बैंकिङ क्षेत्रमा घट्दो आकर्षण : खस्किँदै लाभांश, बाहिरिँदै लगानीकर्ता
काठमाडौं । वाणिज्य बैंकहरुले वितरण गर्ने लाभांश निरन्तर घट्दै गएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको लाभांश दर निरन्तर खुम्चिँदै गएको देखिन्छ ।
नेपालमा सञ्चालित २० वाणिज्य बैंकमध्ये हालसम्म १४ वटाले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट ११ वटा बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने तीन वटाले नदिने भएका छन् ।
लाभांश घोषणा गरेका बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक अन्य सबै बैंकको लाभांश दर घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा ११.८४ प्रतिशत लाभांश दिएको यस बैंकले आव २०८०/८१ मा त्यसको दोब्बरभन्दा बढी लाभांश दिने घोषणा गरेको छ । यस आवमा बैंकले २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको यो लाभांश साधारणसभाबाट समेत पारित भइसकेको छ ।
नबिल बैंकको पछिल्लो पाँच वर्षको लाभांश दर हेर्ने हो भने एक तिहाइले घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो । आव २०७७/७८ मा ३८ प्रतिशत लाभांश दिएको नबिलको त्यसयता भने निरन्तर लाभांश दर घटिरहेको छ । आव २०७८/७९ मा ३० प्रतिशत लाभांश दिएको उसले २०७९/८० मा ११ प्रतिशत र २०८०/८१ मा १० प्रतिशतमात्रै लाभांश दिने भएको छ ।
आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा सिद्धार्थ बैंकले १५-१५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयताका तीन आव २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः १३.१६, ४.२१ र ४ प्रतिशत लाभांश दिएको छ ।
पछिल्लो पाँच आर्थिक वर्षमा नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, सिटिजन्स, कृषि विकास बैंक र सानिमा बैंकको पनि लाभांश दर निरन्तर घट्दो छ ।
निष्क्रिय कर्जा बढ्दा बैंकहरुको नाफामा असर पुगेका कारण लाभांश दर घट्न गएको एक बैंकरले बताए । उनले भने, ‘सोचेअनुसार ऋण उठेको छैन । ऋण नउठ्दा बैंकहरुको नाफा प्रभावित हुन पुग्यो । नाफा नै घटेपछि लाभांश कहाँबाट बढ्नु ?’
बैंकहरुको लाभांश दर खस्किनुमा तीन वटा कारण रहेको पूर्वबैंकर भुवन दाहाल बताउँछन् । उनी भन्छन्, ‘अहिले आर्थिक गतिविधि सुस्ताएको छ । बैंकहरुको निष्क्रिय कर्जा बढेको छ । अन्तरब्याजदर पनि घटाइएको छ । यी कारणहरूले बैंकहरुको लाभांश दर खस्किएको छ ।’
उनका अनुसार ब्याजदरको अन्तरको सीमा पहिले ५ प्रतिशत थियो । अहिले ४ प्रतिशतमा झारिएको छ । यसले गर्दा पनि लाभांशमा असर परेको दाहालको भनाइ छ ।
बाहिरिँदै लगानीकर्ता
पछिल्लो समय दैनिकजसो समाचारमा देखिने हेडलाइन हो, ‘…..बैंकको संस्थापक शेयर बिक्रीमा’ । यस्तो शीर्षकको समाचार पछिल्लो समय दैनिकजसो आउने गर्छ ।
संस्थापक शेयर बिक्री गर्न बैंकहरुले पत्रपत्रिकामा दैनिकजसो सूचनाहरू निकालिरहेका छन् । पछिल्लो समय धेरैजसो वाणिज्य बैंकहरुको संस्थापक शेयर बिक्रीमा राखेको देखिन्छ ।
