उपनिर्वाचनको परिणामले माओवादीमा देखिएको उत्साहः स्वाभाविक कि अतिरञ्जित ? – Nepal Press

उपनिर्वाचनको परिणामले माओवादीमा देखिएको उत्साहः स्वाभाविक कि अतिरञ्जित ?

विश्लेषक भन्छन्- यो मिनिचुनाव होइन, २०६४ फर्काउँछु भन्नु दिवास्वप्न

काठमाडौं । हालै भएको स्थानीय तहको उपनिर्वाचनको परिणामप्रति उत्साहित माओवादीले सोमबार पार्टी पंक्तिलाई राज्यशक्तिको चरम दुरुपयोगका बाबजुद पनि सत्तारुढ दल कांग्रेस र एमालेको जनमत घटेको निष्कर्षसहिको सर्कुलर पठायो ।

मंसिर २८ गते बसेको स्थायी कमिटीको बैठकको निष्कर्षका आधारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा आफ्नो पक्षमा उत्साहजनक परिणाम प्राप्त भएको र पार्टीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको उल्लेख छ ।

सर्कुलरमा भनिएको छ, ‘कैयौं स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुपयोगका बावजुद पनि ती दुई पार्टीको जनमत ह्रासोन्मुख अवस्थामा देखिएको छ । यस उपनिर्वाचनमा हाम्रो पार्टीको सिङ्गो पङ्क्ति एकढिक्का देखिएको छ । हरेक स्थानमा नेतृत्व तहका कमरेडहरू समेतको क्रियाशीलताले निर्वाचनलाई परिणाममुखी बनाउन सफल रहेको देखिन्छ ।’

स्थानीय उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा एकताबद्ध गराउने, जनस्तरसम्म पार्टी संगठनलाई विस्तार र व्यवस्थित रूपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापक रूपमा विस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही विचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्न पार्टी पंक्तिलाई निर्देश गरिएको छ ।

मंसिर १६ गते ४१ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनको परिणामले माओवादी हौसिएको छ । कहिले कांग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दै आएको माओवादी एक्लै लड्दा पनि राम्रो मत आएको भन्दै हौसिएको हो ।

एक पालिका अध्यक्ष, तीन उपप्रमुख/उपाध्यक्ष र सात वडाध्यक्षसहित ११ स्थानमा जितेको माओवादीले आगामी निर्वाचनमा २०६४ सालको नतिजा दोहोर्‍याउन सकिने निष्कर्षसमेत निकालेको छ । २०६४ सालको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ एकल बहुमत ल्याएको थियो, तर त्यसयता माओवादीको निरन्तर ओरालो यात्रा जारी छ ।

कांग्रेस र एमालेले देशलाई दुई दलीय व्यवस्थामा लैजाने प्रयास गरिरहेको बेलामा उपनिर्वाचनले गतिलो प्रतिवाद गरेको माओवादी नेताहरुले बताइरहेका छन् । उपनिर्वाचन भएका ४१ मध्ये ११ क्षेत्रमा जितेको माओवादीले काठमाडौंको कीर्तिपुर नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिकालगायत पराजित भएको अधिकांश स्थानमा दोस्रो स्थान हासिल गरेको छ । ४१ मध्ये माओवादीले जितेको ८ स्थानीय तहमा निर्वाचन भएको थियो ।

अहिले प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा मत र परिणामको हिसाबले माओवादी पहिलो पार्टी बनेको दाबी गर्न थालेका छन् । शनिबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले अर्को पार्टीका नेताहरुले आफूलाई तथ्यांकसहित देखाएपछि छक्क परेको सुनाएका थिए ।

‘पालिकातिरको जोड्दा त हामी सीधै एक नम्बर भइएको रहेछ । सबैतिरको जोड्दा पनि हामी एक नम्बर नै भइएको रहेछ, तर हामीलाई एक नम्बर भन्न बल आएको रहेनछ । हाम्रो आत्मविश्वास एक नम्बरभन्दा बढी नै भनिएछ कि भन्या जस्तो । जबकि हामी एक नम्बर भइएको छ’, प्रचण्डको भनाइ थियो ।

माओवादी एकताबद्ध भएर लागेपछिको परिणामले माओवादी सकियो भन्नेहरुलाई जवाफ मिलेको जिकिर उनले गरे ।

