औद्योगिक व्यापार मेला कि पुस सेल गर्ने ‘ट्रेड फेयर’ ? – Nepal Press

औद्योगिक व्यापार मेला कि पुस सेल गर्ने ‘ट्रेड फेयर’ ?

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने नारासहित औद्योगिक व्यापार मेला २०८१ बुटवलमा सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न हुन गैरहेको यो मेला २४औं संस्करण हो । खुशीको कुरा यसपटकको प्रदर्शनी ६ बिगाहा क्षेत्रफलमा फैलिएको व्यवस्थित अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बुटवल मण्डपमा हुँदैछ । बुटवलमा यसखालको मेलाको परम्परा सुरु गर्ने श्रेय बुटवल उद्योग वाणिज्य संघलाई जान्छ । राजधानी बाहिर पहिलो पटक बुटवल उद्योग वाणिज्य संघले विसं २०४१ सालमा औद्योगिक प्रदर्शनी मेला आयोजना गरेको थियो । त्यसपछि २०५६ सालदेखि यस्तो व्यापार मेला गर्दै आएको छ ।

उद्योग, कलकारखाना र व्यापार, व्यवसाय एउटै होइनन् । उस्तैउस्तै व्यवसायहरुको समूह नै वास्तवमा उद्योग हो । यिनीहरु प्रत्यक्ष रुपमा वस्तु र सेवाको उत्पादनसँग जोडिएका हुन्छन् । जस्तोः पर्यटन उद्योग, उत्पादनमूलक उद्योग कृषि उद्योग, सिमेन्ट उद्योग आदि । व्यापाररवाणिज्य अर्थात् ट्रेडिङ खास गरेर उपभोक्ता र उपभोक्तालाई औद्योगिक उत्पादनसँग जोड्ने माध्यम हुन् । मेलाको माध्यमबाट औद्योगिक उत्पादनको प्रचारप्रसार र प्रवर्द्धन हुन्छ । औद्योगिक उत्पादनहरुको ब्रान्ड चेतना बढाउँछ, सम्भावित ग्राहकहरुसँग प्रत्यक्ष साक्षात्कार हुने अवसर मिल्छ । सम्बन्ध विस्तार हुन्छ । सम्भावित उपभोक्ता, आपूर्तिकर्ता र प्रतिस्पर्धीहरुबिच नेटवर्क विस्तार हुन्छ । नयाँनयाँ वस्तु र सेवा लञ्च गर्ने अवसर हुन्छ ।

व्यापार मेला र प्रदर्शनीहरु एकल व्यापार तथा सामूहिक व्यवसाय प्रवर्द्धन गर्ने प्रभावकारी माध्यम हुन् । औद्योगिक मेला र प्रदर्शनीहरु उद्योग र व्यवसायको ग्राहक आधार विस्तार गर्ने माध्यम पनि हुन् । यसबाट उद्योगी, व्यवसायी र उपभोक्तालाई फाइदा पुग्छ । करोडौं रुपैयाँको आर्थिक कारोबार हुन्छ । स्थानीय अर्थतन्त्र चलायमान हुँदा मन्द व्यापार स्वतः चलायमान हुन्छ । उद्योगी र व्यवसायीलाई केही दिन व्यस्त बनाउँछ । यस्ता मेलाबाट आर्थिक मन्दीले सुस्ताएको अर्थतन्त्र उकास्न थप ऊर्जा र हौसला मिल्ने अपेक्षा गर्न सकिन्छ ।

औद्योगिक मेला र प्रदर्शनीहरु उद्योग र व्यवसायको ग्राहक आधार विस्तार गर्ने माध्यम पनि हुन् । यसबाट उद्योगी, व्यवसायी र उपभोक्तालाई फाइदा पुग्छ । करोडौं रुपैयाँको आर्थिक कारोबार हुन्छ । स्थानीय अर्थतन्त्र चलायमान हुँदा मन्द व्यापार स्वतः चलायमान हुन्छ । उद्योगी र व्यवसायीलाई केही दिन व्यस्त बनाउँछ ।

व्यापार मेला र प्रदर्शनीको परम्परा मध्ययुगीन युरोपबाट ‘स्याम्पेन फेयर’को रुपमा भएको इतिहास पाइन्छ । त्यो बेलालाई अर्थशास्त्रीहरु व्यापारिक पुँजीवाद (मर्चेन्ट क्यापिटलिज्म)को समय मान्छन् । व्यापारिक पुँजीवाद वास्तवमा आर्थिक र सामाजिक प्रणालीको रुपमा पुँजीवादको प्रारम्भिक चरण हो । जसले सामान्य रुपमा सस्तो बजारबाट वस्तुहरुलाई महँगो बजारमा स्थानान्तरण गर्थ्यो ।

विश्व दृष्टिकोणबाट हेर्दा यतिबेला हामी २१औं शताब्दीको पुँजीवादमा छौं । यातायात र सूचना प्रविधि तथा सञ्चारमा भएको अभूतपूर्व विकासले विश्वव्यापीकरण तीब्र रुपमा भैरहेको छ । विदेशी वस्तु र प्रविधिसँग प्रतिस्पर्धा गर्न हाम्रा रैथाने प्रविधि, सीप, ज्ञान र वस्तुलाई निकै अप्ठेरो परिरहेको सन्दर्भमा तिनीहरुलाई प्राथमिकतामा राखेर प्रवर्द्धन गर्ने हेतुले आयोजना हुने यस्ता प्रदर्शनीको आफ्नै महत्व हुन्छ ।

आजकल हरेक वर्ष देशव्यापी रुपमा औद्योगिक व्यापार मेला, प्रदर्शनी, कृषि मेला आयोजना गर्ने प्रचलन जस्तो भएको छ । आन्तरिक बजार प्रवर्द्धन, कृषिमा आधुनिकीकरण गर्ने, स्वदेशी उत्पादनको प्रयोग बढाउने, आधुनिक विदेशी प्रविधि सिकाउने उद्देश्य राखिएको हुन्छ । त्यस्तै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने महत्वपूर्ण अवसर पनि, तर यथार्थमा यी उपलब्धिहरु विगतमा कति हासिल भए ? उद्देश्य कति सफल भयो ? लेखाजोखा हुनुपर्दछ । अन्यथा बिरालो बाँधेर गरिने श्राद्ध जस्तो कर्मकाण्डीमात्र हुन्छ । त्यस्तै भए गरेका छन् विगतका श्रृंखलाहरु ।

औद्योगिक उत्पादन, सेवाहरुको प्रदर्शन, कृषि मेला, घरेलु वन पैदावार, जडिबुटी, लघु उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी गर्नु मेलाका महत्वपूर्ण कार्यहरु हुन्, उपलब्धिहरु हुन् । मेलाले उत्पादक, व्यापारी र उपभोक्ताको बिचमा पुलको काम गर्दछ, तर हरेक वर्ष उस्तैउस्तै खालका कार्यक्रम, गतिविधिको पुनरावृत्ति हुँदा दर्शक र अवलोकनकर्ताको आकर्षण घट्दै गएको देखिन्छ ।

व्यापार मेला र प्रदर्शनीको परम्परा मध्ययुगीन युरोपबाट ‘स्याम्पेन फेयर’को रुपमा भएको इतिहास पाइन्छ । त्यो बेलालाई अर्थशास्त्रीहरु व्यापारिक पुँजीवाद (मर्चेन्ट क्यापिटलिज्म)को समय मान्छन् । व्यापारिक पुँजीवाद वास्तवमा आर्थिक र सामाजिक प्रणालीको रुपमा पुँजीवादको प्रारम्भिक चरण हो ।

मोटरसाइकल कुदाएर, पिङ्ग खेलाएर, विभिन्न सर्कस र जादु देखाएर, कलाकारको नाममा करोडौं रकम खर्च गरेर दर्शक त तान्न सकिएला, तर उद्यम र व्यापारको प्रवर्द्धन कसरी होला ? कहाँ हुन्छ त स्थानीय उत्पादनको बजारीकरण ? प्रश्न स्वाभाविक रुपमा उठ्छ । वास्तवमा उद्योग वाणिज्य संघसंस्थाहरुले व्यवसायीहरुलाई हौसला दिने र नयाँनयाँ योजना ल्याएर लगानी गर्ने वातावरण बनाउने अवसरको रुपमा मेला महोत्सवलाई लिनुपर्दछ । अनिमात्र समृद्धि हुन्छ देशमा ।