केही महिनाअघि प्रभु बैंकका ९ जना संस्थापकले एकै पटक आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमा राखे । नवलकिशोर राजभण्डारी, वीरेन्द्र रावल, प्रवीण अग्रवाल, कुमार पौडेल, अञ्जन श्रेष्ठ, दिनेश अर्याल, गंगाराम महर्जन, तान्या अधिकारी र सन्ध्या थापा क्षेत्रीले शेयर बिक्रीमा राखेका थिए । उनीहरूले आफ्नो स्वामित्वमा रहेको बैंकको ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा राखेका थिए ।
केही साताअघि प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनको परिवारले पनि शेयर बिक्रीमा राखेको थियो । उनीहरूले एकै पटक शेयर बिक्री गरेर बाहिरिने तर्खर गरेका हुन् । भट्टचनको परिवारसहित १३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३४ लाख २५ हजार ६१८ कित्ता शेयर बिक्रीमा राखिएको थियो । मंसिर २६ गते बिक्रीमा राखिएको शेयरमा ३५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कुमारी बैंकको संस्थापक शेयरधनी राधेश्याम सुवालले समेत आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएका थिए । सिद्धार्थ बैंकको लेखा राज्यलक्ष्मी खाणको नाममा रहेको संस्थापक शेयर पनि बिक्रीमा राखिएको थियो ।
हिमालयन बैंकका ५ जना संस्थापक शेयरधनीले समेत आफ्नो स्वामित्वको शेयर बिक्रीमा ल्याएका थिए । उनीहरूले ४ लाख ८ हजार कित्ता शेयर बिक्रीमा राखेका हुन् । उनीहरूले यो शेयर सर्वसाधारणले समेत खरिद गर्न मिल्नेगरी बिक्रीमा ल्याएका हुन् ।
प्रभु, कुमारी, सिद्धार्थ, हिमालयन बैंकले मात्रै होइन अन्य वाणिज्य बैंकहरुले पनि धमाधम संस्थापक शेयर बिक्रीमा ल्याइरहेका छन् । सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक र माछापुच्छ्रे बैंकका संस्थापक शेयरधनीले समेत आफ्नो स्वामित्वको शेयर धमाधम बिक्री गर्दै बाहिरिइरहेका छन् ।
घट्दो आकर्षण
विभिन्न कम्पनीको शेयरलाई दुई समूहमा विभाजन गरिएको हुन्छ । पुँजी बजारमा प्रमोटर (संस्थापक) र पब्लिक (सर्वसाधारण) गरी दुई प्रकारका शेयर हुन्छन् ।
कुनै कम्पनीको शेयर आज खरिद गरेर भोलि नै बिक्री गर्न पाउने शेयर सर्वसाधारणको हो भने सोसरह खरिद बिक्री गर्न नपाइने शेयर संस्थापक हो । संस्थापक शेयर खरिद बिक्री गर्न विभिन्न प्रक्रिया पुर्याउनुपर्ने हुन्छ ।
संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया नै झन्झटिलो रहेको कुमारी बैंकका संस्थापक शेयर लगानीकर्ता किरण साख गुनासो गर्छन् । उनले कुमारी बैंकको आफ्नो स्वामित्वमा रहेको करिब ९० हजार कित्ता शेयर बिक्रीमा राखेको ८ महिनाभन्दा बढी भइसक्यो, तर आजसम्म बिक्री गर्न नपाएको उनले गुनासो गरे ।
‘संस्थापक शेयर बिक्री गन यति गाह्रो छ नि । आफूले चाहेको बेलामा बिक्री गरेर बाहिरिन्छु भन्दा समेत पाइँदैन । बिक्री नभएर जबरजस्ती शेयर बोकेर बस्नु पर्ने स्थिति छ । कुमारी बैंकको शेयर बिक्री गर्न खोजेका ८/९ महिना भइसक्यो र पनि बिक्री गर्न सकेको छैन’, उनले भने ।
