जेलबाट छुटाउने भन्दै भारतीय लागुऔषध कारोबारीसँग ४० हजार लिने ३ नेपाली प्रहरीको फन्दामा – Nepal Press

जेलबाट छुटाउने भन्दै भारतीय लागुऔषध कारोबारीसँग ४० हजार लिने ३ नेपाली प्रहरीको फन्दामा

कैलाली । दुई महिना पहिले लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका एक भारतीय नागरिकलाई छुटाउन भन्दै रकम लिएका तीन जना नेपाली युवा प्रहरीको फन्दामा परेका छन् ।

कार्तिक १२ गते १० ग्राम खैरो हिरोइनसहित भारतीय नागरिक प्रदीप मौरियालाई प्रहरीले पक्राउ गरेको थियो । ठूलो मात्रामा खैरो हिरोइनसहित पक्राउ पर्ने भारतीय नागरिक मौरियालाई प्रहरीले लागुऔषध कारोबारीका रुपमा बुझ्दै सोहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइरहेको थियो, तर शनिबार तीनै कारोबारीलाई रिहा गरिदिन्छौं भन्दै तीन नेपालीले भारतीय नागरिकसँग भारतीय रकम नै बुझेका थिए ।

गौरीगङ्गा नगरपालिका- ७ का २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउदले ३९ हजार ५०० भारु लिएर मौरियालाई रिहा गरिदिने बताएका थिए । थुनुवा मौरियाको तर्फबाट भारतको पलिया बस्ने विपीनकुमार र धरमवीर मौरियाले उनीहरूलाई रकम बुझाएका थिए ।

पहिलो चरणमा ३९ हजार रकम बुझेर थप रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाइ भएको थियो, तर प्रहरीले केही समयपछि उनीहरु तीनै जनालाई पक्राउ गर्‍यो । रकम दिएपछि पनि सायद उनीहरुले रिहा गर्न सक्दैनन् जस्तो लागेर विपीनकुमार र धरमवीर मौरियाले प्रहरीसमक्ष उजुरी दिएका थिए ।

रकम दिएकाहरूकै उजुरीको आधारमा रकम लिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथमा बुझाएको रकम पनि बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *