नयाँदिल्लीमा भारत-नेपाल साहित्यिक महोत्सव सुरु, दुई देशको सम्बन्ध विस्तारमा जोड
नयाँदिल्ली । नेकपा एमालेका उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सूचना प्रविधि, यातायात, उत्पादन र वितरणलगायतका विभिन्न क्षेत्रमा भारतले अभूतपूर्व फड्को मारेकाले यहाँ भएको विकासलाई कसरी नेपालसँग जोड्न सकिन्छ भन्नेबारेमा प्रवासी नेपालीले सेतुको रूपमा काम गर्दा नेपालको समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँदिल्लीस्थित सुरजित सिंह भवनमा प्रवासी नेपाली संघ भारतको आयोजनामा शुरू भएको भारत-नेपाल साहित्यिक महोत्सवको उद्घाटन गर्दै उनले नेपाल-भारतबीचको जनस्तरको सम्बन्ध सदियौंदेखि रहेको बताए ।
‘भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपाली राजनेताहरू बीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईलगायतको योगदान तथा नेपालको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनमा भारतीय नेताहरूको भूमिका पनि स्मरणीय छ’, ज्ञवालीले भने‘, अहिले पनि नेपालले वर्षामा भारतलाई विद्युत बेच्छ र हिउँदमा भारतबाट नेपालले किन्छ । यसरी हेर्दा आवश्यकताका आधारमा हाम्रो सम्बन्ध जोडिएको छ । यस्ता धेरै विषयहरू छन्, जसले गर्दा सम्बन्धको विशिष्टीकरणलाई झल्काउँछ ।’
नेपालको समृद्धिका लागि भारत र नेपालको साझेदारी अत्यावश्यक रहेको र यसमा प्रवासी नेपालीले सेतुको रूपमा भूमिका निर्वाह गर्ने अपेक्षा रहेको नेता ज्ञवालीको भनाइ छ ।
हरेक भूपरिवेष्ठित मुलुकको लागत सामान्यतः २० प्रतिशत महँगो पर्ने भएकाले कनेक्टिभिटीको अर्थपूर्ण महत्व हुने उनले उल्लेख गरे ।
परराष्ट्र सम्बन्धबारे बोल्दै उनले भने, ‘नेपालको नीति सबैसँग मित्रता कसैसँग छैन शत्रुता भन्ने मान्यतामा आधारित छ । हामी कुनै पनि मुलुकको स्वार्थमा अनुचित रूपमा हाम्रो भूमि प्रयोग हुन दिँदैनौं । तपाईंहरूले नेपालको समृद्धिमा भारतबाट के सिक्न सकिन्छ भन्नेबारेमा पुलको रूपमा काम गर्नुपर्नेछ ।’
पहिचानबाट संगठित हुँदै यहाँसम्म आइपुग्दा प्रवासी आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताएँदै ज्ञवालीले भने, ‘हाम्रो भाषा, साहित्य र संस्कृति पहिचानको विषय त छ, तर विश्वव्यापी उठेका आवाज, विरोधलाई पनि मिलाएर लैजानुपर्नेछ ।’
अहिलेको साहित्यले निरासा हैन, बाँच्न र संघर्ष गर्न सिकाउने तथा भविष्यलाई आशावादी र प्रेरणा दिने खालको हुनुपर्ने उनको भनाइ छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रवासी संघ भारतका इन्चार्ज हरिप्रसाद घिमिरेले प्रवासीहरू परम्परागत ढंगले चल्नेभन्दा पनि सबै संगठनका बीचमा सहकार्य गर्ने, साझा समस्याको पहिचान र समाधानका लागि एकीकृत ढंगले जाने आवश्यकताका आधारमा साहित्य महोत्सवका रूपमा छलफल गर्ने र यसले ठोस निर्णय गर्ने विश्वास लिएको बताए ।
प्रवासी नेपाली संघ भारतका अध्यक्ष नारायण हुमागाईंले नेपाली भाषा, शिक्षा, साहित्य र संस्कृतिलाई भारतमा बस्ने प्रवासीले पनि जान्न र बुझ्न सकून् तथा त्यसतर्फ ध्यान दिन पनि सक्नुपर्छ भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको र यो अभियानले पहिचानलाई बचाउन सहयोग पुग्ने बताए ।
भारतका लागि नेपाली कामु राजदूत डा. सुरेन्द्र थापाले पहिचानका लागि भाषा, संस्कृति र साहित्य आवश्यक रहेकाले भारतमा गरिएको यस प्रकारको कार्यक्रमले सरकारलाई पनि नयाँ योजना निर्माणमा आधार हुने बताए ।
प्रवासी नेपाली संघ भारतकी उपाध्यक्ष सीता अधिकारीले प्रवासीका बीचमा कसरी जाने र उनीहरूका भावना तथा आवश्यकतालाई कसरी सहयोग गर्न सकिएला भनेर यो कार्यक्रममा छलफल गरिने जानकारी गराइन् ।
कार्यक्रमको दोश्रो चरणमा प्रा.डा. देवी नेपालले नेपाल र भारतको नेपाली साहित्य अन्तरसम्बन्ध सेतु, प्रा.डा. कपिल लामिछानेले नेपाल–भारतको बाल साहित्य अन्तरसम्बन्ध सेतु, काशी हिन्दू विश्वविद्यालयका नेपाली भाषा विभागका प्रमुख डा. दिवाकर प्रधानले भारतमा नेपाली भाषाको विकास र वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
उक्त कार्यपत्रहरूमाथि दार्जिलिङ साहित्यकार तथा कवि जेके बराइली, अल इण्डिया रेडियोको नेपाली भाषामा कार्यक्रम सञ्चालक विष्णु गुरूङ र नेपालका वरिष्ठ पत्रकार डीआर घिमिरेले टिप्पणी गर्ने कार्यक्रम छ ।