एकपछि अर्को वियोगले उजाडिएको पंगेनी परिवार
घरमा एक वर्षे नाति र कान्छी बुहारी छाडेर छोराको शव लिन गए अमेरिका
रुपन्देही । कवि बालकृष्ण समको कविता ‘दुःखीको घरमा मात्रै तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे’ बर्दियाका मीनराज पंगेनीमाथि चरितार्थ भएको छ । एकपछि अर्को पारिवारिक वियोगले मर्माहत बनिरहेका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा ५ राजपुर मैनापोखरका ५६ वर्षीय मीनराज डेढ वर्षअघि पत्नी शोकमा परेका थिए । यस वर्ष चार महिनाको अन्तरालमा उनले दुवै छोरा पालैपालो गुमाएका छन् । कान्छो छोरा विपिनको सवारी दुर्घटनामा गत भदौमा निधन भएको थियो भने जेठो छोरा विवेक गत शुक्रबार क्यान्सरले अमेरिकामा बिते ।
श्रीमानको अन्तिम अवस्था भएको खबर बुहारी सिर्जनाले पठाएपछि केही दिनअघि अमेरिका पुगेका थिए मिनराज । उनले छोराको मुख हेर्न पाए, तर घर फर्काउन सकेनन् ।
क्यान्सरपिडित श्रीमानको उपचार र स्याहारसुसारमा सिर्जनाले आफूलाई पूर्णरुपमा समर्पित गरेकी थिइन् । तर, उनका सबै प्रयासहरु व्यर्थ भए । विवेकले क्यान्सरसँग हारे । सिर्जना एक्लिइन् । टिकटकबाट परिचित बनेको यो जोडीको लागि कयौं नेपालीहरुले गरेको प्रार्थना काम लागेन ।
२०७९ सालमा भौतिक शास्त्रमा पीएचडी गर्नलाई फूल स्कलरसीपमा अमेरिका गएका विवेक त्यहाँ पुगेको ५ महिनापछि नै पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि श्रीमती सिर्जनालाई लिएर नेपाल आएका थिए ।
आमाको काजक्रिया सकेपश्चात अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा चौथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि निर्धारित दिनमै अमेरिका गएर त्यहाँको अस्पतालमा भर्ना भएका थिए । दुईवटा शल्यक्रिया गरेर र ७० प्रतिशत ट्युमर निकालिएको थियो । बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयदेखि भइरहेपनि बिहीबार सबै प्रयासमा पूर्णबिराम लाग्यो ।
विवेकको उता उपचार भइरहेको बेला गत भदौ २१ गते नेपालगन्जबाट बर्दिया जानेक्रममा मीनराजका कान्छा छोरा विपिनको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । भदौ २१ गते शुक्रवार तीजको दिन मोटरसाइकल चलाएर आफू काम गर्ने नेपालगञ्जस्थित गाडी कम्पनीबाट फर्कने क्रममा दुर्घटनामा परेका थिए ।
श्रीमती गुमाएका मीनराज जेठो छोराको गम्भीर बिरामी र कान्छो छोराको दुर्घटनामा निधनले थप पीडामा परेका थिए तर अमेरिकामा उपचार गराइरहेका छोरा विवेकलाई बुहारी सिर्जनाको मेहनतले बचाउन सकिने आशामा रहेका थिए । सबै छिमेकी आफन्तजनले त्यति ठूलो विकसित देशमा उपचार गराइरहेकाले र सिर्जनाले उपचारको सबै रकम पनि जोहो गरिरहेकाले ठीक हुने भन्दै मिनराजलाई आश्वस्त पारिरहेका थिए ।
मीनराजका सम्धी तथा सिर्जनाका बुवा शिव सुवेदीका अनुसार सिर्जनाले नै विवेकको आस मारिसकेकाले मीनराजलाई अमेरिका आउन एक दिनअघि नै खबर गरेर टिकटको बन्दोबस्त भएको थियो । अहिले मीनराज अमेरिका लागेपछि बर्दिया बढैयामा कान्छी बुहारी कविता १ वर्षको छोरा हेरेर बसेकी छन् ।
श्रीमती, कान्छो छोरा र जेठो छोरा गुमाएपछि मीनराज असह्य पीडाको भारीले थिचिएका छन् । तर, घरको मूली नै आफू भएकाले सबैलाई सम्हाल्नुपर्ने चुनौती छ ।
उनी साबिक सोरहवा गाविसको अध्यक्ष पनि भएकाले सामाजिक काममा पनि उत्तिकै लाग्ने गर्दथे । तर, निजी जीवनमा एकपछि अर्को वेदनाले घेरिरहेको छ । पछिल्लो घटनाले पंगेनी परिवारलाई मात्रै होइन बढैयातालको जगतपुरबासी नै शोकाकुल बनेको स्थानीय नेत्रप्रसाद सापकोटा बताउँछन् ।
‘यो पीडालाई वर्णन गर्ने कुनै शब्द नै छैन, हामी सबै स्तब्ध छौँ । मीनराज कसरी सम्हालिएर हिँड्नुभएको होला भन्ने लागिरहेको छ’ उनले भने ।
अब पंगेनी परिवारको व्यवस्थापन, कविता र उनको १ वर्षको छोराको भविष्यका विषयमा के गर्न सकिन्छ भनेर आफूले पालिकामा छलफल गर्ने सो वडाका वडाध्यक्ष तुलाराम थारु बताउँछन् ।
विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट यो जोडी चर्चामा आएको थियो । उनीहरूका थुप्रै भिडिओ टिकटकमा भाइरल भएका थिए ।
शुभेच्छुकहरूले ‘कसले भन्छ फेरि भगवान् छन् भनेर ? जहाँ बुढा बाआमाको सहारा, श्रीमतीको सर्वस्व र ती साना नाबालकले भविष्य गुमाउँछ र बज्रपात पार्छ त्यो भगवानलाई कसरी पुज्ने हामीले ?’ ‘योभन्दा दुःखद घटना अरू के होला र ?’ भनेर आफ्ना धारणा लेख्दै विपिन र विवेकलाई श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना लेखिरहेका छन् ।
सामाजिक सञ्जालबाटै सहायता आह्वान गरेर श्रीमानको उपचार गराइरहेकी सिर्जनालाई श्रीमान् बितेपछि अहिले उनका शुभेच्छुकहरूले जति कठिन परिस्थितिसँग जुध्न परे पनि, मनमा जति पीडा भए पनि साहसका साथ अघि बढ्न सुझाइरहेका छन् ।
कठिन अवस्थामा श्रीमानलाई पनि मुस्काउन प्रेरणा दिइरहेकी, प्रेम र समर्पणकी एक बिम्ब बनेको भन्दै उनलाई नहतासिन आग्रह गरिरहेका छन् ।