उनका अनुसार विभिन्न सीमा र शर्तका कारण प्रमोटर शेयर बिक्री गर्न झन्झटिलो छ । प्रक्रिया पुर्याउनै गाह्रो छ । बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताहरूले लामो समयसम्म पब्लिकसरह कारोबार गर्न पाइँदैन ।
‘यसै पनि बजारमा प्रमोटर शेयर बिक्री हुँदैन । कसैकसैले खरिद गर्न चाह्यो भने पनि प्रक्रिया पुर्याउनै समस्या छ । मैले १०० को शेयर ९२ रुपैयाँमा बिक्रीमा राख्दा समेत बिक्री गर्न सकेको छैन’, साखले गुनासो गरे ।
प्रमोटर शेयर खरिद बिक्रीको प्रक्रिया सहज छैन, बैंकको प्रतिफल घटेको घट्यै छ, यस्तो अवस्थामा लगानीकर्ताको आकर्षण नबढ्नु स्वाभाविक रहेको उनको भनाइ छ ।
कुनै समय आकर्षक मानिने वाणिज्य बैंकको शेयरमा पछिल्लो समय लगानीकर्ताहरूको रुचि घटिरहेको छ । बैंकका संस्थापकहरू नै धमाधम शेयर बिक्री गरेर बाहिरिइरहँदा सर्वसाधारण लगानीकर्ताहरूमा पनि वाणिज्य बैंकको शेयरमा आकर्षण घटेको हो ।
करिब एक दर्जन वाणिज्य बैंकको साधारण शेयर २०० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । संस्थापक शेयर पनि अंकित मूल्यकै हाराहारीमा कारोबार भइरहेको छ ।
संस्थापक र सर्वसाधारणको शेयर मूल्यबीचमै पनि ठूलो खाडल छ । कतिपय वाणिज्य बैंकको संस्थापक शेयरको मूल्य साधारण शेयर (आईपीओ) कै मूल्य बराबरमा छ । कुमारी र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर मूल्य १०० रुपैयाँमा कारोबार भइरहेको छ । जबकि यी बैंकहरुको साधारण शेयर मूल्य प्रतिकित्ता क्रमशः २११ र २२२ रुपैयाँ रहेको छ ।
नेपाल एसबीआई बैंकको मात्रै संस्थापक समूहको शेयर मूल्य धेरै छ । बाँकी अन्य बैंकको सर्वसाधारण समूहको शेयर मूल्य बढी छ । एभरेस्ट बैंकको संस्थापक र सर्वसाधारण समूहको शेयर मूल्यमा ठूलो अन्तर छ । यस बैंकको सर्वसाधारण शेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ रहेको छ भने संस्थापक प्रतिकित्ता १४५ रुपैयाँमात्रै रहेको छ ।
संस्थापक शेयर मूल्य एकदमै कम रहेको र प्रतिफल घटिरहेकाले पनि बैंकहरुका संस्थापक लगानीकर्ता बाहिरिन खोजिरहेको साखको भनाइ छ ।
त्यस्तै बैंकहरुको घट्दो नाफा र खस्किँदो लाभांशदरका कारण वाणिज्य बैंकहरुको शेयरमा आकर्षण घटेको लगानीकर्ता छोटेलाल रौनियारको तर्क छ । उनी भन्छन्, ‘बैंकहरुको नाफा घटिरहेको छ । लाभांशदर पनि खस्किरहेको छ । प्रतिफल घटिरहेकाले वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताहरूको आकर्षण घटेको हो ।’
लामो समयसम्म होल्ड गर्दासमेत वाणिज्य बैंकबाट फाइदा लिन नसक्ने अवस्था बनेको उनको भनाइ छ । प्रतिफल कम भएकै कारण संस्थापक शेयर लगानीकर्ताहरू पनि धमाधम बिक्रीमा शेयर राखेर भाग्न खोजिरहेको रौनियारको तर्क छ ।
‘बैंकहरुको खराब कर्जा बढिरहेको छ । लामो समय पर्खिंदा पनि प्रतिफल राम्रो पाइँदैन । अन्य कम्पनीहरूमा छोटो समयमै राम्रो प्रतिफल पाउँदा लगानीकर्ताहरूको रोजाइमा वाणिज्य बैंकको शेयर नपरेको हो’, उनले भने ।