राजनीतिले पेचिलो बनाउँदै जात र छुवाछूत प्रथा – Nepal Press

राजनीतिले पेचिलो बनाउँदै जात र छुवाछूत प्रथा

विभेद जुनसुकै नाममा होस्, अत्यन्त पीडादायी हुन्छ । मानिसले मानिसलाई आफूसरह नठान्नु, जन्मको आधारमा चरम विभेद गर्नु र जन्मजात नछुने बनाउनु जघन्य कार्य हो । यस्तो सामाजिक परम्परा फेरेर मानिसका रूपमा सबै मानिस समान भएको अनुभूति गर्न सकिने समाजिक अवस्था निर्माण गर्नु हरेक सचेत मानिसहरूको अहम् कर्तव्य हो । सामाजिक विभेद हटाउन कुनै समुदायले नेतृत्व गरेको होला, गर्नुपर्दछ, तर यो विषय सबै समुदायको साझा विषय बन्नुपर्दछ । विभेदको खाडल कायमै रहँदा जोसुकै पनि त्यसमा पर्न सकिन्छ । सामाजिक आँगन सम्म हुँदा नै सबैका लागि अनुकूल हुन्छ ।

अहिलेसम्म पनि छुवाछूतको विभेदविरुद्ध लडिरहनुपर्ने अवस्था कसैका लागि पनि सुखद हुन सक्दैन । समृद्ध नेपाल र सुखी नेपालीका लागि उच्चस्तरको सोच, चिन्तन र अभियान चलाउनुपर्ने समयमा आपसमा छुन-छोइन पाउनुपर्ने अधिकारका लागि लड्नुपर्ने अवस्था रहनु सबैका लागि दुर्भाग्यपूर्ण विषय हो, तर यसका लागि हाम्रा प्राचीन प्रवन्धहरूलाई सरापेर निकास खोज्नुहुँदैन, तिनलाई इतिहासको दराजमा थन्क्याएर, सन्दर्भ सामग्रीका रूपमा राखेर नयाँ बुझाइका साथ अघि बढ्नुपर्ने हुन्छ । छुवाछूत सामाजिक व्यवस्था हो, यो धार्मिक-वैदिक विषय होइन । शासक वर्गले सकारात्मक प्रवन्धहरूको अपव्याख्या गरेर यसलाई धर्म-धर्मशास्त्रसँग जोडेर पेचिलो बनाएका हुन् ।

हो, अधिकार र कर्तव्यको मात्रा मिलेन भने सुशासन कायम रहन सक्दैन, तर छुवाछूतका सन्दर्भमा यस्ता कुनै सर्तको कुनै अर्थ छैन । त्यसैले हरेक व्यवस्थाले अधिकार र कर्तव्यको ख्याल गर्नुपर्दछ । अहिले यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरू बनेका छन्, तर कल्पना गरौं त ! जतिबेला अहिलेको जस्तो राज्य व्यवस्था थिएन, प्रशासन थिएन, प्रहरी थिएन, न्यायिक निकाय थिएन, त्यति बेलाको समाजलाई व्यवस्थित पार्न कति गाह्रो परेको हुँदो हो ? हामीले अहिले बनाएका, विकास गरेका व्यवस्थापनका नीतिनियम, प्रावधानहरू स्वतः बने-बनाइएका होइनन्, यिनका आधार हाम्रा पुर्खाबाट अभ्यास गरिँदैआएका प्रावधानहरू हुन् । यी आधारहरूका पनि आधार वेद, उपनिषद्, नीतिशास्त्रहरू, पुराणहरू हुन्, जसलाई प्राचीन प्रवन्धहरू भन्न सक्दछौं, जसलाई श्रुति र स्मृति भन्ने गरिएको छ ।

अहिले हामी सुशासन, अधिकार, न्यायका कुरा गर्दछौं । यी विषयहरू व्यवस्थापनसँग सम्बन्धित विषय हुन् । व्यवस्थापन राज्यको मुख्य दायित्व हुन्छ । व्यवस्था भनेको विधान वा प्रावधान, नीति, सिद्धान्त हो भने व्यवस्थापन भनेको नीति, विधि, सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्नु हो । त्यसैले हरेक व्यवस्थालाई सुदृढ र उत्तरदायी बनाउन व्यवस्थापनको महत्वपूर्ण भूमिका हुने गर्दछ ।

छुवाछूत सामाजिक व्यवस्था हो, यो धार्मिक-वैदिक विषय होइन । शासक वर्गले सकारात्मक प्रवन्धहरूको अपव्याख्या गरेर यसलाई धर्म-धर्मशास्त्रसँग जोडेर पेचिलो बनाएका हुन् ।

आधुनिक तथा लोकतान्त्रिक राज्य व्यवस्थामा त मानिसहरूलाई मात्र नभई राज्यकै अङ्गहरू समेतको कार्यविभाजन गरिएको हुन्छ, जसलाई शक्ति पृथकीकरण भनिन्छ । यसअनुसार विधायिकी-व्यवस्थापिकीय अधिकार संसदमा, प्रशासकीय-व्यवस्थापकीय अधिकार सरकारमा र न्यायिक अधिकार न्यायपालिकामा रहेको हुन्छ । यिनीहरूका आआफ्ना कार्यक्षेत्र र क्षेत्राधिकार हुन्छ । यसरी लोकतान्त्रिक व्यवस्थामा नियन्त्रण र सन्तुलन मिलाइएको हुन्छ । कसैबाट क्षेत्राधिकार उल्लङ्घन हुँदा सन्तुलन गुम्छ । सन्तुलन गुमेपछि दुर्घटना हुन्छ, चाहे सवारीसाधन होस् वा राजनीतिक सत्ता वा सामाजिक व्यवस्था होस् ।

यसै क्रममा धर्म, ईश्वर, देवीदेवता, स्वर्ग, पाप, नर्कका विषय प्रकट भएका हुन् । यी अनायासै भएका होइनन्, यिनको आवश्यकता र औचित्य नबुझेका केही मानिसहरू प्राचीन प्रवन्ध र यसका व्यवस्थापनका विषयलाई विभेदकारी, शोषणयुक्त, अन्धविश्वास आदि भन्ने गर्दछन् । यस्तो धारणा र दृष्टिकोण पूर्ण सत्य छैनन् । खासगरी वर्ण व्यवस्थाका सन्दर्भमा यस्ता विषय उठ्ने-उठाइने गरेको पाइन्छ ।

कतिपय मानिसहरूले जातजाति र वर्णलाई एउटै डोको-डालोमा राखेर बोक्ने र एउटै तराजुमा राखेर जोख्ने पनि गर्दछन् । हामी के कुरामा स्पष्ट हुन आवश्यक छ भने जाति र वर्ण एउटै होइन, जात व्यवस्था र वर्ण व्यवस्था एउटै होइन । यसका आधार ग्रन्थहरू र प्रवन्धहरू हेर्दा धेरै कुरा स्पष्ट हुन सकिन्छ ।

जात संस्कृत भाषा व्याकरणअनुसार जात भनेको जन्मनु वा हुनु भनिएको हो । प्राचीन प्रवन्धशास्त्रका रूपमा मानिएको मनुस्मृतिमा चार जात भनेर ‘अण्डज, उद्भिज, जरायुज र स्वेदज’का रूपमा वर्गीकरण गरिएको छ । यसलाई यसरी थप स्पष्ट पार्न सकिन्छ- अण्डज भनेको अण्डाबाट जन्मने, उद्भिज भनेको उम्रने (उम्रेर हुने), जरायुज भनेको सालनालसहित जन्मने र स्वेदज भनेको पसिना तथा गुम्सिएको फोहोर ठाउँमा उत्पन्न हुने । यसै व्यवहारमा हेर्दाखेरि देखिने विषयलाई पनि उदाहरणका रूपमा लिन सकिन्छ । जस्तैः अग्रज, वंशज, पूर्वज आदि शब्दको अन्त्यमा रहेका ‘ज’ले के जनाउँछ ? स्पष्ट छ- अग्रज भनेको पहिले जन्मेको, पूर्वज भनेका पहिले जन्मेका पुर्खा र वंशज भनेको जन्मको नाता रहेको । यसरी हेर्दा ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र जात नभई वर्ण हो । सामान्य अर्थमा तीती वर्णबाट जन्मेको हुनाले जात अर्थ लागेकोमात्र हो ।

कतिपय मानिसहरूले जातजाति र वर्णलाई एउटै डोको-डालोमा राखेर बोक्ने र एउटै तराजुमा राखेर जोख्ने पनि गर्दछन् । हामी के कुरामा स्पष्ट हुन आवश्यक छ भने जाति र वर्ण एउटै होइन, जात व्यवस्था र वर्ण व्यवस्था एउटै होइन । यसका आधार ग्रन्थहरू र प्रवन्धहरू हेर्दा धेरै कुरा स्पष्ट हुन सकिन्छ ।

वर्णको सम्बन्धमा श्रीमद्भगवद् गीतामा श्रीकृष्ण र अर्जुनको संवादमा श्रीकृष्णद्वारा भनिएको यो अंश महत्वपूर्ण छ- ‘चातुर्वण्यं मया सृष्टं गुणकर्मविभागशः अर्थात् हे अर्जुन, गुण र कर्मको आधारमा मैले चार वर्णमा बाँडिएका मानिसहरू बनाएको छु ।’

अन्यत्र पनि भनिएको छ, जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षेत्री, वैश्य शूद्र हुँदैन । जस्तैः जन्मना जायते शूद्र कर्मणाद्विज उच्यते अर्थात् जन्मँदा सबै शूद्र नै जन्मेका हुन्छन्, कर्मका आधार उनीहरू द्विज कहलिन्छन् । थप स्पष्ट पारौं- ‘द्वि’ भनेको दुई पटक, ‘ज’ भनेको जन्मनु, जन्मने वा जन्मेको । मानिस पहिलो पटक प्राकृतिक रूपमा आमाको कोखबाट जन्मिन्छ, दोस्रो पटक कर्मबाट जन्मिन्छ ।

अथर्ववेदको यो प्रसङ्गले वर्ण पनि पाँच प्रकारको रहेकोतर्फ सङ्केत गरेको छः

‘यस्यामन्नं व्रीहियवौ यस्या इमाः पञ्चकृष्टयः । भूम्यै पर्जन्यपत्न्यै नमोद्रस्तुवर्षमेदसे अर्थात् जसमा धान, गहुँ, जौ आदि अन्न प्रशस्त हुन्छ, जहाँ पाँच किसिमका (विद्वान, वीर, व्यापारी, शिल्पी र सेवक) मानिस आनन्दले रहन्छन्, जुन भूमिमा निश्चित समयमा झरी परेर अन्न फल्छ, जसलाई झरीले पोसेको छ, त्यस मातृभूमिलाई हाम्रो नमस्कार छ ।’ यसरी हेर्दा जात र वर्ण फरक हो भन्ने त बुझिन्छ नै । यो पनि चार नभएर पाँच सङ्ख्यामा रहेको स्पष्ट हुन सकिन्छ ।

नेपाली समाजमा जातीय विभेद छ भनिरहन पर्दैन । कुनै विषय कुनै कालखण्डमा स्थापित भयो भने त्यसको अस्तित्व चिरकालपर्यन्त रहिरहन्छ । अहिले अस्तित्वमा रहिरहेका पद्धतिहरू कुनै समयको आवश्यकताले विकसित भएका हुन् । यस्तो आवश्यकता कहिले खास शक्तिशालीहरूको रह्यो होला र कहिले समग्र समाजको पनि रहेको हुनसक्दछ । पद्धति जस्तोसुकै होस्, सहजै स्थापित भएको हुँदैन र बनेका पद्धतिहरू पनि सहजै विस्थापित हुँदैनन् । विभेदका रूपमा होस् वा पहिचानको रूपमा, जातीय विषय संसारका सबै ठाउँमा छन् । जातीय विविधता र विभेद फरक विषय हुन् । विविधता प्राकृतिक हो भने विभेद सामाजिक हो । विभेद कृत्रिम हुने हुँदा यस विषयलाई फरक दृष्टिकोणसहित बुझ्न आवश्यक छ ।

जन्मँदा सबै शूद्र नै जन्मेका हुन्छन्, कर्मका आधार उनीहरू द्विज कहलिन्छन् । थप स्पष्ट पारौं- ‘द्वि’ भनेको दुई पटक, ‘ज’ भनेको जन्मनु, जन्मने वा जन्मेको । मानिस पहिलो पटक प्राकृतिक रूपमा आमाको कोखबाट जन्मिन्छ, दोस्रो पटक कर्मबाट जन्मिन्छ ।

नेपालमा (अन्यत्र नभएको होइन) जातीय विषय अपहेलनापरक विभेदका रूपमा देखिँदै आएको तथ्य सर्वविदितै छ । पछिल्लो समयमा जातीय विभेद अन्त्य गर्ने विषय राजनीतिक आन्दोलनको माध्यमबाट उठाइयो, उठाइँदै आएको छ र यसको व्यवस्थापन पनि राजनीतिक तवरमा नै हुँदै आएको छ । यसबाट के स्पष्ट हुन आउँछ भने जातीय वा अन्य विभेदको मूल कारण ‘राजनीति’ हो । गण, गोत्र, कबिलातन्त्र होस्, उपनिवेशी शासन होस् वा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि राजनीतिक व्यवस्था भएको समाजमा विभेद छ भने विभेदको जिम्मेवारी र विभेदमुक्त छ भने त्यसको श्रेय तत्कालीन राजनीति र राजनीतिक व्यवस्थाले लिनपुर्ने हुन्छ ।

समाजमा रहेका अनेकौं प्रकारका काममा मानिसहरूको सङ्लग्नता रहनु स्वाभाविकै हो, तर यसैका आधारमा विभेद गरी अपहेलना र अपमान हुने कुरा राम्रो होइन । यहाँ जातीय विभेदको विषयसँगै ध्यान दिनुपर्ने कुरा के हो भने कामप्रतिको दृष्टिकोण कस्तो हुने भन्ने हो । समाजका मानिसहरूले गर्ने कामका प्रकृति धेरै छन् । सरसफाइ, भारवहन, खेतीपाती, पशुपालन, अध्यापन, आजापूजा, व्यापार, सेवा, उद्योग सञ्चालन, चिकित्सा, परामर्श, प्रशासन सञ्चालन, सुरक्षा, निर्माण आदि अनेकौं कामका क्षेत्र छन् । यी सबै काम समाजको व्यवस्थापनका लागि अत्यावश्यक भएर नै निर्धारण गरिएका हुन् । मानिसहरूले यिनै कामहरूलाई आफ्ना आजीविकाको क्षेत्र बनाएका छन् । यी सबैथरि काममा सबैको समान रूचि नहुन पनि सक्छ । तथापि आजीविकाका लागि गर्न आवश्यक भएर गर्दै गरिँदै आएको अवस्था छ । थोरै मानिसहरूले मात्र रूचिअनुसारकै काम गरेर जीविका चलाएका होलान् ।

धेरै मानिसको आवश्यकताको लागि सिर्जिएका आजीविका अपहेलना र अपमानको, विभेदको विषय बनाइनु किमार्थ राम्रो होइन । यी सबै प्रकारका काम गर्नेहरूप्रति समाजले सम्मानजनक दृष्टिकोण राख्नु र सम्मानजनक व्यवहार तथा सम्बोधन गर्न आवश्यक छ ।

तर नेपाली समाजमा जतिजति मानिस ‘सचेत’ हुँदै आयो, त्यतित्यति छिद्रान्वेषी र पूर्वाग्रही हुँदै आएको देखिन्छ । आजीविकाको पूर्ति तथा योग्यता-क्षमताको कारणले रोजिएका पेशागत निरन्तरतालाई धर्मसँग, धर्मशास्त्रसँग, वेदविद्यासँग जोडेर हेरिने गरेको छ । राजनीतिले समाधान गर्न मिल्ने र सकिने विषयलाई धर्मसँग, धर्मशास्त्रसँग, वेदविद्यासँग जोड्नुको कारण के हो ? के साँच्चिकै ‘धर्म’ बुझेर हो ? के साँच्चिकै ‘धर्मशास्त्र’को ज्ञान भएरै हो ? के ‘वेद’ पढेर नै हो ? यस्तो हो भन्ने आधार देखिँदैन । यथार्थमा भन्ने हो भने यस्तो हुनुको कारण बढ्दो भनिएको ‘चेतना’को दुरुपयोग या लहैलहैमा लाग्ने अन्धविश्वास नै हो ।

पछिल्लो समयमा जातीय विभेद अन्त्य गर्ने विषय राजनीतिक आन्दोलनको माध्यमबाट उठाइयो, उठाइँदै आएको छ र यसको व्यवस्थापन पनि राजनीतिक तवरमा नै हुँदै आएको छ । यसबाट के स्पष्ट हुन आउँछ भने जातीय वा अन्य विभेदको मूल कारण ‘राजनीति’ हो ।

मातृसत्तात्मक समाज छँदा आमाको नामबाट सन्तानको पहिचान हुन्थ्यो । दिति, अदिति, दनुका सन्तान नै क्रमशः दैत्य, आदित्य र दानव सन्तान भएको प्रमाण पाइन्छ । पितृसत्तात्मक समाज विकास भएपछि बाबुको नामबाट सन्तानको परिचय भएको विषय सर्वविदित तथ्य छँदैछ, तर कसैका पनि सन्तान एकै प्रकारका कर्मजीवी/पेशाजीवी नरहेको तथ्य पनि पौराणिक ग्रन्थहरू अध्ययन, इतिहास पढ्दा र सामाजिक विकासलाई हेर्दा स्पष्ट हुन्छ । पहिले होस् वा अहिले, धेरैजसो परिचय मानिसको कामबाट नै भएको पाइन्छ । जुनसुकै जात-कुलमा जन्मेको भए पनि खेती गर्नेलाई किसान, व्यापार गर्नेलाई साहुजी, भारी बोक्नेलाई भरिया आदि भनिन्छ ।

समन्यायिक र समृद्ध समाजका लागि जाति उत्कर्ष आवश्यक छ । यहाँ जाति उत्कर्ष भन्नाले वर्णसँग सम्बन्धित भनेर बुझ्नु उपयुक्त हुनेछ । चलनचल्तीमा वा अवस्थामा ‘तल’ पारिएकाहरूको उत्कर्षको आवश्यकता त छँदैछ, यसका लागि सकारात्मक पहलका रूपमा संविधानमा उल्लेख भएको छ र यससम्बन्धी कानूनी व्यवस्था पनि छ । छुवाछूतप्रथा कानूनतः दण्डनीय विषय भइसकेको छ । हाम्रा प्राचीन धर्मग्रन्थहरूमा जाति उत्कर्षका धेरै उदाहरणहरू छन् ।

नीतिशास्त्रहरूमध्येको एउटा महत्वपूर्ण ग्रन्थ ‘शुक्रनीति’मा ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र र म्लेच्छ गरी पाँच प्रकारका मानिस रहेको कुरा उल्लेख गरिएको छ । यो जाति पतनको एउटा प्रसंग हो । यस्तो उल्लेख छः

‘त्यक्तस्वधर्माचरणा निर्घृणाः परपीडकाः । चण्डाश्च हिंसका नित्यं म्लेच्छास्तेद्यविवेकिनः अर्थात् आफ्नो धर्म त्यागेका, लाजघिन नभएका, अर्कालाई दुःख दिने, क्रोधी, हिंसक स्वभाव भएका र अविवेकीहरूलाई सधैं म्लेच्छ भन्ने गरिएको छ ।’ यसबाट के बुझ्न सकिन्छ भने जाति भनेको कुनैलाई भएकोबाट खसाउन सकिन्छ, खस्न सक्छ भने उत्थान हुन, उत्कर्ष हुन पनि सक्छ ।

माथि उल्लेख गरिएका सन्दर्भहरू प्राचीन ग्रन्थहरूमा जन्मको आधारमा चल्ने वंश परम्परा वा पहिचान त हुन्थ्यो, तर नकारात्मक विभेद हुँदैनथ्यो । संस्कृत ग्रन्थहरूमा यस्ता अनेकौं उदाहरण छन् । यी ग्रन्थहरूमा ‘धर्म’ लेखिँदा अहिले प्रचलनमा रहेका धर्महरूको अस्तित्व नै थिएन । त्यसैले हिन्दू धर्मले या त्यससँग सम्बन्धित सबै प्रावधानहरूले जाति भेद÷जातीय विभेदको पक्षपोषण गर्दैनन् ।

राजनीतिले समाधान गर्न मिल्ने र सकिने विषयलाई धर्मसँग, धर्मशास्त्रसँग, वेदविद्यासँग जोड्नुको कारण के हो ? के साँच्चिकै ‘धर्म’ बुझेर हो ? के साँच्चिकै ‘धर्मशास्त्र’को ज्ञान भएरै हो ? के ‘वेद’ पढेर नै हो ? यस्तो हो भन्ने आधार देखिँदैन ।

कहीँकतै त्यस्ता वचन-प्रमाणहरू भेटिन्छन्, तर ती त्यतिबेलाका लागि, त्यतिबेलाको चेतनासापेक्ष, त्यतिबेलाको शासन व्यवस्थाका नियमहरू हुन् भनेर बुझ्न आवश्यक छ । इतिहासको अध्ययन गर्दा, शास्त्रहरूको अध्ययन गर्दा भेटिने सबै कुरा वर्तमान सुहाउँदो नै हुन्छ र हुनुपर्छ या इतिहासका विरुद्ध बोलेरमात्रै साध्य प्राप्त हुन्छ भन्ने ठान्नु बुद्धिमानी ठहर्दैन । नयाँ समाज, नयाँ नेपाल, नयाँ संसार निर्माण गर्न इतिहासका कुनै कालखण्डका पूर्ववर्ती प्रावधानहरूको विरोध होइन, नयाँ र सकारात्मक एवं सृजनशील सोच आवश्यक छ ।

जाति उत्कर्षबारे ऋग्वेदको यो कथन सान्दर्भिक छः

‘तिस्रो यदग्ने शरदस्त्वामिच्छुचिं घृतेन शुचयः सपर्यान् । नामानि चिद्दधिरे यज्ञियान्नसूदयन्त तन्वः सुजाताः अर्थात्, हे पवित्र अग्निदेव ! तेजस्वी मनुष्यले तीन वर्षदेखि घिउले तिम्रो पुजन गरे । त्यसपछि उनीहरूले यज्ञ भन्ने उपयुक्त नाम पाए । आफ्नो शरीर शोधन गरेर उनीहरू देवता भए ।’ यसरी यहाँ मनुष्यबाट देवता भएको अर्थात् उत्कर्ष भएको देखिन्छ ।

ऋग्वेदमा यस्ता अन्य प्रसंग पनि छन्ः

‘उतदेवा अवहितं देवा उन्नयथा पुनः अर्थात्, हे देवताहरू हो ! हामी तल खसालिएकाहरूलाई पुनः माथि उकास ।’

हेर्दै-खोज्दै जाँदा वेदमा यस्ता अनेकौं प्रसंग छन्, तर हामीले त्यसमा भएका राम्रा, आवश्यक, सान्दर्भिक, औचित्यपूर्ण प्रसंगतिर ध्यान नदिएर कमजोर, अनावश्यक, असान्दर्भिक, यतिबेला औचित्य नभएका प्रसंगहरू टिपेर दन्तबझान गर्न थाल्दछौं ।

गरुड पुराण साह्रै कठोर प्रावधान भएको हिन्दू धर्मग्रन्थ मानिन्छ । यसमा जाति उत्कर्षसम्बन्धी व्यवस्था रहेको स्पष्ट छः

‘जात्युत्कर्षाद् द्विजो ज्ञेयोः सप्तमे पञ्चमेद्रपि वा । अर्थात्, जाति उन्नत हुँदै गएमा सात वा पाँच पुस्तापछि द्विज नै हुन्छ ।’

अब हामीले विभेदको चर्चा गरेर, विगतलाई सरापेर नभई प्रचलित संवैधानिक, कानूनी प्रावधानहरूमा टेकेर अधिकार प्राप्त गर्ने बाटो अवलम्बन गर्नुपर्दछ र तदनुसार कर्तव्य निर्वाह गर्ने गरी अघि बढ्नुपर्दछ । देशलाई विभाजनको होइन, विभेदको होइन, मेलमिलाप र समृद्धिको आवश्यकता छ ।

जातीय विभेदमुक्त समाज हामी सबैका लागि हितकर समाज हो । प्राचीन प्रवन्ध र सामाजिक परम्पराका सकारात्मक पक्षमा ध्यान दिनुपर्दछ, यिनलाई आधार बनाएर गरिने विभेदका विरुद्ध सबै जाति समुदाय जुरुक्क उठ्न आवश्यक छ ।

(लेखक नेकपा एमाले केन्द्रीय स्कुल विभागका सचिव हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *