गगन थापाको दाबी- संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर पालिका वडा नम्ब ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम शुरु गर्ने बताए। उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए ।
यस्तो छ उनको भनाइ
‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ । यसलाई पनि सम्हाल्छौँ । धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं, त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं ।
किनभने यो संविधान भनेको काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन । माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्छौं । दलहरुको बीचमा समझदारी बनाउँछौँ । न्युनतम कुराहरु संशोधन गर्छौं । संसद समावेशी छ, अझै यो भन्दा बढी समावेशी बनाउने हो । क्याबिनेट समावेशी छैन, समावेशी बनाउने हो ।
सँगै एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनै पर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ । एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ । यस्ता केही विषयहरु छन्, जुन कुरामा हामी संविधान संशोधन गर्नेकुरामा प्रवेश गर्दछौँ । छलफल गर्छौं तर सम्हालेर गर्छौं ।’