मह निकाल्दा मौरीले चिलेको भन्दै माडीका एक व्यक्तिले मौरीको घार जलाइदिए – Nepal Press

मह निकाल्दा मौरीले चिलेको भन्दै माडीका एक व्यक्तिले मौरीको घार जलाइदिए

चितवन । माडी नगरपालिका वडा नम्बर ६ को सिदुवामा रहेको तोरीबारीमा चरनको लागि राखिएको मौरीको घारमा आगो लगाउनुका साथै तोडफोड गरिएको छ ।

स्थानीय मिराकल गार्डेन प्रा.लि. फार्म सञ्चालक दामोदर देवकोटाले चरनका लागि राखेका २९ वटा मौरीको घारमा स्थानीय एक व्यक्तिले आगो लगाउनुका साथै तोडफोड समेत गरेका हुन् ।

इलाका प्रहरी कार्यालय माडीका इन्स्पेक्टर केदारमान दोङका अनुसार चरनको लागि राखिएको २९ घारमध्ये ५ घारमा आगो लगाएर क्षति गराइएको छ । भने बाँकी २४ घारमा भने कसैको ढक्कन निकालिदिने कुनै घार ढलाइदिने गरेर सबै घारमा क्षति गराइएको छ ।

प्रहरीले क्षतिको लेखाजोखा गर्न नभ्याए पनि सञ्चालक देवकोटाका अनुसार २९ घारका मौरीको क्षतिको आँकलन गर्दा ५ लाख बराबरको नोक्सान भएको छ । प्रहरीका अनुसार मौरीको घार नोक्सान गर्ने स्थानीय एक पुरुष हुन् ।

उनको पहिचान भइसकेपनि प्रहरीले नाम खुलाएको छैन । हिजो दिउँसो मौरीको घारबाट मह काढिएको थियो ।

दिउँसो मह निकाल्ने क्रममा मौरीका घार राखिएको बस्ती नजिकका ति पुरुषलाई टोकेको भन्दै उनले घार जलाउनुका साथै सबै मौरी घारमा क्षति पुर्‍याएका बुझिएको इन्स्पेक्टर दोङले नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *