एनपीएलमा कर्णालीका ‘सरप्राइज प्याकेज’ – Nepal Press

एनपीएलमा कर्णालीका ‘सरप्राइज प्याकेज’

८ खेलमा लगातार विकेट, बेन कटिङदेखि जिम्मी निसमसम्मलाई शिकार बनाए

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो प्ले अफमा कर्णाली याक्सका बलरहरुविरुद्ध हावी भइरहेका थिए जनकपुर बोल्ट्सका जिम्मी निसम । खेल लगभग कर्णालीको हातबाट फुकिँदै थियो ।

१६ औं ओभरमा कप्तान सोमपाल कामीले १६ वर्षिय स्पिनर विपिन शर्मालाई बल थमाए । त्यसबेला जनकपुर बोल्ट्सलाई जितका लागि ३० बलमा ३० रन चाहिएको थियो भने हातमा ५ विकेट सुरक्षित थिए । जिमी निसमको ब्याटले आगो ओकलिरहेको बेलामा जनकपुरले जित नजिकै देखिरहेको थियो ।

विपिनको पहिलो बलमा मयन यादवले एक रन निकाल्दै निसमलाई स्ट्राइकमा ल्याए । दोस्रो बलमा निसमले विपिनमाथि आक्रामक सट खेल्दै चौका प्रहार गरे । दवावमा परे विपिन ।

तर, लगत्तैको बलमा निसम बोल्ड भए । विपिनले अफ साइडमा फ्याकेको बल ब्याटको अन्डरएजमा लागेर स्टम्पमा ठोक्किन पुग्यो । निसम स्तब्ध देखिए । क्रिजमा थचक्कै बसे । कर्णाली खेलमा फर्कियो ।

सोही ओभरको अन्तिम बलमा विपिनलाई अर्को सफलता मिल्यो । उनले मोहम्मद मोसिनलाई एलबीडब्लु धरापमा पारे । जनकपुर बोल्ट्स लक्ष्यबाट २३ रन टाढा हुँदा सातौ विकेट गिर्यो । खेल कर्णालीको पक्षमा ढल्कियो ।

कर्णालीले खेल जित्न सकेन । तर, विपिनको प्रदर्शनले सबैको मन जित्यो । उनले आजको खेलमा ४ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएका छन् । आज मात्र होइन, प्रतियोगिताभरि नै विपिनको प्रदर्शन उत्कृष्ट छ । उनले प्रतियोगितामा आठवटा म्याच खेल्दा कुनै पनि पनि विकेटविहीन रहनु परेन । कूल १३ विकेट लिएका उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा चौंथो नम्बरमा छन् ।

प्रतियोगिताभरि उनले केवल ५.८९ को औसतमा रन खर्चिए । ठूला नाम भएका थुप्रै विदेशी खेलाडी यी अपरिचित किशोरको शिकार बनेका छन् ।

कर्णालीले खेलेको दोस्रो खेलमा काठमाण्डु गुर्खाज विरुद्ध विपिनले पहिलो मौका पाएका थिए । सो खेलमा उनले ४ ओभरमा १८ रन मात्र खर्चेर काठमाडौंका ओपनर मिचेल लेभिटलाई आउट गरे । त्यसपछि उनले बाँकी खेलमा वेञ्चमा बस्नु परेन ।

चितवन राइनोजविरुद्धको दोस्रो खेलमा उनले तीन विकेट लिँदै टिमलाई पहिलो जित दिलाउन प्रमुख भूमिका खेले । सो म्याचमा निकोल लफ्टी इटन, सोहेल तनवीर र अमर रौटेला उनको स्पिन जालमा परेका थिए । तनवीर र रौटेलालाई उनले बोल्ड गरिदिएका थिए । खेलमा उनले प्लेयर अफ द म्याचको पुरस्कार पाए ।

विराटनगरविरुद्धको तेस्रो खेलमा विपिनले विष्फोटक ओपनिङ जोडी मार्टिन गुप्टिल र लोकेश बमको विकेट लिए । सो खेलमा उनले ४ ओभरमा २० रन मात्रै खर्चिएका थिए । पोखराविरुद्धको खेलमा विपिन केही खर्चिला बने, तर एन्ड्रयू गोउसको सबैभन्दा महत्वपूर्ण विकेट लिन सफल भए ।

दुई ओभर बलिङ गर्दा उनले २१ रन खर्चिएका थिए । लुम्बिनी विरुद्ध ४ ओभरमा २५ रन खर्चेका विपिनले अष्ट्रेलियन दिग्गज ब्याटर बेन कटिङको महत्पूर्ण विकेट लिए ।

लिग चरणको अन्तिम खेलमा सुदुरपश्चिमविरुद्ध विपिनले ३ ओभरमा २२ रन खर्चिँदै ओपनर विनोद भण्डारीलाई शिकार बनाए । इलिमिनेटरमा पनि उनले चितवनका कप्तान कुशल मल्लको विकेट लिँदै खेललाई कर्णालीको पक्षमा मोडेका थिए ।

ट्यालेन्ट हन्टले दिएको ‘हिरा’

ट्यालेन्ट हन्टबाट सबै फेन्चाइच टोलीले एकएक खेलाडी भित्राउने प्रावधानअनुसार कर्णालीको आइकोनिक प्लेयरको रूपमा विपिन एनपिएलमा भित्रिएका हुन् । लोकल खेलाडी भित्राउनुपर्ने प्रावधानले सोही प्रदेशका विपिन कर्णालीले टिममा भित्र्याएको हो । एनपीएल खेल्नुभन्दा अगाडि उनी खासै परिचित थिएनन् ।

पहिलो खेलमा कर्णालीले उनलाई बेन्चमा राखेको थियो । दोस्रोमा काठमाडौँ गुर्खाजविरुद्ध स्पिनर मौसम ढकाललाई रिप्लेस गर्दै उनर्लाइ स्थान दिइयो । त्यसपछि भने उनले बेन्चतिर फर्केर हेर्नुपरेन ।

प्रतियोगितामा ललित राजवंशी बाहेक अन्य बायाहाते स्पिनर खासै चल्न नसक्दा १६ वर्षीय किशोरले विशाल सम्भावना देखाएका छन् । यो नेपाली क्रिकेटकै लागि सुखद समाचार हो । उनले सम्भवतः राष्ट्रिय टोलीमा स्थान बनाउने खेलाडीको रुपमा हेरिएको छ ।

भाग्यमानी पनि हुन् विपिन । यति कम उमेरमा विश्वभरका दिग्गज खेलाडीहरु रहेको प्रतियोगितामा अवसर पाए । आफ्नो उमेर जति भारतबाट क्रिकेट खेलेका शिखर धवनसँग ड्रेसिङ रुम सेयर गरे ।

विगतदेखि नै नेपाली राष्ट्रिय टोलीमा बायाँ हाते स्पिनरको खासै अभाव देखिँदैन ।

शक्ति गौचन, वसन्त रेग्मीदेखि ललित राजवंशी, सागर ढकालले राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यसकारण विपिनलाई राष्ट्रिय टोलीमा स्थान बनाउन सहज पक्कै हुने छैन । तर, अन्य प्रतियोगितामा पनि यही स्तरको प्रदर्शनलाई निरन्तरता दिएमा उनले राष्ट्रिय टोलीको ढोका खोल्नबाट कसैले रोक्न सक्दैन ।

विपिन स्वयम् भने अहिले आफूलाई ठुलो ‘हाइट’ नदिन आग्रह गर्छन् । एक प्रतियोगितामा चम्केर हराउने खेलाडी बन्न नचाहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘म सबैलाई भन्न चाहन्छु यति छिटो मलाई हाटइ नदिए हुन्छ । प्रोसेस हो । धेरै खेलाडीहरू पहिलो सिजनमा आउँछन्, चम्किन्छन् अनि हराउँदै जान्छन् । म त्यो खेलाडी बन्न चाहन्न । म स्टेप बाइ स्टेप जान चाहन्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *