लालबहादुर: सगरमाथा उक्लिने जिरेल समुदायका पहिलो बहादुर !
काठमाडौं । घरको आँगनको बाटो भएर, ठूल्ठूला रक्स्याक बोकेर आएका विदेशीहरुलाई हजुरबा नरबहादुर जिरेलले नमस्कार गरे । तिनै विदेशीहरुको भारी बोकेर बुवा लिलेमान जिरेल हिमालको फेदतिर पुगे । बुवाको पदचाप पछ्याउँदै हिमालतिर उक्लेका लालबहादुर जिरेल भने सगरमाथाको टुप्पोमै पुगे ।
घटना हो, सन् २०१० को ।
जिरी- ४ रातमाटे साक्पाको जिरेल बस्तीमा हल्ला फैलियो, ‘लालबहादुर जिरेल त सगरमाथाको चुचुरोमा पुग्यो रे ! ल है जिरेलहरु पनि सगरमाथाको टुप्पोसम्मै पुग्न सक्दोरहेछ ।’
रातमाटेको सानो घरको दैलोभित्र अटेसमटेस गर्दै छिरेको यो खबरले आमा चन्द्रमाया जिरेललाई अन्त कतै उडाइदियो, भूईंमा खुट्टा थिएन । मंसिरको कठ्यांग्रिँदो चिसोमा जन्मनासाथ ‘च्याँ च्याँ’ गरेर रोएका लालबहादुरले हिउँ नै हिउँको हिउँचुली चढेका थिए ।
दुई त्यान्द्रो लुगा र चप्पल लगाएर जाडो काटेका लालबहादुर, हिमालको टुप्पोमा पुगे । एक मोहरवटा अण्डा बेचेको पैसाले मट्टीतेल किनेर टुकीको उज्यालोमा अक्षर छिचोलेका लालबहादुर संसारको सबैचन्दा अग्लो चुचुरोमा पुगे । सानैदेखि अलि बिरामी भइरहने गरेका लालबहादुरले सगरमाथा चढेको खबरले आमा चन्द्रमायाको चाउरिएको अनुहारमा मुस्कानको उज्यालो ल्याइदियो । बाउ लिलेमानको छाती गर्वले चौडा भयो । जिन्दगीभर भरिया बनेर बोकेको भारीले मोक्ष प्राप्त गरे जस्तो भयो ।
लालबहादुरले सगरमाथा चढेको खबर गाउँमा मात्रै सीमित भएन । गाउँबाट जिल्ला, जिल्लाबाट देश, देशबाट विदेशभर फैलियो । खबरअनुसार लालबहादुर जिरेल समुदायकै पहिलो जिरेल थिए, जसको पाइतालाले सगरमाथाको शीरमा टेक्यो ।
०००
लालबहादुरको हिमालको कथा २०४३/४४ सालबाट सुरु हुन्छ ।
त्यतिखेर भर्खरै १३ वर्षका थिए । १३ वर्षको किशोरले के के नै गर्नसक्छ र ! स्कुल पढ्थे । वयस्क उमेरमा प्रवेश नगरिसकेका लालबहादुरका हातपाउ राम्रोसँग छिप्पिने कुरै भएन । खिरिला खुट्टामा तागत भरिन बाँकी नै थियो । कलिला हातमा रगत भरिन बाँकी नै थियो । किशोर आँखामा सपना सजिन बाँकी नै थियो ।
जति कक्षामा पढ्ने हो, त्यति नै फी बुझाउनुपर्ने । नत्र स्कुलमा पढ्न नपाइने अवस्था थियो ।
