीमा क्षेत्र पुगेका थिए । सीमा सर्वेमा भने गएका होइनन् । मुस्ताङलाई मुकाम बनाएर चीनविरुद्ध अमेरिकी गुप्तचर निकाय सीआईएले चलाएको ‘एसटी सर्कस’ नामक खम्पा विद्रोहीहरुको रेकी गर्ने टोलीमा थिए उनी । उनको रेकीकै कारण २०३२ सालमा राजा वीरेन्द्रको पालामा खम्पालाई दमन गरेर समूल नष्ट गरिएको थियो ।
तेस्रो- राणा नेतृत्वको चीनसँगको सक्रिय सैन्य कूटनीति तथा व्यवसायिक सम्बन्ध । २०४४ साल चैतमा राणा नेतृत्वको सैन्य टोली चीन भ्रमणमा गएको थियो । टोलीले चिनियाँ सैन्य पूर्वाधार अवलोकन गरेको थियो । चिनियाँ सैन्य नेतृत्वसँग संवादसमेत गर्यो । देखिने सहकार्य पनि भयो । २ करोड बढीको विमान खसाउने गनहरुको खरिद प्रक्रिया र अरु सैन्य सामग्री आयातको बाटो तय भयो । राणाको नेतृत्वमा पुगेको टोली गएको तीन महिनापछि २०४५ असारमा ५०० ट्रक सैन्य सामग्री चीनबाट नेपाल आएको थियो । त्योसँगै आयो भारतीय नाकाबन्दी । र, नाकाबन्दीसँगै तोडियो मान्नार्थ प्रधानसेनापति दिने चलन ।
शर्माले पुस्तकको ‘सैन्य साझेदारीको प्रयत्न’मा भनेका छन्, ‘भारत कति आक्रोशित भयो भने नेपालमाथि नाकाबन्दी नै लगाइयो, र सत्चितशमशेरलाई व्यक्तिगत रुपमै तारो बनाइयो । नेपाल र भारतका सेनापतिलाई एकअर्काले ‘महारथी’को मानार्थ उपाधि दिने चलन २०२६ सालदेखि चल्दै आए पनि उनलाई त्यसबाट बञ्चित गरियो ।’
तारो प्रधानसेनापति राणालाई बनाइए पनि नेतृत्व भने राजा वीरेन्द्रकै भएको भन्दै लेखक शर्माले पृष्ठ १३१ मा लेखेका छन्, ‘खासमा सत्चितशमेशरले जे गरे, त्यसका मूल निर्णयकर्ता राजा वीरेन्द्र नै थिए ।’
तर रोचक कुरा तत्कालीन चीन भ्रमणमा पुगेका प्रधानसेनापति सत्चितशमशेरलाई २०४८ जेठ १ सम्म प्रधानसेनापति हुँदा पनि मानार्थ महारथीको उपाधि नदिएको भारतले त्यही टोलीका सदस्य तथा २०५६ देखि २०५९ सम्म प्रधानसेनापति भएका प्रज्वलशमशेर राणालाई भने उपाधि दिएको थियो । २०५६ फागुन १३ मा तत्कालीन भारतीय राष्ट्रपति केआर नारायणनले उक्त उपाधि प्रदान गरेका थिए ।