दुर्गेशको गीत रिलिज अगाडि नै चर्चामा, समीक्षाले पनि बनाइन् टिकटक
‘दुश्मन हेरेको हेर्यै’ बोलको गीतको म्युजिक भिडिओमा इभा गिरी अनुबन्धित


काठमाडौं । गायक दुर्गेश थापाको एउटा गीतले रिलिज अगावै दर्शक/स्रोताको ध्यान तानिएको छ । गीतको सानो टुक्रामा हजारौंले टिकटक भिडिओ बनाइसकेका छन् ।
‘हाम्रो दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै’ बोलको गीतमा दुर्गेश र एलिना चौहानले स्वर दिएका छन् । थप एक गायिकाको पनि स्वर रहेको छ, जसको नाम ‘डिस्क्लोज’ गरिएको छैन । गीतको म्युजिक भिडिओ सुटिङ पनि हुन बाँकी छ । भिडिओमा हालै भाइरल मोडल इभा गिरीलाई अनुवन्धित गरिएको बुझिएको छ ।
दुर्गेशले दुई दिनअघि सो गीतको सानो टुक्रा टिकटकमा हालेका थिए । अहिले त्यही टुक्रामा धेरैले टिकटक बनाइरहेका छन् । अहिलेसम्म ४ हजारभन्दा बढीले टिकटक बनाइसकेको दुर्गेशले जानकारी दिए ।
यसमा टिकटक बनाउनेको सूचीमा गायिका एलिना चौहाना र समीक्षा अधिकारीसमेत छन् ।
आफूले पनि गाएको हुँदा एलिनाले टिकटक बनाउनु त स्वभाविकै हो । तर, समीक्षाको टिकटकले भने धेरैको कौतुहल बढाएको छ । दुर्गेशले ‘डिस्क्लोज’ नगरेकी गायिका कतै उनी त होइनन् भन्ने पनि कतिपयले अनुमान लगाउन थालेका छन् ।
पल शाह र समीक्षाबीचको काण्डमा दुर्गेश पनि मुछिएका थिए । समिक्षालाई उक्साएको भन्दै पलका फ्यानहरु दुर्गेशविरुद्ध खनिएका थिए । तर, दुर्गेशले प्रहरी र अदालतमा पलको विरुद्धमा कुनै बयान दिएनन् । हालै एक अन्तरवार्तामा पलले दुर्गेशसँग अहिले राम्रो सम्बन्ध रहेको बताएका छन् ।