कर्णाली प्रदेशसभामा हस्तक्षेप बढाउँदै महिला सांसदहरू
अधिकांश सांसदका मुद्दा जनजीविका र विकास निर्माण
सुर्खेत । संसदमा महिलाको संख्या उल्लेख्य रहे पनि प्रस्तुतिका दृष्टिले उनीहरूको उपस्थिति कमजोर रहने टिप्पणी हुने गरेको छ । तर, कर्णाली प्रदेशसभामा भने फरक दृश्य देखिएको छ । कर्णाली प्रदेशसभाको अभिलेख अनुसार सभाको दोस्रो कार्यकालमा भएका अधिवेशनमा महिला सांसदहरूको सहभागिता समय र प्रभाव दुवै दृष्टिले उल्लेखनीय रह्यो ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनदेखि तेस्रो अधिवेशनसम्म आइपुग्दा महिला सभासद्हरूले कुल ७१८ मिनेट बोलेको पाइन्छ । उनीहरूले प्रयोग गरेको त्यो समयमा विभिन्न मुद्दामा धारणा राखेका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन २०७९ साल पुस १८ गते सोमबार दिउँसो ३ बजे शुरु भएको थियो । यो अधिवेशनमा १५ बैठक सम्पन्न भए, जसमा कुल ८६ पटक सांसदहरूले सभामा बोलेका थिए । जसमा महिला ३१ पुरुष ५५ जनाले बोलका थिए ।
प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा जम्मा ३९ वटा बैठक सम्पन्न भएका थिए । जसमा सांसदहरूले २६० पटक बोलेका थिए भने त्यसमा महिला सांसदहरूले मात्र ६७ र पुरुष १९३ जना सांसदमा ४६९ मिनेट महिला सांसदले समय लिएका थिए ।
यसै गरी तेस्रो अधिवेशनमा भएका ११ वटा बैठकमा महिला सांसदहरूले ९८ मिनेट समय लिएका थिए । जसमा २२९ जना सांसद मध्ये ६९ जना महिला र १६० जना पुरुषले बोलेको थिए ।
दोस्रो कार्यकालको पहिलो बैठकमा कल्याणी खड्काले ५ पटकमा ३२ मिनेट बोलिन् भने गमता विकले २ पटकमा १० मिनेट बोल्ने अवसर पाइन् । जानकी सिंहले ३ पटकमा १५ मिनेट, जुम्कित लामा कार्कीले १ पटकमा ५ मिनेट, तुलसा मल्लले २ पटकमा १० मिनेट बोलिन् । यस्तै दक्षिणा शाहीले ३ पटकमा १७ मिनेट, मिलन खड्का रोकाले १ पटकमा ५ मिनेट, लक्ष्मी सुनारले १ पटकमा ५ मिनेट, बलिमाया बुढाले १ पटकमा ५ मिनेट र विजया बुढाले ४ पटकमा १७ मिनेट बोलिन् ।
सन्तोषी शाहीले सबैभन्दा बढी ७ पटकमा ४० मिनेट आफ्नो धारणा व्यक्त गरिन् । कुल मिलाएर, सबै महिला सदस्यहरूले १५१ मिनेट समय लिएका थिए, जसले प्रदेश सभामा महिला सदस्यहरूको सशक्त उपस्थितिको संकेत दिन्छ ।
यस्तै, दोस्रो अधिवेशनमा पनि महिला सदस्यहरूले सभाको समय राम्रैसँग सदुपयोग गरे । सभामा इन्द्राकुमारी शाहीले ५ पटकमा १५ मिनेट बोलिन् भने उर्मिला विश्वकर्माले १ पटकमा ३ मिनेट बोलिन् । कल्याणी खड्काले १६ पटकमा ११८ मिनेट समय लिइन् । यस्तै गमता विकले ६ पटकमा ४२ मिनेट बोलिन् भने जानकी सिंहले ६ पटकमा ४० मिनेट, जुम्कित लामा कार्कीले ४ पटकमा २८ मिनेट, तुलसा मल्लले ४ पटकमा २८ मिनेट समय लिइन् । दक्षिणा शाहीले ७ पटकमा ४९ मिनेट, मिलन खड्का रोकाले २ पटकमा १४ मिनेट, लक्ष्मी सुनारले ३ पटकमा २१ मिनेट, बलिमाया बुढाले ४ पटकमा २८ मिनेट, विजया बुढाले ६ पटकमा ४२ मिनेट र सन्तोषी शाहीले ३ पटकमा २१ मिनेट समय लिएकी छन् । उक्त अधिवेशनमा महिला सदस्यहरूले कुल ४६९ मिनेट समय लिएका थिए ।
तेस्रो अधिवेशनमा महिला सदस्यहरुले पहिलो र दोस्रो अधिवेशनको तुलनामा केही कम तर महत्त्वपूर्ण समय लिए । यो अधिवेशनमा इन्द्राकुमारी शाहीले १ पटकमा ३ मिनेट, कल्याणी खड्काले ५ पटकमा ४१ मिनेट, जानकी सिंहले १ पटकमा ४ मिनेट बोलेकी छन् । मिलन खड्का रोकाले १ पटकमा ४ मिनेट, लक्ष्मी सुनारले १ पटकमा ३ मिनेट, बलिमाया बुढाले १ पटकमा ७ मिनेट बोलेका छन् । विजया बुढाले २ पटकमा १३ मिनेट र सन्तोषी शाहीले ४ पटकमा २७ मिनेट बोलेकी छन् । उक्त अधिवेशनमा महिला सदस्यहरूले कुल ९८ मिनेट समय लिएका थिए ।
सभामा बोल्ने अधिकांश महिला सदस्यहरूले आफ्नो क्षेत्रका विकास निर्माणका विषयदेखि समसामयिक राजनीतिक तथा सामाजिक विषय समेटेका थिए । राजनीतिक विषयमा पनि उनीहरूले धारणा राखेका छन् तर प्राथमिकतामा भने विकास निर्माण र लैंगिक विषयहरू नै परेका छन् । दलको तर्फबाट धारणा राख्नेमा पुरुष सांसदको वर्चस्व रहने आमप्रवृत्ति रहे पनि यहाँको प्रदेश सभामा दलको तर्फबाट पनि कतिपय महिला सांसदहरूले बोलेका थिए ।
कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको शुभारम्भको पहिलो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाही र नेकपा (एकीकृत समाजवादी) की सांसद कल्याणी खड्काले दलको तर्फबाट धारणा राखेका थिए ।
२०७९ माघ १ गते को बैठकले प्रदेशसभाको सभामुखमा नन्दा गुरुङ्ग र माघ ४ गतेको बैठकले उपसभामुखमा यशोदा न्यौपानेलाई निर्वाचित गरेको थियो भने माघ ६ गतेको बैठकल मुख्यमन्त्री राजकुमार शर्मालाई सभाको विश्वासको मत दिने प्रस्ताव स्वीकृत गरेको थियो । बैठकमा प्रस्तावको समर्थन र विरोधमा बोल्ने क्रममा महिला सांसदहरूले पनि सक्रियरुपमा भाग लिएका थिए ।
कर्णाली प्रदेश सभाकी सभामुख नन्दा गुरुङ महिला सांसदहरु दलीय मान्यतासँगै आफ्नो क्षेत्रको सरोकार र जनजीविकाका विषयमा केन्द्रित हुने गरेको बताउँछिन् । उनको विचारमा महिलाहरूको बोल्ने शैली र विषयवस्तुको गहनतामा थप प्रभावकारिताका लागि मिहनेत गर्नुपर्ने खाँचो देखिए पनि निरन्तरको सक्रियताले पहिलेको तुलनामा थप परिपक्वता हाँसिल भएको अनुभव सुनाउँछिन् ।
प्रदेशसभाको बैठकमा दलको तर्फबाट कुनै प्रस्तावको पक्ष वा विपक्षमा बोल्ने महिला सांसदहरूले दलको प्रतिनिधित्व गरेर बोल्ने विषय दलको चाहना अनुसारकै हुनु स्वाभाविक हो । यसमा उनीहरूको प्रस्तुति र प्रभावकारिता दलीय मान्यतालाई तर्कसंगतरुपमा कत्तिको राख्न सक्यो भन्ने आधारमा हेर्ने हो ।
दलका नेताहरू पनि महिला सांसदहरूले बोल्ने सन्दर्भमा पार्टीको प्रतिनिधित्व राम्रोसँग गर्ने गरेको बताउँछन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकहरू महिला सांसदहरूले संसदमा दलको प्रतिनिधित्व गर्न अवसर दिएको बेला राजनीतिक विषयमा दलीय मान्यतालाई बलियोसँग राख्ने गरेको बताउँछन् ।
दलीय मान्यता राख्ने औपचारिक सन्दर्भ बाहेक अन्य विषयमा बोल्ने क्रममा भने प्रायः महिला सांसदले प्रदेशको विकास–निर्माणका साथै सामाजिक विषयलाई नै प्राथमिकता दिने गरेका छन् । उनीहरूको चासोका विषयमा सामाजिक विषय पनि उत्तिकै पर्ने गर्दछन् । महिला सशक्तीकरणका विषयमा पनि अधिकांश महिला सांसदहरूले विभिन्न कोणबाट विषय उठाउने गरेका छन् ।
कर्णाली जुम्ला राजमार्ग, स्वास्थ्य, शिक्षा, खानेपानी, नागरिकको सुरक्षा, न्यायिक प्रणाली, भ्रष्टाचार, बेथिति जस्ता विषयहरू पनि उत्तिकै उठ्ने गर्दछन् । विकट पहाडी भेगलाई जोड्न र यात्रुहरूको सहजताका निम्ति हवाई सेवा बढी सहज हुने भएकोले महिला सांसदहरूले उठाउने अर्को प्राथमिकताको विषय विमानस्थल पर्ने गरेको छ ।
कर्णाली प्रदेशको समृद्धि र विकासका लागि युवालाई रोजगारी, पर्यटन प्रवर्द्धन, कला संस्कृतिको जगेर्ना, स्वास्थ्य सेवा, एम्बुलेन्स सुविधा, सुत्केरी महिलाहरूले भोग्नु परेको समस्या, गरिबी र भोकमरीको विषय, आर्थिक प्याकेज आदिलाई पनि उनीहरूले प्राथमिकताका साथ उठाउने गरेका छन् ।
उनीहरूले उठाउने विषय र आवश्यकताका आधारमा महिला सांसदको लागि बोल्ने समय कम छुट्याइने गरेको महिला सांसदहरूको अनुभव छ । तर, दलका नेताहरू भने त्यस्तो नहुने दाबी गर्दछन् । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक कृष्णबहादुर जिसी आफ्नो पार्टी लैंगिक समानता र समावेशी मुद्दाको पक्षपाती भएकोले महिला सांसदलाई बोल्ने कुरामा कुनै अवरोध नगर्ने बरु हौसला दिने बताउँछन् ।
नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाई पनि एमाले महिला सांसदले बोल्ने विषयमा कञ्जुस्याइँ गर्ने पक्षमा कहिले पनि नरहेको र नरहने दाबी गर्दै महिला सांसदहरूको लागि पार्टीले उनीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकासको निम्ति प्रशिक्षणको व्यवस्था समेत गर्ने गरेको बताउँछन् । महिला सांसदहरूलाई सरकारमा सहभागिता, कानूनी निर्माण प्रक्रिया र संसदीय कार्यमा समान अवसर दिनमा पार्टी अग्रसर रहेको पनि उनले उल्लेख गरे ।
त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्ट पार्टीभित्र पाँच महिला सांसद रहेकोमा दलित, जनजातिसहित सामाजिक समावेशिताको प्रतिनिधित्व समेत रहेकोले उनीहरुलाई पर्याप्त अवसर दिने गरेको बताउँछन् । महिलाहरूको सशक्तीकरण र प्रभावकारी उपस्थितिका लागि प्रत्यक्षतर्फबाट पनि महिलाले प्रतिनिधित्व बलियोसँग गराउन महिलालाई प्रत्यक्ष निर्वाचनमा सहभागी गराउन आवश्यक रहेको बताउँछन् ।
कर्णाली प्रदेश सभाकी सभामुख नन्दा गुरुङ कर्णालीमा १५ महिला सांसद रहेकोमा हरेक महिला सांसदलाई प्रदेश सभामा बोल्न पर्याप्त अवसर र प्रेरणा दिने गरिएको दाबी गर्दछिन् । प्रत्येक महिला सांसदलाई बजेटको समयमा १० मिनेट र अन्य समयमा ७ मिनेट बोल्न समय छुट्याइएको उनले बताइन् ।
उनका अनुसार, विगतको तुलनामा महिला सांसदहरूको भूमिकामा सकारात्मक परिवर्तन आएको छ । अहिले दुई जना महिला मन्त्री र राज्यमन्त्री भएका छन् । गुरुङले भनिन्, ‘महिला सांसदहरूको भूमिका जनतासँगका आश्वासन पूरा गर्ने चुनौतीसँग जोडिएको छ । सभामा महिला र पुरुष सबैले समान समय पाउँछन् र समयको पाबन्दीमा रहेर आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’
यस्तै, प्रदेशसभा सचिव जीवराज बुढाथोकीले महिला सांसदहरूको क्षमता अभिवृद्धि तथा लैङ्गिक सन्तुलनका लागि सचिवालयले विभिन्न कार्यक्रम गर्ने गरेको जानकारी दिए ।
कर्णाली प्रदेशसभामा महिला सदस्यहरूको सक्रियता र सहभागिता महत्त्वपूर्ण रहेको र उनीहरूको योगदानले प्रदेश सभामा महिला सशक्तीकरणको संकेत दिएको विश्लेषकहरूको धारणा छ ।
कर्णालीका महिला सदस्यहरूले नेतृत्वका माध्यमबाट क्षेत्रीय समस्याहरूमा समाधान खोज्नका लागि काम गरिरहेका र यसलाई अझ प्रभावकारी बनाउन समावेशी नीति र कार्यक्रमको आवश्यकता रहेको जानकारहरू बताउँछन् ।