गीतकार सुरेन्द्र राना- ‘रुकुम मैकोट’ले पुनः चर्चाको शिखरमा
काठमाडौं । ‘एउटा गीत चाहियो दाइ !’
एक दिन ‘खुस्मा’ चलचित्रका निर्देशक अशोक थापा मगरले गीतकार सुरेन्द्र रानालाई फोन गरेर भने ।
सिचुएसन के हो ? कुन सन्दर्भको कथामा गीत चाहिएको हो ? गीतमार्फत निर्देशकले अभिव्यक्त गर्न चाहेको कुरा के हो ? यी सवालको जवाफका लागि सुरेन्द्र र अशोक लगनखेलको एक कफीसपमा भेटे ।
अशोकले कथा सुनाउँदै भने, ‘गीत रुकुम मैकोटमाथि चाहिएको हो ।’
सुरेन्द्र गोर्खा लिगलिगकोटका हुन् । उनी रुकुम मैकोट पुगेका थिएनन् । मैकोट नाम सुनेका पनि थिएनन् । यसो सोचे, ‘रुकुमको मैकोट भनेपछि त्यहाँको पर्यटनलाई पनि सहयोग पुग्ने गरी गीत लेख्नुपर्यो ।’
कफीसपमा अशोकले कथा सुनाउन सुरु गरे । कथा सुन्दासुन्दै सङ्लो पानीमा माछा खेले जसरी सुरेन्द्रको मनमा शब्दहरु खेल्न सुरु गरे । शब्दहरु छरिएर घरी यता, घरी उता गर्न सुरु गरे । सुरेन्द्रले छरिएका शब्दहरुलाई मिलाएर राख्न खोजे । तब कथा सुन्दासुन्दै हुक लाइन जन्मियो-
रुकुम मैकोट, रुकुम मैकोट
आँखा नि राम्रै हो, मनपर्यो नि ओठ
अनि घर आएर गीतमा थप काम गरे । केटा र केटीले इशारामै सबै कुरो बोलेको भावका शब्दहरु तयार पार्न उनलाई चार दिन लाग्यो । चार दिनपछि उही कफीसपमा अशोक र सुरेन्द्रको भेट भयो । गीत पढेपछि अशोकले भने, ‘यो पूरा गीत छ । गज्जब भयो ।’
गीत तयार भयो । एसडी योगीले गीतमा संगीत र स्वर भरे । सुरेन्द्रलाई अशोकले डमी सुनाए । सुरेन्द्रलाई पनि गीत मनपर्यो । स्वर पनि टिपिकल लाग्यो । गीत पनि सुन्दामै क्याच्ची बनेको थियो ।
सुरेन्द्र र एसडीको बीचमा हुलाकी थिए अशोक । यही कारण नै सुरेन्द्र र संगीतकार एसडीको भेट अहिलेसम्म भएको छैन । चिनापर्ची पनि भएको छैन ।
‘यो गीतको एउटा शब्द पनि चेन्ज भएन । एक्युरेट फिट भयो । ठ्याक्कै ट्युनिङमा थियो’, एसडीसँग भेट नहुनुको कारणबारे सुरेन्द्र सुनाउँछन्, ‘संगीतकारसँग बस्नुपर्ने अवस्था नै आएन । त्यसैले उहाँसँग भेट नभएको होला ।’
यो गीत यति धेरै लोकप्रिय होला भनेर सुरेन्द्रले सोचेकै थिएन, तर जे सोचेको थिएन, त्यही भइदियो । गीतले तीन महिनामा ७२ मिलियन अर्थत् ७ करोड २० लाख भ्युज पायो । युट्युब ट्रेन्डिङदेखि ग्लोबल ट्रेन्डिङसम्म पुग्यो । गीतको सरल शब्द र प्रेमिल भावले सबैलाई मोहित तुल्यायो ।
०००
भारतीय गायक सोनु निगमले गाएको ‘विरहीको भाकाले’ गीत त पक्कै सुन्नु भएकै होला । ‘बादलपारि’ चलचित्रको यो गीतमा सुरेन्द्रकै कलमको निब तिखारिएको छ । यही चलचित्रको अर्को डान्सिङ गीत ‘कालो चस्मा लाऊ है मैंया विशालबजारको’मा तपाईं पक्कै नाचेकै हुनुपर्छ । यो गीत पनि सुरेन्द्रकै शब्दले सिंगारिएको छ ।
रमेश उप्रेती र निरुता सिंह नाचेको ‘माइली’ चलचित्रको ‘जाऔं न ठमेलमा’देखि ‘कति आउली अग्ली भई नाच्नलाई गाह्रो भो’ गीतमा पनि सुरेन्द्रकै शब्द छ ।
‘जाऔं न ठमेलमा’को रोचक कुरा त के हो भने संगीतकार शम्भुजीत बाँसकोटाले स्वर भरेका छन् । संगीत त त्यसवेलाको अधिकांश चलचित्रमा शम्भुजीतकै हुने भयो । शम्भुजीतसँग सुरेन्द्रको चिनजान चाहिँ ‘मोहनी’ चलचित्रबाट भएको थियो । यो चलचित्रको हिट गीत ‘रसिलो अंगुर’मा यी दुई स्रष्टाले सहकार्य गरेका थिए । अनि ‘बादलपारि’को ‘कालो चस्मा लाऊ है माया’ गीतमा सहकार्य गरेका थिए ।
सुरेन्द्रको अर्को गीत त तपाईंले पक्कै सुन्नुभएकै होला, ‘छिटको सारी मखमली चोलीलाई’ ।
स्कुलका कार्यक्रमहरुमा अत्यधिक बज्ने यो गीत ‘आँखा लोभी मन पापी’ चलचित्रको हो । यस चलचित्रको पटकथा पनि सुरेन्द्रकै थियो । र, यही चलचित्रको गीत हो, ‘छिटको सारी मखमली चोलीलाई’ ।
सुरेन्द्रका अनुसार यो गीत त्यस्तो धेरै अपेक्षा गरेर बनाइएको थिएन । उनले स्क्रिप्ट लेख्दै जाँदा कथाले गीत माग्यो, अनि गीत लेखेका थिए । यो चलचित्रका अन्य गीतहरुको तुलनामा हेंला गरिएको गीत थियो, तर त्यही हेंला गरिएको गीत सर्वाधिक चल्यो ।
गीत यति धेरै चल्यो कि वरिष्ठ गायिका शर्मिला बर्देवाको केही मास्टरपिस गीतहरुको सूचीमा रहन पुग्यो ।
०००
थामेर किन छोड्यौ हातहरु
रोजेर किन तोड्यौ साथहरु
छोडेर गयौ सारा यादहरु
रोएर बिते मेरा रातहरु
यो गीतको कथा चर्चित गायिका सुनिता सुब्बासँग गएर ठोक्किन्छ । आजभन्दा ४२ वर्षअघिको २०३९ सालको कुरा हो । सुनिताले भर्खरै एसएलसी दिएकी थिइन् । गायनमा भविष्य खोज्दै थिइन् ।
रत्न रेकर्डिङ स्टुडियोले ‘खोजी प्रतिभाको’ भन्ने कार्यक्रम गर्थ्यो । सुनिताले यही प्रतियोगितामा भाग लिँदा सुरेन्द्रको यो गीत गाएकी थिइन् । यहाँ उनले दोस्रो पुरस्कार जितिन् । संगीतकार राम थापाले पनि पुरस्कार पाए । सुरेन्द्रले पुरस्कार पाए ।
यो गीत चाहिँ सुरेन्द्रले योजना बनाएर लेखेको होइन ।
संगीतकार राम थापाको डेरा बागबजारमा थियो । एक दिन सुरेन्द्र राम थापालाई भेट्न गएका थिए, तर राम थापा समयमा आएनन् । अनि सुरेन्द्रले त्यही कागजमा यो गीत लेखेर छाडेर गए ।
‘अनि दुई हप्तापछि जाँदा त गीतको ट्युनिङ भइसकेको रहेछ’, सुरेन्द्र नोस्टालजिक हुन्छन् ।
यसवेला सुरेन्द्रको सुनितासँग चिनजान थिएन । पछि उनले ‘खोजी प्रतिभाको’मा भाग लिने भएपछि सुरेन्द्रको चिनजान भयो । सुरेन्द्र सुनाउँछन्, ‘सायद उसले पहिलो पटक यही गीतको कार्यक्रममा सारी लगाएकी थिई होलिन् । तत्कालीन युवराज ज्ञानेन्द्र शाहले पुरस्कार दिने भएकाले सारी लगाएर आउनुपर्ने बताएको थियो ।’
सुरेन्द्रको अर्को गीत छ-
यो मनको के भर हुन्छ
बहकिने मात्रै डर हुन्छ
जानी जानी पनि यहाँ
भुल गर्ने रहर हुन्छ
यो त्यही गीत हो, जुन गीतले रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा दिवंगत गायक अरुण थापालाई प्रथम बनायो । गीतकारमा सुरेन्द्र प्रथम भए । यो २०३७ सालको कुरा हो । अर्थात् आजभन्दा ४४ वर्षअगाडिको ।
सुरेन्द्र भर्खरै स्नातक पढ्दै थिए । भोटेबहालमा डेरा बस्थे । लेखनमा सक्रिय थिए ।
सुरुमा सुरेन्द्र गितार बजाउँथे । यही क्रममा संगीतकार राम थापासँग उनको भेट भयो । यसपछि सुरेन्द्रको बाक्लो भेट हुन थाल्यो थापासँग । यही क्रममा गायक अरुण थापा जोडिए ।
अरुण थापाले सुरेन्द्रको गीत गाए- ‘यो मनको के भर हुन्छ’
‘त्यसवेला अरुण थापा युवा नै हुनुहुन्थ्यो । सायद मदिरा अलिअलि पिउनुहुन्थ्यो होला’, सुरेन्द्र अरुण थापालाई सम्झिँदै भन्छन्, ‘पछि उहाँको मृत्युु हुनु दुईतीन हप्ता अगाडि सिने साउन्ड रेकर्डिङ स्टुडियोमा हाम्रो भेट भएको थियो । त्यसवेला त उहाँ बिरामीले गर्दा नचिनिने भइसक्नु भएको थियो, एकदमै कालो हुनुभएको थियो ।’
साढे चार दशकदेखि सक्रिय सुरेन्द्र अहिले पनि गीत लेखिरहेका छन् । भर्खरैमात्र ‘परालको आगो’ नामक चलचित्रको गीत लेखेर सकाए । रेडियो नेपालबाट ४०० पारिश्रमिक पाएका सुरेन्द्र अहिले १५-२० हजार पारिश्रमिक लिन्छन् ।
सय बढी गीत लेखिसकेका सुरेन्द्र भन्छन्, ‘गीतमा थिम मुख्य कुरा हो । थिमअनुसार गीतका शब्दहरु फुर्ने हुन् ।’