सञ्चार विधेयक हिउँदे अधिवेशनमा पेश हुन्छ: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेश हुने बताएका छन् । विधेयकका सबै काम सकिएको भन्दै उनले आगामी अधिवेशनमा पेश गर्ने जानकारी दिएका हुन् ।
आज कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेशका नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै उनले पत्रकारका हकहितको संरक्षण र पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास तथा समद्धिको लागि कृषिमा आधारित उद्योग र पर्यटन नै मूल आधार रहेको भन्दै अब समृद्धिका लागि सबैले सहयोग गर्नुपर्ने औंल्याए ।
उनले कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको भन्दै यसको लागि प्रचारप्रसार गर्नसमेत आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले चिया सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ मनाउने तयारी गरिरहेको भन्दै सहयोगका लागि समेत आग्रह गरे ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका नवनिर्वाचित कार्यसमिति, झापा, मोरङ, सुनसरी, धनकुटा र सोलुखुम्बु जिल्लाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई संयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री कार्कीले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
कार्यक्रममा पत्रकार महासंघ कोशीका निवर्तमान अध्यक्ष लीलाबल्लभ घिमिरे, अध्यक्ष भरत खड्का, सुशीला पाठकलगायतले आआफ्नो धारणा राखेका थिए ।