नेपालमा फेरि मंकीपक्स संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयल भन्याे- सावधानी अपनाउनु – Nepal Press

नेपालमा फेरि मंकीपक्स संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयल भन्याे- सावधानी अपनाउनु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा पुन: मंकीपक्स पुष्टि भएपछि सतर्कता अपनाउन सचेत गराएको हो ।

साउदी अरेवियाबाट फर्किएका तनहुँका एक ३६ वर्षीय पुरुषलाई  शुक्रबार मंकीपक्स पुष्टी भएको थियो ।

उनी खटिराको समस्या लिएर काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पताल, काठमाडौँमा पुस ४ गते उपचारका लागि गएको र सोहि दिन उक्त अस्पतालले एम्पक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण भएकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आइसोलेशनमा राखी थप परिक्षणका लागि नमूनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा शुक्रबार मंकीपक्स पुष्टि भएको हाे ।

परिक्षण पोजिटिभ भएतापनि बिरामीको स्थितिमा केहि जटिलता नभएको र चिकित्सकको निगरानीमा उपचार र रेखदेख निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ। थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको मन्त्रालयको भनाइ छ । यससँगै नेपालमा यो मंकीपक्स पुष्टि भएको दोश्रो पटक हो ।

मन्त्रालयले सबैलाई सचेत रह र यदि कसैलाई एमपक्ससँग मिल्दो जुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर ू१११५” मा सम्पर्क गरी परामर्श लिन अनुरोध छ ।

साथै, यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरुसमेत तोकि विशेषज्ञहरु तोकिसकिएकोले हुनाले उनीहरुबाट परामर्श लिन सकिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी र सजगता बढाइएको बताएको छ ।

यस्ताे छ मंकीपक्सकाे  लक्षण र बच्ने उपाय

एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा (विमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरु बढ्ने हुन्छ। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ।

यसको रोकथामका लागि एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाईजरको प्रयोग गर्ने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डीटर्जेन्टले धुने, मंकीपक्सको संक्रमण पुष्टि भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डीटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *