बाघको शिकार गर्न खोज्दा आफैं मारिए जितबहादुर, साथी पक्राउ
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत कात्तिक २ गते एउटा सूचना आयो, बाघले मानिस मार्यो । मानव वन्यजन्तु द्वन्द्व निकुञ्ज वरपर भइरहने प्रकृया हो ।
यसपटकको बाघले मानिस मारेको सूचना पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको वडा नम्बर १, मा पर्ने लक्ष्मी डाँडा भन्ने ठाउँको थियो ।
उक्त स्थान निकुञ्जको तीनचुली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्छ । बाघले मानिस मारेको खबर आएपछि निकुञ्ज कर्मचारी घटनास्थल पुगे ।
घटनास्थलमा निकुञ्जका कर्मचारी र नयाँ गोरखगढ बगुवान सुरक्षा पोष्टका सुरक्षाकर्मीको टोलीले मुचुल्का गर्दा सवारी साधनमा राखिने ब्रेकरकाे तार, केवल लाइनमा प्रयोग हुने तार एक एक थान फेला पारे । त्यसैगरि त्यहाँ रौँ अल्झिएको जस्तो देखिने तार पनि घटनास्थलबाट बरमद भयो ।
बाघको आक्रमणमा परेर स्थानीय ६७ वर्षका जीतबहादुर थिङको मृत्यु भएको थियो । उनी पनि विनयत्रिवेणी १ कै स्थानीय बासिन्दा थिए । एकातर्फ स्थानीय व्यक्तिको ज्यान बाघको आक्रमणबाट गएको छ । अर्कोतिर वन्यजन्तुको चोरी शिकारीमा प्रयोग हुने सामग्री बरामद भएको छ । घटनाको अनुसन्धान कसरी गर्ने भनेर केही समय निकुञ्ज प्रशासन पनि सोचमा पर्यो ।
निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापामगरका अनुसार सबैभन्दा पहिले तारमा अल्झिएको रौँ बाघको नै हो होइन निकुञ्ज प्रशासनले पक्का गर्यो । परीक्षणमा उक्त रौँ पाटेबाघ कै भएको पुष्टि भयो ।
त्यसपछि बाघले मान्छे मारेको घटनालाई वन्यजन्तु चोरी शिकारीको अनुसन्धानबाट हेरिनुपर्ने निर्णयमा निकुञ्ज पुग्यो । सोही आधारमा निकुञ्जले घटनास्थलमा सँगै गएका २० वर्षीय अमृत न्यौपानेलाई कात्तिकको २९ गते नियन्त्रणमा लियो ।
अमृतलाई नियन्त्रणमा लिएपछि उ चोरी शिकारीमा गएको हो होइन पक्का गर्न निकुञ्जले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा न्यौपानेको मोबाइल फोन परीक्षणको लागि पठायो । सोही क्रममा उनले खिचेको बाघको तस्वीर प्रहरीले फोनमा भेट्यो । त्यसपछि निकुञ्ज प्रशासन, घटना मानव बाघ द्वन्द्व भन्दा पनि चोरी शिकारीकै क्रममा मृत्यु भएको घटना भएको निष्कर्षमा पुग्यो ।
निकुञ्जका सूचना अधिकारी थापाका अनुसार घटनास्थल र मोबाइलको माध्यमबाट घटना चोरी शिकारीको क्रममा भएको प्रमाण भेटिएपछि न्यौपानेले बाघ मार्ने पासो थापेर आफूलाई जीतबहादुरले साथी जाउँ भनेर लगेको बयान दिए ।
बाघका आनिवानी थाहा पाउने मानिसलाई बाघको नियमित बाटो थाहा पाउन समस्या हुँदैन । बाघ गैँडा, हात्ती लगायतका ठूला जनावर आफ्नो क्षेत्र निर्धारण गरेर सोही आसपासमा बासस्थान बनाउँछन् । सोही आधारमा जीतबहादुरले मध्यवर्ती क्षेत्रको लक्ष्मी डाँडामा पासो थापेको निकुञ्जको अनुसन्धानको निष्कर्ष छ ।
सूचना अधिकारी थापाका अनुसार जीतबहादुरले थापेको पासोमा बाघ पर्छ पर्दैन भनेर जंगलमा न्यौपाने र मृतक जीतबहादुर लुकेर हेरिरहेका थिए । बिहानको समयमा बाघ सोही बाटो हुँदै आयो । बाघ पासोमा पनि पर्यो । तर, पासो कमजोर रहेछ ।
पासोमा परेको बाघको नजिक जीतबहादुर पुग्नासाथ पासोबाट फुत्किएको बाघले उनलाई आक्रमण गरेपछि जीतबहादुरको मृत्यु भएको अमृतले दिएको बयानमा उल्लेख छ । आफू भने बाघले आक्रमण गरेपछि रुख चढ्न भ्याएर बँचेको उनले अनुसन्धान अधिकारीसँग बताएका थापाले जानकारी दिए ।
न्यौपानेले बयानमा आफूले रुखबाट बाघको फोटो खिचेको पनि स्वीकार गरेका छन् । भने मृत्यु हुने जीतबहादुर थिङ भने यसअघि एक पटक संरक्षित वन्यजन्तु मार्ने उद्योगमा ७ वर्ष सजाय भुक्तान गरि फर्किएका व्यक्ति हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार बाघ के प्रयोजनको लागि मार्न लागिएको भन्ने अमृतले थाहा नभएको बताएका छन् । थाहा पाएका व्यक्तिको मृत्यु नै बाघकै आक्रमणबाट भएकाले मानव वन्यजन्तु द्वन्द्व र अपराध दुबै उक्त घटनामा हुनसक्ने पन्त बताउँछन् ।
यद्यपि, निकुञ्जले जिल्ला अदालत नवलपुरमा अमृत न्यौपाने विरुद्ध मुद्धा दायर गरेको छ । सूचना अधिकारी थापाका अनुसार संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योगमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा ६(घ) अनुसार अपराध गरेको अभियोगमा अदालतमा मुद्धा दर्ता गरिएको हो । उक्त दफा अनुसारको अपराध स्थापित भएमा एक लाखदेखि पाँच लाखसम्म जरिवाना र वा एकदेखि दश वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।