अफ्रिकन स्वाइन फीवरको कारण सयौं बंगुर मरे – Nepal Press

अफ्रिकन स्वाइन फीवरको कारण सयौं बंगुर मरे

हेटौँडा । मङ्सिरको बिचबाट सुरु भएको अफ्रिकन स्वाइन फीवरको प्रकोपले मकवानपुरको हेटौँडा क्षेत्रमा पालिएका करिब १३० वटा बङ्गुर मरेका छन् । फीवरको कारण हेटौँडा-१, १, ११ र १७ नम्बर वडामा व्यवसायिक रूपमा पालिएका बङ्गुर मरेका हुन् ।

मरेका बङ्गुर मध्य हेटौँडा १७ को बंगुरमा फीवर पुष्टि भैसकेको र बाकीको नमुना परीक्षणको लागि काठमाडौँमा रहेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको छ ।

हेटौँडा-१ जरुवा टोलमा व्यवसायीक बङ्गुर पालन गरिरहेका आधुनिक कृषि पशुपन्छी तथा माछा फर्मका सञ्चालक सूर्य अधिकारीको फर्मामात्र अहिलेसम्म ९० वटा बङ्गुर मरिसकेको र अन्य केहीमा समस्या रहेको पाइएको छ ।

गत हप्ताबाट उच्च ज्वरो, बान्ता हुने, शरीरमा निलो दाग देखिने, खाना नखाने र अन्त्यमा मृत्यु हुने गरेको अधिकारीले बताए । आफूहरूले स्थानीय चिकित्सकको सल्लाह बमोजिम औषधी उपचार गरिरहेको तर मर्ने क्रम नरोकिएको उनको भनाई छ । चिकित्सकले अफ्रिकन स्वाइन फीवरको सम्भावना रहेको बताएपछि नमुना परीक्षणको लागि काठमाडौँ पठाएको उनले बताए ।

पशुसेवा कार्यालय मकवानपुरले पनि पछिल्लो समय अफ्रिकन स्वाइन फीवरको कारण बङ्गुर पालक किसान मारमा परेको जनाएको छ ।

हेटौँडा-१ को उक्त फर्ममा पनि स्वाइन फीवरनै हुनसक्ने चिकित्सक विजय पौडेलको भनाइ छ । मरेका बंगुरको लक्षण अफ्रिकन स्वाइन फीवरसँग मिल्दोजुल्दो रहेको भन्दै नमुना परीक्षणको लागि पठाइएको पौडेलको भनाई छ ।

अफ्रिकन स्वाइन फीवरले मकवानपुरमा प्रत्येक वर्ष बङ्गुर पालक किसानलाई पिरोल्ने गरेको छ । कार्यालयले कृषकहरूलाई यो समय उक्त संक्रमणबाट आफ्ना जनावर बचाउन उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *