बहसमा बुद्ध सर्किटः लुम्बिनी, नेपालको समृद्धि र भू-राजनीति
उपाध्यक्ष डा.ल्हारक्याल लामाले नियुक्तिको १४ महिनामै ल्याए लुम्बिनीको स्वरुपमा परिवर्तन, भूराजनीतिले रोकिएको शाक्यमोन्लम पूजा ८ वर्षपछि यसरी भयो सम्भव
बौद्ध दर्शन
ईस्वी संवत् प्रारम्भ भन्दा ६२३ वर्ष पहिले जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षे कलिलो उमेरमै ‘राजपाठ’ त्याग गरी ‘अलौकिक बालक’का रुपमा आफूलाई विश्वमै स्थापित गरे । अलौकिक बालक स्थापित गर्ने विषय त्यो कालखण्डमा चानचुने विषय थिएन । करुणा, ज्ञान, स्नेह, अहिंसा, दया, क्षमा र सत्यको मार्गको खोजीका निम्ति ‘राजपाठ’ त्याग गरी निस्किएको बालकले त्यो खोजीका निम्ति कठोर तपस्या र त्यस बखतको दुनियाँको आलोचना खेपेरै ‘बुद्धत्व’ प्राप्त गरी राजपाठ किन त्यागेको भनेर आलोचना गर्नेहरुका लागि गतिलो जवाफ दिए । जसका कारण तिनै सिद्धार्थ गौतमले स्थापित गरेको ‘अहिंसा र सत्य’को मार्ग नै आज विश्वमा ‘बौद्ध दर्शन’का रुपमा स्थापित बन्न पुग्यो ।
संसारभर पछिल्लो समय ‘बौद्ध दर्शन’को महत्व तीव्र गतिमा बढ्दै गएको छ । मानिसमा ‘भव, विभव र काम’ गरी तीन प्रकारका ‘तृष्णा’का कारण दुःख उत्पन्न हुने भएकाले त्यसको ‘निरोध’का लागि ‘शक्ति आर्जन’ गर्नु नै बुद्ध धर्म अर्थात बौद्ध दर्शनको सार मान्ने गरिन्छ । बौद्ध दर्शनका अनुसार बुद्धले आफ्नो उपदेशमा ‘चार आर्य सत्य’का बारे चर्चा गरेको पाइन्छ । त्यो मध्य पहिलो संसार दुःखमय छ, दोस्रो समुदाय, तेस्रो दुःख निरोध गर्दा दुःखको अन्त्य अवश्यम्भावी छ र चौथो दुःखको नाश गर्ने मार्ग । जसका बारे बुद्धले विस्तृत व्याख्या गर्दै भनेका छन्- मानिसमा उत्पन्न दुःख नाश गर्ने अष्टाङगिक मार्ग भनेको सम्यक संकल्प, सम्यक दृष्टि, सम्यक कर्मान्त, सम्यक वचन, सम्यक व्यायाम, सम्यक आजीविका, सम्यक स्मृति र सम्यक समाधि नै हो । जुन मार्गलाई प्रज्ञा, शिल र समाधि गरी तीन वटा वर्गमा विभाजन समेत गरिएको छ । बौद्ध दर्शनका शिखर व्यक्तित्व तिनै गौतम बुद्ध जन्मिएको लुम्बिनीका बारे केही चर्चा गरौं ।
लुम्बिनीको महत्व
सम्राट अशोकले ईसा पूर्व २४९ मा गरेको ‘तीर्थ यात्रा’ र उनैले खडा गरेको ‘अशोक स्तम्भ’कै कारण आजको लुम्बिनी अस्तित्वमा देखाप¥यो । बुद्धको जन्मभूमि लुम्बिनी, ज्ञान प्राप्ति बोधगया, धर्मचक्र प्रवर्तन सारनाथ र महापरिनिर्माण कुसीनगरलाई पवित्र तीर्थस्थलका रुपमा लिने गरिन्छ । यीमध्ये विशेषगरी संयुक्त राष्ट्रसंघले बैशाख पूर्णिमालाई ‘लुम्बिनी डे’का रुपमा समेत मनाउँदै आएकाले यी स्थानमध्ये आस्थाका हिसाबले ‘लुम्बिनी’ उपल्लो स्थानमा छ भनेर बुझ्न कठिन छैन, तर राजनीतिक अस्थिरताका कारण लुम्बिनीको विकासको लागि तयार गरिएको ‘गुरुयोजना’ले मूर्तरुप पाउन नसक्दा विश्वमै नेपालले सकारात्मक सन्देश प्रभाव गर्न सकेको छैन । १५ वर्षमा सम्पन्न गर्नेगरी तयार गरिएको ‘लुम्बिनी गुरुयोजना’ निर्माणको समयावधि चार दशक नाघिसक्दा पनि शत प्रतिशत काम सम्पन्न हुन नसक्नुको पछाडि ‘राजनीतिक नेतृत्वको जति आलोचना गरे पनि’ कमै हुन्छ ।
राजनीतिक अस्थिरताका कारण लुम्बिनीको विकासको लागि तयार गरिएको ‘गुरुयोजना’ले मूर्तरुप पाउन नसक्दा विश्वमै नेपालले सकारात्मक सन्देश प्रभाव गर्न सकेको छैन । १५ वर्षमा सम्पन्न गर्नेगरी तयार गरिएको ‘लुम्बिनी गुरुयोजना’ निर्माणको समयावधि चार दशक नाघिसक्दा पनि शत प्रतिशत काम सम्पन्न हुन नसक्नुको पछाडि ‘राजनीतिक नेतृत्वको जति आलोचना गरे पनि’ कमै हुन्छ ।
राजनीतिक नेतृत्वको इच्छाशक्तिको कमी र नेपालमा हरेक ठाउँमा हुने ‘चरम राजनीतीकरण’का कारण करिब दुई वर्ष अगाडिसम्म ‘लुम्बिनीको टेरिटोरी’ भर्खरै युद्ध सकिएको भूमि जस्तै थियो । यहीबीच लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त हुँदा विवादको घेरामा परेका डा.खेन्पो छिमे छिरिङ (ल्हारक्याल लामा)ले आफ्नो नियुक्तिको करिब १४ महिने कालखण्डमा लुम्बिनीको स्वरुपमै परिवर्तन ल्याइदिएका छन् । संरचनागत निर्माणले तीव्रता पाएको लुम्बिनीको ‘गुरुयोजना’अनुसार काम सम्पन्न हुन २५ प्रतिशतमात्र काम गर्न बाँकी रहेको बताउँछन् उपाध्यक्ष लामा ।
उपाध्यक्ष लामा भन्छन्- मैले ७५ प्रतिशत काम सम्पन्न गरिसकेको छु, अब करिब दश अर्ब राज्यबाट प्राप्त हुने हो भने आगामी २ वर्षमा म र मेरो कोषको टीमले लुम्बिनीलाई ‘आध्यात्मिक, शान्ति र पर्यटकीय विकासको विश्वकै गन्तव्य’को नमुना क्षेत्र बनाएर देखाइदिने छौं । जसका लागि सरकारले कम्तीमा दुई आर्थिक वर्ष लुम्बिनीलाई प्राथमिकतामा राखिदिन पर्यो । लुम्बिनी क्षेत्रभित्र समेटिएका लुम्बिनीबाहेक पनि तिलौराकोट, रामग्राम, तौलिहवा, देवदहलगायत १६० भन्दा ज्यादा बुद्धको जीवनीसँग जोडिएका ऐतिहासिक तथा पुरातात्विक पर्यटकीय गन्तव्यहरु छन् । जसको संरक्षणका निम्ति राज्यको सहयोग अपरिहार्य छ ।
शाक्यमोन्लम पूजा
विश्व शान्तिका अलावा प्राणी कल्याणका लागि लुम्बिनीमा ३३औं ‘शाक्यमोन्लम पूजा’ हालै सम्पन्न भएको छ । करिब ७ हजार भिक्षु तथा बौद्ध धर्मका अनुयायी जुटेर सम्पन्न भएको पूजाको पनि आफ्नै कहानी छ । उक्त पूजाले लुम्बिनीमा २५ वर्ष निरन्तरता पाएको थियो, तर त्यसपश्चात ‘भू-राजनीतिक खेल’कै कारण ८ वर्ष पूजा रोकिन पुग्यो । पूजा यस पटकबाट पुनः प्रारम्भ गरिएको हो । कोष तथा कोषका उपाध्यक्ष ल्हारक्याल लामाकै पहलमा ४१औं शाक्य गोङमा ट्रिछेन रिम्पोछेको उपस्थितिमा भव्यताका साथ पूजा सम्पन्न भएको कोषका बोर्ड सदस्य श्याम रोक्काले यस पंक्तिकारलाई बताए ।
बौद्ध सर्किट निर्माणसँगै लुम्बिनीको विकास कोष, परराष्ट्र मन्त्रालय, नेपालबाट प्रतिनिधित्व गर्ने राजदूत, कन्सुलर शाखा आदिका माध्यमबाट विश्वभर रहेका एक अर्ब ३० करोड बुद्ध धर्मका अनुयायीसँगै अन्य धर्मावलम्बीसामु लुम्बिनीको सन्देश प्रवाह गर्न सक्दा नेपालको समृद्धिमा उल्लेख्य योगदान पुग्नसक्छ ।
महायान सम्प्रदायमा निङमा, काग्र्यु, शाक्य र घेलुप सम्प्रदाय रहेका छन् । जसमध्ये काग्र्यु र घेलुप सम्प्रदायले आफ्नो पूजा ‘बुद्ध गया’मा तथा निङमा सम्प्रदायले बौद्ध र शाक्य सम्प्रदायले नेपालको लुम्बिनीमा ‘विश्व शान्ति पूजा’ गर्दै आएका थिए । २५ वर्षदेखि गरिँदै आएको पूजा रोकिएर २५औंदेखि ३२औंसम्म पूजा भारतको बुद्धगयामा गरिएको थियो । उक्त पूजा ‘भू-राजनीतिक’ हिसाबले नेपालमा रोकिँदा नेपालका बुद्ध धर्मका अनुयायी एक प्रकारले दुःखी भएकै समय कोष तथा कोषका उपाध्यक्ष लामाले ३३औं पूजा नेपालमै आयोजना गरेर धार्मिक सन्देशमात्र दिएनन्, लुम्बिनीको अर्थतन्त्रलाई चलायमानसमेत गराए ।
बौद्ध सर्किटको आवश्यकता
लुम्बिनीको भूभाग तीन वटा जिल्लामा फैलिएको भए पनि आध्यात्मिक तथा पर्यटकीय दृष्टिले लुम्बिनी विश्वकै युनेस्कोद्वारा प्रमाणित गन्तव्य हो । लुम्बिनीलाई केन्द्र भागमा राखेर ‘बुद्धिस्ट तथा ननबुद्धिस्ट’ समेतको उपस्थितिमा बृहत सम्मेलन आयोजना गरी बुद्ध र नेपालकै शान्तिको सन्देश विश्वमा पु¥याउन सकिन्छ । त्यसैका निम्ति जुटिरहेको बताउँछन् कोषका उपाध्यक्ष लामा । हुन पनि बुद्धको जीवनीसँग साक्षात्कार गरिरहेका ठाउँमध्ये नेपालको लुम्बिनीलाई केन्द्र भागमा राखेर भारत, तिब्बत, कोरिया, जापान, भुटान, म्यानमार, श्रीलंका, थाइल्यान्ड आदि क्षेत्रलाई समेटेर एउटा ‘सर्किट’ निर्माण गर्न सकिन्छ । जसका माध्यमबाट विश्वलाई नै ‘शान्तिको सन्देश’ प्रवाह सहज हुनेछ ।
नेपालको समृद्धिमा लुम्बिनीले बृहत्तर भूमिका निर्वाह गर्नसक्छ । बौद्ध सर्किट निर्माणसँगै लुम्बिनीको विकास कोष, परराष्ट्र मन्त्रालय, नेपालबाट प्रतिनिधित्व गर्ने राजदूत, कन्सुलर शाखा आदिका माध्यमबाट विश्वभर रहेका एक अर्ब ३० करोड बुद्ध धर्मका अनुयायीसँगै अन्य धर्मावलम्बीसामु लुम्बिनीको सन्देश प्रवाह गर्न सक्दा नेपालको समृद्धिमा उल्लेख्य योगदान पुग्नसक्छ । नेपालले लुम्बिनी, सगरमाथा जस्ता विश्वमै चर्चित चिज प्राप्त गरेर पनि विश्व समुदायसामु आवश्यक ‘मार्केटिङ’ गर्नैसकेन ।
लुम्बिनी र आसपासका ऐतिहासिक स्थलको खोज, लुम्बिनी गुरुयोजना तत्काल सम्पन्न र लुम्बिनी जस्ता ऐतिहासिक क्षेत्रलाई ‘राजनीतिक हस्तक्षेप’ मुक्त राख्न सक्दा समृद्धिका हिसाबले नेपालको मुहार परिवर्तन हुन समय लाग्ने छैन । त्यसका लागि कम्तीमा कोषलाई निर्वाध साधन र स्रोतसहित काम गर्न दिएर परिणामको अपेक्षा राखिनु पर्दछ । जसले ‘गुरुयोजना’ सम्पन्न गरी ‘बौद्ध सर्किट’ निर्माण गर्दै विश्वमै ‘बौद्ध दर्शन’को प्रचारात्मक अभियानलाई तीव्रता दिएर नेपालको समृद्धिमा समेत योगदान पुर्याउन सक्नेछ ।