जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न मधेसका मुख्यमन्त्रीको माग – Nepal Press

जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न मधेसका मुख्यमन्त्रीको माग

जनकपुरधाम । मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुर बोल्ट्सका समर्थकमाथि काठमाडौंमा आक्रमण र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

एनपीएल पहिलो संस्करणको उपाधि शनिवार जनकपुर बोल्ट्सले जितेकाे थियाे । फाइनल खेलमा सुदुरपश्चिम रोयल्स पराजित भएपछि समर्थकले जनकपुर बोल्ट्सका समर्थक (मधेसी)माथि आक्रमण र दुर्व्यवहार गरेको भिडिओहरु सामाजिक सञ्जालमा भाइरल भयो । सो घटनाप्रति मधेसका मुख्यमन्त्री सिंहले पनि दुःख व्यक्त गरेका हुन् ।

उनले आज विज्ञप्ति जारी गर्दै एनपिएलमा जनकपुर बोल्ट्स तथा सुदूरपश्चिम रोयल्सबीच शनिबार भएको अन्तिम खेलपछि केही अराजक र उपद्रवी समूहद्वारा जनकपुर बोल्ट्सका समर्थकमाथि गरिएको सांघातिक आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘खेलकुद प्रतिस्पर्धाक्रममा दर्शकहरु स्वाभाविक रूपमा दुई पक्षबीच विभाजित हुने र समर्थन दिने हुन्छ । तर, त्यसकारणले नै एउटा पक्षले अर्को पक्षलाई साम्प्रादायिक सङ्कीर्णता, दुराग्रह र द्वेषपूर्ण घृणाकै कारण भौतिक आक्रमणलगायत दुव्यवहार गर्नु निन्दनीय र दुर्भाग्यपूर्ण छ ।’

उनले क्रिकेट प्रतियोगिताले देशका सबै भूगोल र समुदायका नागरिकबीचको स‌द्भाव, सहिष्णुता र भाइचारालाई थप प्रगाढ बनाइरहेको बेला जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदान क्षेत्रमै भएको भौतिक आक्रमण तथा त्यसअघि पनि भएका त्यस्ता प्रकृतिका घटना असह्य र पीडादायी रहेको टिप्पणी गरेका छन् ।

यस्तै जनमत पार्टीले पनि जनकपुर बोल्ट्सका समर्थकमाथि रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी कारवाहीको दायरामा ल्याउन गृह प्रशासनसँग माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर