सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्ने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन् ।
रुपन्देहीको देवदहमा गौतम बुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्नेगरी सरकारले अवधारणा अघि सारेको बताए ।
‘प्रदेश सरकारले बृहत लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिनेछ’, उनले भने, ‘प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउँछ । तिलौराकोटदेखि नवलपरासीको रामग्रामसम्मका सम्पदाहरुलाई जोड्नेगरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ ।’
लुम्बिनी आउने पर्यटकलाई एक-अर्कासँग जोड्नेगरी बृहत रुपमा लुम्बिनी सर्किटको अवधारणा अघि सारिएको उनको भनाइ छ ।
पर्यटकीय स्थलहरुलाई नवीनतम रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नेगरी अघि बढाउन आवश्यक रहेको भन्दै मुख्यमन्त्री आचार्यले पार्कहरुमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामग्रीको प्रयोग गरेर कलात्मक आकृति तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने बताए ।
‘यहाँको पार्कमा जुन कलात्मक सृजना देखियो । अन्य पार्कहरुमा पनि यहाँको सिकाई हस्तान्तरण गर्न जरुरी छ । हाम्रा पार्कहरुमा कंक्रिट मोह बढ्दै गएका छन् । त्यसलाई निरुत्साहित गर्न जरुरी छ’, उनले भने, ‘काठ र स्थानीय सामग्रीको प्रयोग गरेर आकृति बनाउन जरुरी छ । यसमा प्रदेश सरकारले पनि पहल लिन्छ ।’
प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माणदेखि कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगेको जानकारी मुख्यमन्त्री आचार्यले दिए ।
बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेको बताउँदै उनले अब देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रचारप्रसार अभियानलाई तीब्र पार्न आह्वान गरे ।
‘देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न जरुरी छ’, उनले भने, ‘यसका लागि समुदायको सक्रियता, तपाईंहरुको सक्रियता बढ्न जरुरी छ ।’
उनले सामुदायिक वन क्षेत्रभित्र बुद्ध राष्ट्रिय उद्यान निर्माण हुँदा एउटा पर्यटकीय गन्तव्य बन्न सफल भएकोसमेत बताए ।
बुद्ध सामुदायिक वन उपभोक्ता समूहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठबाट विभिन्न आकृति निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार ७५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन विसं २०५६ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भएर अघि बढेको सामुदायिक वनमा अहिले चार हजार ९९३ जना उपभोक्ता प्रत्यक्ष जोडिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर रानाले जानकारी दिए ।