सहकारी बैंकभित्र हामी राजनीति गर्न आएका होइनौं : अध्यक्ष गिरी
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्ष महेन्द्रकुमार गिरीले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा आफूहरू राजनीति गर्न नआएको स्पष्ट पारेका छन् । बुधबार बैंकको २१ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष गिरीले भने, ‘राष्ट्रिय सहकारी बैंकभित्र हामी राजनीति गर्न आएका होइनौँ । र, राजनीति पनि गर्दैनौँ । यसलाई पूर्ण व्यवसायिकरुपमा अगाडी बढाउँछौँ ।’
आगामी दिनमा सदस्यलाई सुविधा दिनेमा तत्पर रहने समेत प्रतिबद्धता जनाउँदै उनले भने, ‘सहकारी बैंकलाई अब पूर्णरुपमा व्यवसायिकरुपमा अगाडि बढ्नेछ । सहकारीमा आधारित पूर्ण व्यावसायिक बनाउने हाम्रो प्रतिबद्धता छ ।’
बैंकहरुमा खराब कर्जा बढेर समस्या आउने र बेसरेट बढी भएर प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको उनको भनाई छ । राष्ट्रिय सहकारी बैंक बचाउनका लागि सदस्य, कर्मचारीहरूको सहयोगको आवश्यकता रहेको समेत उनले बताए । उनीहरूलाई अध्यक्ष गिरीले व्यवस्थापन र सुधारका कदम चाल्नका लागि सहयोग अपिल गरे ।
कर्मचारीहरूमा असल संस्कार नभएको गुनासो आएकाले त्यसलाई सुधार गर्ने उनले जानकारी दिए । अध्यक्ष गिरीले भने, ‘कतिपय कुराहरूमा गुनासो आएको छ । हाम्रा कर्मचारीहरूमा असल संस्कार भएन, सञ्चालकहरूमा पनि भएन भन्ने कुरा आएको छ । असल संस्कार बनाउने र पूर्णरुपमा सुशासन बनाउने तर्फ प्रतिबद्ध छु ।’
पुसभरि सुझावहरू संकलन गरेर आगामी कार्यदिशा बनाएर अबको दुई वर्षभित्र यसलाई कुन रूपमा पाउँछौँ भन्नेबारेको काम भइरहेको समेत उनले दाबी गरे ।
‘यही पुषभित्र सुझावहरू संकलन गरेर आगामी कार्यदिशा के हुनसक्छ ? आगामी दुई वर्षभित्र यसलाई कुनरुपमा पाउन सक्छौँ ?’, उनले अगाडी भने, ‘राष्ट्रिय सहकारी बैंक मात्रै मोटायो भने हाम्रा सदस्यहरू बाहिरिन सक्छन् । त्यसैले एउटा व्यक्तिको मात्रै होइन हामीले सबैको जित हुने गरेर काम गर्नेछौँ ।’