शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग – Nepal Press

शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापनाको माग गरिएको छ । वडा नं ७, ८ र ६ लाई समेटने गरी प्रहरीचौकी स्थापना गर्न स्थानीय बासिन्दाले माग गरेका हुन् ।

“चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापना हुन जरुरी छ”, शुक्लाफाँटा-७ का वडा सदस्य केशव ठगुन्नाले भने, “चार बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो ।” पायक पर्ने ठाउमा प्रहरीचौकी स्थापना हुनुपर्ने उहाँको भनाइ रहेको छ ।

शुक्लाफाँटा-१२ का वडाध्यक्ष नवलसिंह रानाले वडा नं १ मा स्थापना गरिएको प्रहरीको अस्थायी पोष्टलाई स्थानान्तरण गरी वडा नं १ र १२ को बीचमा पर्ने गरी राख्नुपर्ने सुझाव दिए ।

स्थानीय बासिन्दाको मागलाई मध्यनजर गर्दै वडा नं ७ र ८ का बीचमा प्रहरीचौकी राख्ने बारे नगरकार्यपालिकाबाट निर्णय गरी जिल्ला सुरक्षा समितिमा पठाइएको नगर प्रमुख रणबहादुर महराले बताए ।

“प्रहरीचौकीको त्यस ठाउँमा निकै आवश्यक छ”, उनले भने, टाढाको क्षेत्र भएकाले प्रहरी पुग्न निकै समय लाग्छ, त्यस बेलासम्म अपराध गर्नेहरु फरार हुन्छन, शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीचौकीको अत्यन्त खाँचो छ ।”

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीचौकी राख्नेबारे जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरेर गृह मन्त्रालयमा पठाइएको बताए। उनले वडा नं १ र १२ मा प्रहरी पोष्टलाई स्थानान्तरण गरेर राख्नुपर्नेबारे बुझेर कार्य अगाडि बढाइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *