देवदहमा दोस्रो मिडिया फेस्टिबलको तयारी – Nepal Press

देवदहमा दोस्रो मिडिया फेस्टिबलको तयारी

मिडियाको संकटसँगै स्थानीय उत्पादनका विषयमा अन्तरसंवाद गरिने

रुपन्देही । रुपन्देहीको देवदहमा दोस्रो मिडिया फेस्टिवलको तयारी गरिएको छ । देवदह प्रेस क्लबले शनिवार पत्रकार सम्मेलन गरेर यही पुस ११ र १२ गते देवदहको सरहनबारीमा दोस्रो मिडिया फेस्टिवल गर्न लागेको जनाएको छ ।

क्लबले गतवर्ष पनि मिडिया फेस्टिबल आयोजना गरेको थियो । फेस्टिवलमा स्वतन्त्र प्रेस, व्यावसायिक पत्रकारिता, विकास तथा सुशासन, कृषि र पर्यटनसंगै नेपाली समाजमा पछिल्लो समयमा देखिएको आम असन्तुष्टि र लोकप्रियतावादको विषयमा समेत राष्ट्रियस्तरका नेताहरुसँग प्यानल डिस्कसन गरिने गरी कार्यक्रमको सेडुअल तयार गरिएको छ ।

दुई दिनमा ५ वटा सेशनमा छलफल हुने यो कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञ बाहिरबाट बोलाइने भएपनि सरोकारवाला सबै रुपन्देही क्षेत्रकै रहनेछन् । गतसाल मकै विशेष मिडिया फेस्टिवल आयोजना गरेको क्लबले यो वर्ष महोत्सवलाई सिमि विशेष बनाउने तयारी गरेको छ । देवदहको सरनबारी कृषि पकेट क्षेत्रका रुपमा परिचित छ । यसैलाई आधार बनाएर यसलाई प्राथमिकतामा राखिएको हो ।

क्लबका अध्यक्ष विष्णु पोखरेलले देवदहलाई बौद्धिक बहसको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले मिडिया फेस्टिवल गर्न लागिएको जनाएका छन् ।

‘बुद्ध माता मायादेवी, सानीआमा प्रजापति गौतमी र उहाँकी जीवनसंगिनी यशोधराजस्ता महान र विलक्षण प्रतिभावान नारीहरु जन्मिएको देवदह आफ्नै ऐतिहासिक विरासत र पुरातात्विक महत्व बोकेको क्षेत्र हो’ अध्यक्ष पोखरेलले भने, ‘देवदहको प्रचारप्रसारमा उल्लेख्य काम हुन नसकेको र पर्याप्त बौद्धिक बहस, अन्तरक्रिया र छलफलसमेत नभएको महशुस गरी गतवर्षबाट सुरु गरिएको देवदह मिडिया फेस्टिवलको दोस्रो संस्करण थप व्यवस्थित र परिस्कृत ढंगले गर्ने तयारी गरिरहेका छौं ।’

२०७८ सालमा स्थापना भएको क्लबले पत्रकारिता तालिम, प्रथम देवदह मिडिया फेस्टिवल, प्रथम देवदह मिडिया कप, पर्यटन प्रवद्र्धनका लागि पत्रकार पदयात्रा, देवदह सञ्चार डाईरेक्टरी प्रकाशनसंगै विशेष परिस्थितिमा पत्रकार सम्मेलन, अन्तरक्रिया, गोष्ठी आदि सञ्चालन गर्दै आएको छ । फेस्टिवल संचालन गर्न पाँच लाख रुपैंया खर्च लाग्ने आयोजकको भनाइ छ । क्लबमा अहिले ४२ जना सदस्य आवद्ध रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर