कुलमान भन्छन्- प्राविधिक समस्याका कारण उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैन (भिडिओ)
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको स्पष्ट पारेका छन् ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै कार्यकारी निर्देशक घिसिङले केही प्रशारण लाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताएका हुन् ।
उनले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएको कारण उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको बताए । धेरै विद्युत खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत आयात गर्न नदिएको उनको भनाइ छ ।
उनले ४५६ मेगावट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्याउँदा विद्युत आपूर्तिमा समस्या भइरहेको बताए । उनले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५/६ महिना लाग्ने बताए । अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उनको दाबी छ ।
यस्ताे छ उनकाे भनाइ
‘दुईतीन दिनदेखि प्रशारण लाइनमा समस्या आएको थियो । ढल्केवरबाट नवलपुरसम्मको प्रशारण लाइनमा एउटा सर्किट चुँडिएको कारणले ६, ७ वटा टावरमा मर्मत गर्नुपर्ने भयो । त्यसलाई स्टिर्निङ गर्नको लागि हाम्रो एसटिएलएस भन्ने कन्डक्टर, स्पेसल क्लासको कन्डक्टर हो । त्यसलाई तान्नको लागि अलिकति समय लागेको हो । त्यसकारणले विरगन्ज क्षेत्रमा र पश्चिमदेखि बुटवलसम्मका उद्योगहरुमा दिउँसो पनि हामीले कममा विद्युत चलाउनु पर्ने समस्या भएको हो । अर्को, हिउँदमा भारतबाट विद्युत आयातका लागि जुन सहमति भएको छ, त्यो दिउँसो र राति आयात गर्ने सहमति भएको छ ।
बेलुका पाँच बजेदेखि राति ९ बजेसम्म पिक टाइम भन्छ, त्यो पिक टाइममा हामीलाई इम्पोर्ट गर्न दिएको छैन । त्यसकारण हामीले केही उद्योगहरुमा विद्युत कटौटी नगरिकन दिन सकिँदैन । किनभने पहिला चाहीँ हाम्रो अप्पर तामाकोशी थियो । त्यसको ४५६ मेगावाटको हामीले के गथ्र्यौं भने दिनमा भारतबाट इम्पोर्ट गरेर चलाउने गथ्र्यौं । राति पानी जम्मा भएको हुन्थ्यो । अप्पर तामाकोशीलाई असोजको बाढीले ड्यामजे गर्यो । त्यसको मर्मत भइरहेको छ । हामीले एउटा डिसेन्डरलाई चलाएर काम गर्दैछौं ।
यही पुस १० गतेसम्ममा एउटा डिसेन्डरको पानी हामी टेम्पोरर्ली हामी चलाउँछौ । त्यसपछि पिक टाइमको समस्या पनि बिस्तारै कम हुँदै जान्छ । अर्को १०/१५ दिनमा हामी ४५६ मेगावट नै चलाउँछौं । उप्पर तामाकोशी पूर्ण रुपले सञ्चालनमा आएपछि बेलुकाको पिक टाइममा पनि हामी विद्युत प्रवाह गर्न सक्छौं । तामाकोसीको दुईटै डिसेन्डर चलाउनका लागि पाँच छ महिना अझै लाग्छ । किनभने त्यसको ड्यामेज धेरै भएको छ ।
अहिले हाम्रो नेपालकै जेनेरेशन १६०० मेगावाट जतिको हुन्छ । तर उद्योगहरुसहतिको डिमाण्ड १९०० जतिको हुन्छ । त्यसकारण हामीले २०० देखि ३०० मेगावाट जतिको लोड चाहीँ कममा चलाउनुपर्छ । त्यो पनि उद्योगहरुलाई । अन्य ग्राहकको लागि कुनै समस्या छैन । हामी पिक टाइमको लाइमको लागि पनि भारतसँग विद्युतको लागि माग गर्दै पत्र पठाएका छौं । यस्तै समस्या पोहोर साल पनि भएको थियो ।
केही ट्रान्समिसन लाईनहरुको समस्या अहिले पनि छ । अहिले अत्तरियादेखि पूर्व कोहलपुरसम्मको लाइनमा पनि केही समस्याहरु आएको छ । रुख ढलेको छ । रक्सौलदेखि पर्वानिपुरसम्मको ट्रान्समिन लाइन चाहीँ हामीले एक महिनाको सट डाउनमा राखेका छौं । त्यहाँबाट अहिले बिजुली इम्पोर्ट गर्न मिल्दैन । अब का केही दिन भित्रमा त्यो आउँछ । विद्युत आपूर्ति बन्द हुनुको केही प्राविधिक कारणहरु हुन् । तर मुख्य कारण भनेको अप्पर तामाकोसी बन्द भएको कारणले हो । तामाकोशीबाट विद्युत आउना साथ उद्योग क्षेत्रलाई पनि सहज हुन्छ ।’