प्रचण्डको दाबी थियो- ‘हामीले गरेका राम्रा कामहरु र एमाले नेतृत्वले गरेका नराम्रा कामहरु दुइटा मिलाउँदा जनताको आशा र भरोसा बढेको छ । देश र जनताको हितमा प्रयास गर्ने माओवादी नै रहेछ भन्ने परेको छ । मैले पहिला पनि भनेको थिएँ, माओवादीमा २०६४ को झल्को आएको छ, तर फर्किसकेको छैन । हामीले राम्रो अवसर पाएका छौं ।’

नतिजामा सुधार भएको दाबी

यो उपनिर्वाचनपछि प्रचण्डमात्रै होइन, कार्यकर्ता तहमा पनि उत्साह थपिएको छ । जुन कुरा कांग्रेस र एमालेले पनि स्वीकारेर गम्भीर समीक्षामा लागिरहेका छन् ।

उपनिर्वाचनको परिणामपछि एमालेका महासचिव शंकर पोखरेलको समीक्षा थियो- ‘माओवादीले १ अध्यक्ष र १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको छ । यद्यपि माओवादीको जितमा विगतको चुनावमा कांग्रेससँगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सीट पनि सामेल छन् । यद्यपि कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ ।’

उनले एमालेको परिणाम योजना र अपेक्षाअनुरुप नभएको भन्दै एमाले र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित पारेको विश्लेषण गरेका थिए ।

त्यसो त माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि उपनिर्वाचनमा उत्साहपूर्ण नतिजा आएको सुनाए ।

उनले भने- ‘अहिले नतिजाले दुई दलीय व्यवस्थातिर लैजाने सोचिरहेका थिए, उपचुनावले त्यसलाई खण्डित गरेको छ । सरकारलाई अन्य कुरामा दबाब सिर्जना गरेर चुनौती खडा गरेको छ ।’

सरकारले माओवादीप्रति जनतामा विश्वास बढिरहेको उनको पनि बुझाइ छ ।

प्रवक्ता सापकोटाले थपे, ‘सरकारप्रति हरेक पक्षमा जनतामा तीव्र निराशा र आक्रोश छ । अब हामी पार्टी निर्माणको काममा लाग्छौं । यो निर्वाचनको परिणामले पार्टी पंक्तिमा उत्साह थपेको छ ।’

उनले केन्द्रीय कमिटीको एजेन्डासहित पार्टीको आगामी कार्ययोजनाबारे थप छलफल गर्न पुस १८ देखि २० गतेसम्म स्थायी कमिटी बैठक बस्ने बताए ।

‘उत्साह स्वाभाविक, २०६४ फर्काउँछौं भन्नु हतारो हुन्छ’

राजनीतिक विश्लेषक चन्द्रकिशोर दलहरुले आफ्ना कार्यकर्तालाई गोलबन्द राख्न र संगठन विस्तार गर्न आशा देखाउनु स्वाभाविक भएको बताउँछन् ।

उनले भने, ‘चुनावको नतिजा सकारात्मक भएको, पार्टीप्रति जनताको आशा, भरोसा बढेको छ भन्ने रुपमा नेतृत्वले व्याख्या गरिरहेको छ । नेतृत्वप्रति असन्तुष्टि थियो, सत्ताबाट बाहिर आउनासाथ कार्यकर्ता पंक्तिमा समेत निराशा देखिएको थियो । त्यसलाई पार्टी निर्माणमा लगाउने भनेर आश्वासन दिइएको छ ।’

तर यो चुनाव मिनि-इलेक्सन नभएकाले यही परिणामको आधारमा आगामी आमनिर्वाचनको विश्लेषण गर्न नसकिने उनको बुझाइ छ ।

विश्लेषक चन्द्रकिशोरले थपे, ‘यो निर्वाचनको परिणामको आधारमा २०८४ को आमनिर्वाचनको मूल्यांकन गर्न सकिँदैन । अहिले त्यहीअनुसार व्याख्या भइरहेको छ, त्यो मिल्दैन ।’

माओवादीले यो निर्वाचनको परिणामले २०६४ कै लहर फर्कियो भन्नु र दिउँसै सपना देख्नु उस्तै भएको उनले टिप्पणी गरे ।

तर अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य माओवादीको उत्साहलाई स्वाभाविक देख्छन् ।

उनी भन्छन्, ‘दुई ठूला पार्टी कांग्रेस र एमाले सरकारमा छन्, उनीहरुले काम गर्न सकिरहेका छैनन् । प्रतिपक्षको कित्ता खाली छ । प्रतिपक्षमा भएकोमध्ये रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि ध्यान त्यतैमात्र केन्द्रित छ । त्यसैले माओवादीले निर्वाचन परिणाम पनि आफ्नो पक्षमा ल्याएको छ । झण्डै एमालेको हैसियतमै पुगेको देखिन्छ । त्यसैले उत्साह स्वाभाविक छ ।’

उनले दुई ठूला पार्टी मिलेर प्रचण्ड नेतृत्वको सरकार ढालेपछि माओवादीले जनतामा जान मुद्दा पाएको बताए ।

विश्लेषक आचार्यले थपे, ‘माओवादीले अहिले मुद्दा पनि पाएको छ, भ्रष्टाचारीलाई कारबाही गर्दागर्दा दुई ठूला पार्टी मिलेर हटाए भनेर । अझै माओवादीले पार्टीभन्दा पनि दुई ठूला परिवार मिलेर सरकार कब्जा गरे भनिरहेको छ, त्यसलाई जनताले पत्याएको पनि देखिएको छ । त्यसैले उत्साहित हुने ठाउँ भेटिएको छ ।’

माओवादीले यो निर्वाचनको परिणामलाई लिएर २०८४ मा २०६४ कै झल्को आउँदैछ भन्नु चाहिँ हतारो भएको उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा कम्युनिष्ट धारकोे एमाले पार्टी कमजोर हुँदै गएको देखिएको छ । उसले डिफेन्स गर्न नसक्ने अवस्थामा पुग्दा माओवादी हौसिनु स्वाभाविक हो, तर अहिले नै हौसिएर २०६४ को झल्को आउँदैछ भन्नु चाहिँ हतारो नै हुन्छ ।’

यसकारण हौसियो माओवादी केन्द्र

माओवादीका केन्द्रीय सदस्य रञ्जित तामाङले उपनिर्वाचनको परिणामले पार्टी पंक्तिमा उत्साह छाएको बताए । माओवादीले बोकेको एजेन्डालाई जनमतले अनुमोदन गरेको र आगामी निर्वाचनमा २०६४ कै नतिजा फर्काउन सकिने आधार देखिएको उनको भनाइ छ ।

त्यसबारे उनको भनाइ

उपनिर्वाचनबाट प्राप्त नतिजाले हामी हौसिएका हौं । यो परिणाम प्राप्त गर्नुको पछाडि प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई जनताले अनुमोदन गरेको रुपमा बुझेका छौं । पछिल्लो चरणमा प्रचण्ड नेतृत्वको सरकारलाई ढालेर कांग्रेस, एमाले मिलेर बनेको सरकारको नियत जनताले बुझेर नै हामीलाई मत प्राप्त भएको छ ।

निर्वाचन नभएको क्षेत्रमा पनि पुराना शुभचिन्तकहरु, अरु दलमा रहेकाहरुले पनि देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रोक्ने कुरामा माओवादीको विकल्प छैन भन्ने जनभावना छ । त्यसैले परिणाम हाम्रो पक्षमा आएको छ । देशभरको प्रतिक्रिया हामीले बुझ्दा पनि हामी उत्साहित हुने ठाउँमा नै छौं ।

सरकारले जनअपेक्षित काम गर्न नसक्नु, देशको अर्थतन्त्रमा सुधार आउन नसक्नु, युवाहरु ठूलो संख्यामा पलायन हुँदै जानु, वैदेशिक ऋण बढ्नु, तर सत्ताको नेतृत्व गरिरहेका दलका नेताहरुको दिनचर्या भने रातारात बदलिँदै जानुको कारण भ्रष्टाचार नै हो । भ्रष्टाचारलाई हल नगर्दासम्म मुलुक बन्न सक्दैन भन्ने आममानिसको बुझाइ छ ।

देशमा देखिएको निराशा र भ्रष्टाचार अन्त्य गर्ने मुद्दालाई अहिले माओवादीले नै बोकेको छ । त्यसैले त्यो एजेन्डालाई माओवादीले नै कार्यान्वयन गर्छ भन्ने जनताको विश्वास छ । भ्रष्टाचारको मुद्दामा पार्टीभित्र र बाहिर सबै मान्छेलाई कानूनको दायरामा ल्याउने वातावरण बनाएको आधारले नै २०६४ फर्किन्छ भन्ने हाम्रो बुझाइ छ ।

हामीले २०८४ को निर्वाचनमा २०६४ फर्काउन सकिन्छ भन्ने यो उपनिवाचनलाई नै स्याम्पल मान्न सकिन्छ भनेर लागेका छौं । यो उपनिर्वाचनमा जनताले व्यक्त गरेको मत र हामीले जनतासँग अन्तरघुलन गर्दा पाएको मतलाई प्रक्षेपण गरेका हौं । यसलाई जनमत नै मान्न सकिन्छ । जनतामा कस्तो धारणा बन्दै गइरहेको छ भन्ने मान्न सकिन्छ । त्यही आधारमा यो उपनिर्वाचन एउटा संकेत हो भनेका हौं ।


प्रतिक्रिया

3 thoughts on “उपनिर्वाचनको परिणामले माओवादीमा देखिएको उत्साहः स्वाभाविक कि अतिरञ्जित ?

  1. तथ्यपरक छैन यो विश्लेषण । गत कति कति भोट आएको अहिले कति कति आएको कति खोसियो कति नयाँ जित्यो । यस्ता कुरा नलेखी ताइ न तुईका कुरा दोचारेर के काम ?

  2. माओवादी खस्कदै गएको छ । रास्वपाले उम्मेद्वार नउठाएको ठाउँमा माओवादीलाई भोट हाल्यो । उसले काँग्रेस एमालेलाई देखाईदिन माओवादीलाई भोट हाल्यो । त्यसैले अलिअलि बढेकोजस्तो देखिएको हो । एमालेले चुनावलाई धेरै गम्भिररूपमा लिएजस्तो लागेन । एकजना शंकर प‍ोखरेल दौडेर मात्र के हुनु ? अनि एमालेमाथि चौतर्फी आक्रमण हुँदा पार्टीले एकढिक्का भएर विरोध गरेको देखिएन । जनताबाट उठाएको ४५ लाख सुप्रिमोको चितवनको महल ठड्याउन दिएर दुरूपयोग गर्ने फटाहा पनि एमालेलाई गालि गर्छ तर उसको विरोध एमालेका नेता गर्दैनन । क्रसरमा दादागिरी देखाएर पैसा असुल्ने गुण्डाजस्ता माओवादी नेता पनि एमालेलाई गाली गर्छन तर एमाले पङ्ति जमेर प्रतिकार गर्दैन । ओलि चीन भ्रमणमा गएको विषयलाई प्रचण्डले चाईना कार्ड भन्ने, बर्षामानले अनुनय विनय गरेर भारतलाई देखाउन गएको भनेर भारतको भाडाको टट्टु बन्दा पनि कोही एमाले बोल्दैन । ओलिको चीन भ्रमण एतिहासिक भयो । अब आयोजना निर्माणमा लाग्नुपर्छ । यी आयोजना बन्दा भारतीय नेपाली कुकुरहरूको दाना पानी बन्द हुन्छ । त्यसैले दानापानी बन्द हुने भएर ओलिको चीन भ्रमणको विरोध गरेका हुन् । यस्ता भारतीय कुकुरहरूको कडा शब्दमा एमालेहरूबाट प्रतिकार नहुँदा हौसिएका हुन् ।

  3. सम्पूर्णउप निर्वाचनलाइ विस्तारित रूपमा नहेरी सतही कुरा गरेर प्रचण्डको विचारलाइ बल दिएर हुदैन । ४१ ठाँउमा भएको निर्वाचन मध्ये ११ ठाँउमा माअोवादीले जित हासिल गरेको छ, त्यो भनेको करिव २७ प्रतिशत हो । अब जित हासिल गरेको मध्ये माअोवादीको प्रभाव क्षेत्र कति र अन्य दलको प्रभाव क्षेत्र कती हेर्नुु पर्यो फेरी अन्य अबयवहरूलाइ पनि हेरी विश्लेषण गर्नु पर्यो । यसरी हेर्दा वर्तमान चुनावलाइ माअोवादीले २०६४ संग दाज्नु अात्मरति बाहेक के हुन सक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *