सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको छ: उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको दाबी गरेका छन्।
कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक स्थिरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिकामार्फत अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए।
उनले भने, पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्तागठबन्धन बनेको हो। राजनीतिक स्थिरता र स्थायीत्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।
सडकमार्ग मार्फत थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चन्द्रागिरी चित्लाङ सडकको अवलोकन पनि गरे।
चुनावका क्रममा कुनै दलबाट उम्मेदवार बनेपनि जितेपछि जनप्रतिनिधिले आफ्नो कार्यकालभर जनतालाई केन्द्रविन्दुमा राखेर जनसरोकारका काम गर्नुपर्नेमा जोड दिए।