नेपाल प्रहरीका २ जना डीआईजी एआईजीमा बढुवा, बोहोरा ९ दिनका लागि एआईजी
काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा प्रहरीका दुई जना डीआईजीलाई एआईजी बढुवा गरेको हो ।
डीआईजीबाट एआईजी बढुवा हुनेमा प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत दुर्गा सिंह र प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा दरबन्दी रहेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय कार्यरत भरतबहादुर बोहोरा रहेका छन् ।
मंसिर २८ गते गृह सचिव गोकर्णमणी दुवाडीको संयोजकत्वमा रहेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा सिंह र दोस्रो नम्बरमा बोहोरालाई बढुवाका लागि सिफारिस गरेको थियो ।
एआईजी बोहोरा यहि पुष १४ गते ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् भने सिंह प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँगै आगामी चैत ५ गते अनिवार्य अवकाशमा जानेछन् ।