पालिका हाँकेकी मञ्जुलाई पार्टी हाँक्ने अवसर
२०८१ पुष २ गते २१:५१
डोटी । डोटीमा मङ्गलवार सम्पन्न भएको नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कमिटी चयन गरेको छ । नयाँ कमिटीको नेतृत्व मञ्जु मलासीले गर्दै छन् । हक्की स्वभावकी जुझारु नेतृका रुपमा आफ्नो पहिचान बनाएकी मलासी आफू २०४६ सालदेखि राजनीतिमा लागेको बताउँछिन् । २०६२\०६३ सालको जनआन्दोलनमा अग्रमोर्चामा रहेकी मलासी एमालेको पाँचौँ अधिवेशनदेखि लगातार जिल्ला कमिटीमा रहँदै आएकी छन् ।
सातौँ अधिवेशनमा जिल्ला उपसचिव भएकी उनी आठौँ अधिवेशनबाट जिल्लाको उपाध्यक्ष भएकी थिइन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा एमालेबाट समानुपातिकतर्फकी उम्मेदवार बनेकी मलासी २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुखमा निर्वाचित भइन् ।
पाँच बर्ष सफलतापूर्वक नगरपालिकाको नेतृत्व सम्हालेकी मलासीले नगर प्रमुखमा दोहोरिने इच्छा व्यक्त गरेकी थिइन् । तर, उनलाई पार्टीले टिकट दिएन । तिनै मलासीलाई एमालेले जिल्लाभरिको नेतृत्व हाँक्ने जिम्मेवारी दिएको छ । जिम्मेवारी पाए सफलतापूर्वक सम्पन्न गर्ने बताउँदै आएकी मलासी अबको तीन बर्ष एमाले डोटीको बागडोर सम्हाल्ने छिन् ।
मलासीका लागि यो तीन बर्से कार्यकाल सहज भने छैन । २०७४ सालमा जिल्लाका नौ स्थानीय तहमध्ये पाँचमा प्रमुख र उपप्रमुख दुवै र एकमा उपाध्यक्ष एमालेले जितेको थियो । जिल्लाका ६५ वडामध्ये एमालेसँग २९ वडा थिए । तर, २०७९ को स्थानीय तहको चुनावमा एमालेले एउटा पालिकाका अध्यक्ष उपाध्यक्ष र १८ वडाध्यक्ष मात्रै जितेको छ । मलासीको तिन बर्से कार्यकालभित्रै स्थानीय तह र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन हुनेछ । निर्वाचनमा सन्तोषजनक परिणाम हात पार्न उनले अहिले देखिनै सङ्घर्ष गर्नु पर्नेछ ।
यस्तो अवस्थामा एमालेको नारा “मिसन–०८४” सफल बनाउनु मलासीका लागि चुनौतीपूर्ण हुनेछ । यस्तै, आन्तरिक विवादका कारण गुटैगुटमा विभाजित एमालेलाई एकढिक्का बनाएर सङ्गठन चलायमान बनाउनु पनि मलासीको अर्को परीक्षा हुनेछ ।
त्यसो त मलासीले करिब ६ महिना एमाले डोटीको नेतृत्व गरि पनि सकेकी छन् । नवौँ अधिवेशन गत चैत्रमा हुनु पर्ने थियो तर अधिवेशन प्रतिनिधिको विवादले तोकिएको समयमा अधिवेशन हुन सकेन । त्यसपछि एमालेले उनलाई जिल्ला सङ्गठन कमिटीको अध्यक्षको जिम्मेवारी दिएको थियो । नेता कार्यकर्ताहरूलाई एकढिक्का बनाएर लैजाने आत्मविश्वास भने छ मलासीलाई । यदि जिल्लाका सबै नेता कार्यकर्ताहरूलाई विश्वासमा लिएर अघि बढ्न सकेको खण्डमा उनले जस पाउनेछन् ।
उनी भन्छिन् ‘जिल्लाका सबै नेता कार्यकर्ताहरूलाई उचित जिम्मेवारी सहित पार्टी काममा खट्ने वातावरण बनाउने मेरो पहिलो काम हुनेछ ।’ उनी जिल्लामा पार्टीलाई जनतासँग कसरी प्रत्यक्ष जोड्ने भन्ने आफ्नो जिम्मेवारी रहेको बताउँछिन् ।
प्रतिक्रिया
सम्बन्धित खवर