भरिया लिलेमानको आर्थिक हैसियत नै के थियो र ! तीनभाइ छोरा, दुई छोरी र श्रीमतीको भोको पेट लिलेमानले बोक्ने भारीमा भर पर्थे । तिनै भोको पेटका लागि ठिहिर्याउने जाडोमा चप्पल टेकेर चिसा हिउँहरुमा खुट्टा गाड्थे लिलेमान ।
घरको आर्थिक अवस्थाले गर्दा लालबहादुरको १३ वर्षे कलिलो ढाडले विदेशीको भारी थाप्नुपर्ने भयो । चप्पल टेकेर, एक त्यान्द्रो बर्को ओढेर जिरीबाट लालबहादुर रामेछापको बण्डरसम्म पुगे । ट्रेकिङ हिँडेका विदेशीहरुको गह्रौं भारी लालबहादुरको थाप्लोमा पर्यो । त्यसवेला जम्मा ५ कक्षामा पढ्थे । दोस्रो पटक भारी बोकेर अलि परसम्म पुगे । जिरीबाट बण्डर हुँदै किन्जासम्म पुगे ।
अहिले त लालबहादुरको गाइड बनेर हिमाल उक्लिएको दिनकै ५-७ हजार ज्याला हुन्छ । आजभन्दा ३९ वर्ष पहिला २०४३ सालमा दिनको ४५ रुपैयाँ हाजिरा थियो ।
‘हिमालको नजिक नजिक राति ओढ्ने ओछ्याउने खासै हुँदैनथ्यो । आमाले दिएको बर्को हुन्थ्यो । ब्ल्याङ्केटहरु हुन्थेनन्’, लाललबहादुर त्यो वेलाको चिसो सम्झिन्छन्, ‘बास कहिले गोठतिर, कहिले रुखको फेद त कहिले ओढारतिर हुन्थ्यो । जाबो त्यो बर्कोले के जाडो छेक्थ्यो र !’
त्यसवेलाको लामाजुरा पासको उकालो अहिले पनि लालबहादुरको आँखामा झलझली छ ।
लगभग एक दिनको लामाजुराको उकालो किन्जाबाट सुरु हुन्थ्यो । पानी चिउचिउ परिरहेको थियो । खुट्टाको पाइतालाबाट छिरेको चिसो टाउको टुप्पोमा पुग्थ्यो, अनि टुप्पोबाट फेरि पाउसम्मै झर्थ्यो । त्यस्तो चिसोमा जिउले थेग्नै नसक्ने भारी छँदै थियो ।
बिहानदेखि उकालो हिँडेको छ, हिँडेको छ । कहिल्यै सकिँदैन ! लालबहादुर काकालाई सोध्थे, ‘होइन, यो उकालो कहिले कट्छ ?’ काका भन्थे, ‘अहिले एकछिनमा कट्छ ।’
तर उकालो कटे पो ! खुट्टा गलेर लुथ्रुक्क बनिसक्यो, तैपनि उकालो कट्दैन । अलिअलि भिरालो आउँछ, फेरि उकालो नै आउँछ ।
‘म त उकालो नसकिएपछि रोएँ । आँखाबाट आँसु नै झर्यो । धेरै उकालो चढेपछि अलिअलि उकालो पनि साह्रै उकालो लाग्ने रैछ’, लालबहादुर सम्झिन्छन् ।
०००
लालबहादुरले २०४८ सालमा एसएलसी पास गरे ।
अनि काठमाडौं छिरे । पाटन क्याम्पसमा पढे, तर पढाइमा उस्तो प्रगति गर्न सकेनन् । ट्रेकिङको काम भने गरिरहन्थे । काम गर्दागर्दै लालबहादुरलाई साथीहरुले सगरमाथा चढ्न सुझाए । साथीहरुले सुझाएपछि लालबहादुरले पनि आँट गरे, ‘सगरमाथा चढ्दिनुपर्छ कि क्या हो ?’
उता जिरीमा बुवा लिलेमानले निरन्तर भारी नै बोकिरहेका थिए । लिलेमानले ६७ वर्षसम्मै भारी बोके । उनले ट्रेकिङको भारीमात्रै बोकेनन्, जिरीमा जे जे चिजको भारी बोक्नुपर्थ्यो, बोके । भारी बोकेर पाएको पारिश्रमिकले जे जे आवश्यक थियो, त्यही त्यही सामान किने ।
आफूलाई भारी बोकाउने विदेशीहरुलाई देखेका कारण लिलेमानले पढाइको महत्व भने बुझेका थिए । पढ्नेहरुले भारी बोक्नुपर्दैन भन्ने थाहा पाएका थिए । त्यसैले त भारी बोक्दै भए पनि लालबहादुरले पढ्न पाए । पढ्दै भारी बोक्दै गरे । भारी बोक्दाबोक्दै ट्रेकिङ गाइड भए । अन्नतः ट्रेकिङ गाइड हुँदाहुँदै सगरमाथा चढे ।
०००
हामी नयाँ बानेश्वरको उमोजा कफीसपमा छौं ।
लालबहादुर आफ्नो जीवन-कथा सुनाइरहेका छन् । कहिले बुवा सम्झेर भावुक बनिरहेका छन्, जसले नाङ्गो खुट्टाले चिसो हिमाल टेक्दै लालबहादुलाई हिँड्न सिकाए । कहिले आमा सम्झेर भावुक भइरहेका छन्, जसले आफू भोको रहेर पनि लालबहादुरलाई दूध चुसाए । कहिले आफ्नै संघर्ष सम्झेर भावुक बनिरहेका छन्, जो भरियाबाट आरोही बने ।
कुनै समय विदेशीको बुटले टेकेर बनाएको छाप देखेर अचम्मित हुने लालबहादुरसँग अहिले त एक लाख १० हजारको क्लाइम्बिङ बुट नै छ । ५०-६० हजारको त ट्रेकिङ बुट नै छ । चप्पल लगाएर भारी बोक्न सुरु गरेका लालबहादुरको जिउमा ऊनीका कपडा नै हजारौं रुपैयाँको हुन्छ ।
कफी पिउँदै लालबहादुर बुवालाई सम्झन्छन्, ‘त्यस्तो मजेत्रोमात्रै बोकेर बुवा कसरी हिमालतिर जानुभयो होला ? कल्पना गर्दा पनि अचम्म लाग्छ । अहिले यति धेरै सुविधासहित हिमालतिर जाँदा त हामीलाई गाह्रो हुन्छ । चप्पल लगाएर कसरी गयो होला, के खायो होला ।’
बुवाले बनाएको पदचाप पछ्याउँदै हिमालको फेदतिर पुगेका लालबहादुरले सन् २०१० मा उत्तरी मोहडाबाट सगरमाथा चढे । ‘म त ठीक उल्टो छु, सगरमाथा चढेपछि मात्रै हिमाल आरोहणको तालिम लिएँ’, लालबहादुर हाँस्दै सुनाउँछन् ।
सन् २०१९ मा दक्षिणी मोहडाबाट पनि सगरमाथा चढे ।
अहिलेसम्म लालबहादुरले गाइडको रुपमा नेपालका मात्रै ३१ हिमाल चढिसकेका छन् । किर्गिस्तानको ७ हजार ४०० मिटर अग्लो जेंगिस चोकुसु हिमाल पनि चढे ।
तर लालबहादुरको अनुभवले भन्छ, ‘हिमाल चढ्न गाह्रो भइसक्यो । सन् २०१८ सम्म खासै परिवर्तन भएको थिएन, तर सन् २०२० बाट एक वर्षमै पाँचदेखि १० मिटरसम्म हिउँ पग्लिएर गइरहेको छ । यो सामान्य कुरा होइन ।’ पहिला हिउँ हुँदा हिमाल चढ्न सजिलो हुन्थ्यो । अहिले ढुंगैढुंगा निस्कन थाल्यो । हिमाल चढ्दै गर्दा माथितिरबाट ढुंगा लड्ने, दुर्घटना हुने जोखिम धेरै हुन्छ । मुख्य कुरा हिउँ त्यसरी पग्लिनु नै चिन्ताको विषय हो । अब हामीले हिउँ र हिमाललाई नबचाए मानव जीवनमै समस्या आउनसक्छ ।’