समृद्धि नाराले मात्र प्राप्त हुँदैन । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ मूल नारा छ मेलाको । समृद्धि हामी सबै नेपालीको चाहना र आशा हो । समृद्धि विकास प्रयासको उच्चतम प्राप्ति हो । संक्षेपमा ‘समृद्धि’ शब्दले व्यक्तिको सम्पन्नतालाई जनाउँछ । यो सम्पन्नता विशेषगरी आर्थिक क्षेत्रसँग बढी सम्बन्धित रहे तापनि बृहत अर्थमा समृद्ध भन्नाले सम्पूर्ण सरसुविधायुक्त, कुनै कुराको पनि अभाव नरहेको अवस्था हो । समृद्ध नेपाल निर्माण आफैं हुँदैन । उद्यमी समाज निर्माण गर्नुपर्दछ । देशका कुनाकाप्चामा आर्थिक विकासका आधार सिर्जना गर्नुपर्दछ । त्यसका लागि व्यवसायिक र औद्योगिकलगायत आर्थिक जगतको अतुलनीय योगदान अपरिहार्य हुन्छ ।

मेलाको विगतका श्रृंखलाहरु र अहिलेको अवस्था हेर्दा गतिविधिहरु त्यो दिशामा गइरहेको देखिँदैन । लगानी आकर्षण गर्ने ठोस कार्यक्रम हुनुपर्दछ । नभए मेला मेलामा मात्र सीमित हुनेछन् । वार्षिक रुपमा गरिने कर्मकाण्ड मात्र हुनेछन् । रमझम गर्ने उत्सवमा सीमित हुनेछन् ।

औद्योगिक व्यापार मेलाले औद्योगिक प्रदर्शनी, कृषि प्रदर्शनी, प्रविधि प्रदर्शनी, हस्तकला प्रदर्शनीलाई जोडेको छ, तर यसरी धेरै विधा एउटै महोत्सवमा राख्दा प्राथमिकता केलाई दिने भन्नेमा अस्पष्टता हुन्छ । समावेशी बनाउने नाममा धेरै कुरा एकै ठाउँमा राख्दा उपलब्धि शून्य हुन्छ ।

औद्योगिक व्यापार मेलाले औद्योगिक प्रदर्शनी, कृषि प्रदर्शनी, प्रविधि प्रदर्शनी, हस्तकला प्रदर्शनीलाई जोडेको छ, तर यसरी धेरै विधा एउटै महोत्सवमा राख्दा प्राथमिकता केलाई दिने भन्नेमा अस्पष्टता हुन्छ । समावेशी बनाउने नाममा धेरै कुरा एकै ठाउँमा राख्दा उपलब्धि शून्य हुन्छ । एउटै र उस्तै प्रकृतिका यस्ता मेला महोत्सव नजिकनजिक त्यो पनि थोरै समयको अन्तरालमा सञ्चालन हुँदा दर्शकहरुमा उत्सुकता हुँदैन । त्यसैले प्रदेशस्तरका र जिल्लास्तरीय उद्योग वाणिज्य, व्यापारसँग सम्बन्धित संघसंगठनहरुको बिचमा समन्वय र सहकार्य गरी नदोहोरिने र इनोभेटिभ प्रकृतिका कार्यक्रम ल्याउन सकिन्छ ।

तर औद्योगिक व्यापार मेलाको मुख्य आकर्षण भनेर प्रसारण/प्रकाशन गरिने प्रवर्द्धनात्मक सामग्रीमा सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरुलाई हाइलाइट किन गरिएको होला ? नाम औद्योगिक मेला, तर प्रचारप्रसार चाहिं सांस्कृतिक मेला जस्तो ? खासमा मेलाको आकर्षण त औद्योगिक उत्पादन, सेवा, उद्यमशीलता जस्ता विषय बन्नुपर्दछ । विगतमा हुने गरेका मम्मी डान्स, रत्यौली गायनभन्दा त उद्योग, व्यवसाय, उद्यम, उद्यमशीलताका नयाँनयाँ आयामहरु खोजी गर्ने कार्यक्रम आयोजित हुनुपर्दछ ।

दुर्गेश थापा र ज्योति मगरको उत्तेजक गीत तथा नृत्यको के साइनो हुन्छ यस्ता महोत्सवमा ? विगतमा देखिने गरे जस्तो नबिकेका, स्टकमा रहेका सामानको पुस सेल्स गर्ने अवसर नहोस् यस पटकको प्रदर्शनी । स्थानीय उद्यमीका उत्पादनभन्दा विदेशी लत्ताकपडाका सामानको बाहुल्य नहोस् । यसरी मेलाले लिएको नारा साकार हुन सक्दैन ।

मोटरसाइकल कुदाएर, पिङ्ग खेलाएर, विभिन्न सर्कस र जादु देखाएर, कलाकारको नाममा करोडौं रकम खर्च गरेर दर्शक त तान्न सकिएला, तर उद्यम र व्यापारको प्रवर्द्धन कसरी होला ? कहाँ हुन्छ त स्थानीय उत्पादनको बजारीकरण ? प्रश्न स्वाभाविक रुपमा उठ्छ ।

विद्यालयस्तरीय लोक नृत्यको सट्टा उद्योग र व्यापारका क्षेत्रसँग सम्बन्धित विषय उजागर गर्ने, सुसूचित गर्ने र नयाँ पुस्तालाई उद्योग व्यापारको महत्व सिकाउने कार्यक्रम उपयोगी हुन्छ । व्यवस्थापन र वाणिज्य विषयमा उच्च शिक्षा अध्ययन गरिरहेको ठूलो युवा जमात छ बजारमा । उनीहरुले आर्जन गरेका सैद्धान्तिक सीप र ज्ञानको उजागर गर्ने प्लेटफर्म बन्नुपर्दछ यस्ता अवसर । त्यस्तै विज्ञान/प्रविधि र इञ्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले विकास गरेका नयाँनयाँ अवधारणा, नवप्रवर्तनका आविष्कारहरुलाई उद्योगीहरुले अवलोकन र अवलम्बन गर्ने अवसर हुन सके कति राम्रो हुन्थ्यो होला ? यहाँका उच्च शिक्षालय, कलेज, क्याम्पसमा वाणिज्य, व्यापार, कृषि, प्रविधि अध्ययन गर्ने विद्यार्थीहरुलाई वस्तु, बजार, व्यापारसँग सम्बन्धित अनुसन्धान पनि सँगसँगै गराउन सके मेलाको ओज अझै बढ्ने थियो ।

वाणिज्यशास्त्र अध्ययन गर्ने विद्यार्थीले अध्ययन गर्ने बजारशास्त्र, उद्यमशीलता, व्यवसायिक वातावरण, उत्पादन र सञ्चालन व्यवस्थापन, रणनीतिक व्यवस्थापन जस्ता प्रायोगिक विषयहरु त्यहाँ गएर देख्ने/हेर्ने र सिक्ने अवसर भए कति राम्रो हुन्थ्यो होला ? बौद्धिक खालका कार्यक्रमहरु जस्तै नयाँ बिजनेस आइडियासम्बन्धी प्रतियोगिता, विज्ञापन/प्रवर्द्धन गर्ने प्रतियोगिता, बिजनेस प्लान लेख्ने प्रतियोगिता, रणनीतिक योजना निर्माण गर्ने विषयमा छलफल/गोष्ठी सञ्चालन गर्नसके कति राम्रो हुन्थ्यो ।

विश्व आर्थिक जगत र औद्योगिक क्षेत्रमा व्यापक फेरबदल आइसकेको छ । चौथो औद्योगिक क्रान्ति चलिरहेको मानिन्छ अहिले, तर हामी भने अझै पनि उही व्यापारिक पुँजीवाद (मर्चेन्ट क्यापिटलिज्म)को चरणमा देखिन्छौं । यद्यपि निजी क्षेत्रका व्यवसायीहरुले लिएको यो अग्रसरता प्रशंसनीय छ । बदलिँदो विश्व परिवेश बुझ्दै ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ अर्थात ‘विश्वव्यापी सोच, व्यवहारमा स्थानीयता’ अवधारणा अवलम्बन गर्न सके आगामी संस्करणहरु थप परिस्कृत, वैज्ञानिक र परिणाममुखी हुनेछन् । वस्तुको पुस सेल गर्ने ‘ट्रेड फेयर’ (व्यापार मेला)मा मात्र सीमित नहोस् । सस्तो मनोरञ्जन वा टाइम पास गर्ने, घाम ताप्दै दोहोरी गीत सुनेर बदाम खाने मेलामात्रै नहोस् प्रदर्शनी । औद्योगिक व्यापार मेला २०८१ को सफलताको शुभकामना !

(लेखक लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका अध्यापक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *