पत्रकार देउजामाथि आक्रमणको आरोपमा रास्वपाका वडा सभापति पक्राउ
काठमाडौं । पत्रकार सन्तोष देउजामाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता पक्राउ परेका छन् ।
रास्वपा भरतपुर १२ का सभापति समेत रहेका दिपक सेढाईँलाई हिजो राती उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रास्वपा सभापति रवि लामिछाने चितवन प्रहरीको हिरासतमा हुँदा पार्टीले गरेको आन्दोलनको रिर्पोटिङका क्रममा कपुरबोट मिडियाका सञ्चालक समेत रहेका देउजामाथि भौतिक आक्रमण भएको थियो ।
यो घटनाको भत्र्सना गर्दै पत्रकार सम्बद्ध संघ संगठनहरुले कुटपिटमा संलग्नमाथि कारवाहीको माग गरेका थिए । रास्वपाका सहप्रवक्ता मनिष झा र जिल्ला समितिले आफनो आन्दोलनमा घुसपैठ भएको भएको भन्दै पत्रकारमाथि आक्रमण गर्ने समूहलाई कार्वाही गर्न सघाउने बताएको थियो ।
पत्रकार देउजाले जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै वडा सभापति सेढाईँलाई पक्राउ गरिएको बताएको छ । यो घटनामा जोडिएका अन्य व्यक्तिहरुको खोजी भईरहेको प्रहरी प्रवक्ता भेषराज रिजालले बताएका छन् ।