‘म मेरो अगाडि एउटा उज्यालो नेपाल देखिरहेको छु’
दक्षिण पूर्व एसिया तथा दक्षिण एसिया क्षेत्रका औद्योगिक एवं सामाजिक आर्थिक विकासका मुद्दाहरूमा विचार तथा अनुभवहरू आदानप्रदान गर्ने उद्देश्यका साथ एक महत्वपूर्ण प्राज्ञिक एवं बौद्धिक मञ्चको रूपमा नेपालको प्रसिद्ध पर्यटकीय नगरी पोखरामा ‘फेवा संवाद २०२४’ को आयोजना गरेकोमा सर्वप्रथम म त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयलाई धन्यवाद तथा बधाई दिन चाहन्छु ।
यो मञ्चले यस क्षेत्रमा रहेका मुलुक र जनताबीचको आपसी समझदारी र सहयोगलाई विस्तार एवं सुदृढीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु । यस अवसरमा, म नेपाल र यस सुन्दर पर्यटकीय शहर पोखरामा हाम्रा अन्तर्राष्ट्रिय पाहुनाहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु र यहाँहरूको नेपाल बसाइ सुखद् रहोस् भन्ने कामना गर्दछु ।
हाम्रो देश नेपाल लामो समयसम्म संवैधानिक विकास, लोकतान्त्रिक अभ्यास रमानवअधिकार प्राप्तिको अभियानमा संलग्न हुनुपरेका कारण हामीले जनआकांक्षाअनुरुप आर्थिक–सामाजिक विकासका लक्ष्यहरू पूरा गर्न सकेका छैनौँ । निकट विगतको ठूलो राजनीतिक परिवर्तनपश्चात भने अब मुलुक आर्थिक–सामाजिक विकासतर्फ अग्रसर हुने परिस्थिति निर्माण भएको छ ।
तसर्थ, आजको चुनौति भनेको सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अघि बढ्न समग्र राष्ट्रको क्रियाशील सहभागितालाई परिचालन गर्नु नै हो । यस सन्दर्भमा, म दिगो आर्थिक विकासका सम्बन्धमा नेपालले भोग्नु परेका समस्या र चुनौतिहरूको बारेमा चर्चा गर्नु उपयुक्त ठान्दछु ।
हाम्रो अर्थतन्त्रको आधार र आकार सानो, साँघुरो र कमजोर भएकाले वाह्य एवं स्वदेशी लगानी प्रवाहलाई पूर्वाधार विकास र सेवाका क्षेत्रमा परिचालन गर्नु पर्ने आवश्यकता रहेको छ । आन्तरिक उत्पादनको श्रृङ्खला बढाई त्यसबाट उठ्ने राजस्व, स्वदेशी उद्योगको स्थापनाले दिने रोजगारी रआन्तरिक माग पूरा गरी गरिने निर्यात तथा नेपालको अर्थतन्त्रको मेरूदण्ड मानिने कृषि क्षेत्रको व्यवसायीकरणले नै हाम्रो दिगो विकासको सपनालाई साकार बनाउन सक्दछ ।
हाम्रो विकास प्रक्रियालाई तीव्रता दिइरहँदा विश्वव्यापि तापमान वृद्धिका कारण उत्पन्न जलवायु परिवर्तनले ल्याएका नकारात्मक प्रभावलाई न्यूनीकरण र जलवायु अनुकूलनका लागि विभिन्न तहमा तर्जुमा भएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गरिनु पनि जरुरी रहेको छ ।
चिन्ताजनक कुरा के छ भने, जलवायु परिवर्तनका लागि कारक तत्वको रूपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा योगदान नगर्ने नेपालसहित अन्य पर्वतीय तथा टापु राष्ट्रहरूले यसको सबैभन्दा नराम्रो असर भोगिरहेका छन् । यो पूर्णतया अन्याय हो ।
कार्बन उत्सर्जनकर्ता विकसित र औद्योगिक मुलुकहरूले नै जलवायु संकटको जिम्मेवारी वहन गर्नुपर्दछ र जलवायु न्यायका लागि प्रदूषण गर्न कुनै योगदान नभएका राष्ट्रहरूलाई उचित क्षतिपूर्ति दिनुपर्छ । जलवायु जोखिममा रहेका देशहरूलाई अनुकूलनका लागि हानी तथा नोक्सानीको क्षतिपूर्ति वापत बिनाशर्त वित्तीय स्रोत र प्रविधि उपलब्ध गराउनुपर्छ ।
आजको अन्तरनिर्भर विश्व व्यवस्थामा कुनै पनि राष्ट्र जतिसुकै सम्पन्न भए पनि पूर्ण रूपमा आत्मनिर्भर बन्न सक्तैन । तसर्थ, विश्वमा अपनाइएका सफल, उदाहरणीय तथा उपयुक्त विकास अभ्यासबाट हामीले सकारात्मक पाठ सिक्नु पर्दछ ।
यस सन्दर्भमा, दक्षिण पूर्व एसियाका केही राष्ट्रहरूको अनुभव हाम्रा लागि प्रेरणादायी हुन सक्दछन् ।
विकास प्रक्रियालाई तीव्रता दिएका मुलुकहरूको चर्चा गर्दाकुनै समय सामान्य हैसियतको दक्षिण पूर्व एसियाली मुलुक मलेसियाले समतामूलक विकास रणनीति, शिक्षा विकास र प्रभावकारी रोजगारी सृजना बिच तादात्म्यता, ग्रामीण विकास, कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट फस्टाएको औद्योगिक विकासले अर्थतन्त्रमा ल्याएको रुपान्तरण, लगानीमैतृ नीति तथा व्यापारउन्मुख व्यवस्थाबाट हासिल गरेको प्रगति र गरिबी निवारणमा पाएको सफलता हाम्रा लागि प्रेरणदायी छ ।
विश्वयुद्धमा जर्जर भएको जापानको लोभलाग्दो आर्थिक उन्नतिपछि दक्षिण कोरिया‚ सिंगापुर, थाइल्याण्ड‚ मलेसिया‚ इण्डोनेसिया‚ भियतनाम लगायतले हासिल गरेको आर्थिक फड्को अन्य धेरै मुलकहरूका लागि अनुकरणीय बनेको छ । कुनै समय साधन र स्रोतको अभाव झेलेको मुलुक सिंगापुरले विश्वव्यापी रूपमा उपलब्ध स्रोत, प्रविधि र पूँजीलाई आकर्षण गरी आर्थिक विकासमा फड्को मारेको छ ।
यस मुलुकले सक्षम कर्मचारीतन्त्र, व्यापार र उत्पादनमा सन्तुलन, समुचित आवास र स्वास्थ्य प्रणाली, करको न्यूनीकरण तथा व्यवधानहीन व्यापार प्रवर्द्धनको समिश्रणको माध्यमबाट कसरी द्रूततर विकास गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । यसैगरी, विगतमाठूलो अभावझेलेको हाम्रो उत्तरी छिमेकी मुलुक चीनले हासिल गरेको आर्थिक समुन्नति इतिहासमै सर्वाधिक चर्चित बन्न पुगेको छ ।
प्रारम्भमा कृषि, उद्योग, प्रतिरक्षा र विज्ञान तथा प्रविधि गरी चार क्षेत्रको आधुनिकीकरण गर्ने उद्देश्यले अघि बढेको चीनले छोटो समयमै गरिबीको रेखामुनि रहेका ठूलो जनसङ्ख्यालाई गरिबीबाट मुक्त मात्र गरेको छैन, देशको अर्थतन्त्रमा आमूल परिवर्तन गरी विश्वको प्रमुख अर्थतन्त्र, उत्पादक राष्ट्र तथा प्रविधि, उद्योग र पूँजीको केन्द्रविन्दु बन्न पुगेको छ ।
औद्योगिक उत्पादन, व्यापार प्रवर्द्धन, नवीकरणीय एवं हरित उर्जा स्रोतको अत्यधिक विकास, पूर्वाधार क्षेत्रको उन्नतिलाई चीनले आफ्नो विकासको मेरुदण्ड बनाएको छ । सिमेन्ट उत्पादन, खाद्य प्रशोधन, कृषि, पशुपालन तथा उपभोक्ता सामग्रीको उत्पादन, इलेक्ट्रोनिक्स, जलस्रोतको उपयोग, पूर्वाधार विकास तथा पर्यटनमा आधारित व्यवसायको विकास हाम्रा लागि उपयुक्त र अनुकरणीय क्षेत्र हुन सक्दछन् ।
लामो समय गृह कलह झेलेको कम्बोडियादेखि बंगलादेश र भारतले समेत आर्थिक वृद्धिमा नयाँ मानक र उपलव्धीहरू हासिल गरिरहेका छन् ।
भारतले कृषि तथा ग्रामीण विकास मार्फत गरिबी निवारण तथा रोजगारी सिर्जना, सूचना प्रविधिको विकासमार्फत नवप्रवर्तन तथा युवा रोजगारीमा वृद्धि, औषधिजन्य उद्योगको विकासमार्फत स्वास्थ्य सेवामा आम जनताको पहुँच विस्तार, बैंकिङ तथा वित्तीय क्षेत्रको विकास मार्फत उद्यमशीलता प्रवर्द्धनका साथै पूर्वाधार तथा यातायात क्षेत्रमा हासिल गरेका उल्लेखनीय सफलता हाम्रा लागि पनि प्रेरणाको स्रोत बन्न सक्दछन् ।
संक्षिप्तमा भन्नु पर्दा‚ उद्योग तथा सेवा क्षेत्रको विस्तारमार्फत एसियाली मुलुकहरूले गरेको यस प्रकारको अभूतपूर्व विकासले गर्दा ‘अबको समय एसियाको’ भन्न थालिएको छ । एसियाको यो उल्लेखनीय सफलताका पछाडि कुशल नेतृत्व‚ शासकीय अर्थात् संस्थागत क्षमतामा सुधार र आर्थिक सुधार मूल केन्द्रविन्दूमा रहेका छन् ।
आर्थिक नीतितर्फ निर्यातमा आधारित आर्थिक वृद्धि‚ वैदेशिक लगानी भित्र्याउन गरिएका सुधार‚ औद्योगिक तथा भौतिक पूर्वाधारमा लगानी‚ मानव संसाधनको विकासमा जोड‚ भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता कुरालाई प्राथमिकतामा राखिएको देखिन्छ ।
सँगसँगै कमजोर वर्ग वा क्षेत्रका लागि सामाजिक सुरक्षा प्रणालीमार्फत विकासको लाभ सबै समक्ष पुर्याउने प्रयास भएको छ । मैले विकासमा फड्को मारेका यी राष्ट्रहरूको उदाहरण दिनुको अर्थ अन्य राष्ट्रले प्रगति गरेका छैनन् वा यी राष्ट्रको अनुभवबाट सिक्नुपर्ने पाठ छँदैछैन भन्ने अर्थमा लिनु हुँदैन ।
यीमध्ये हाम्रा दुई निकट छिमेकी राष्ट्रहरू भारत र चीन नेपालको विकासमा साझेदार राष्ट्र मात्र नभई उनीहरूको उत्तरोत्तर विकास हाम्रा लागि अनुकरणीय रहेको छ । दुवै राष्ट्रबाट प्राप्त सहयोग र उनीहरूको अनुभवबाट हामीले प्रशस्त फाइदा उठाउन सक्दछौँ ।
विश्वको दुई सबभन्दा बढी जनसङ्ख्या भएका तथा विश्वका शीर्षस्थ अर्थतन्त्रको रूपमा उदियमान यी राष्ट्रको विकास र उनीहरूको तर्फबाट प्राप्त सहयोग हाम्रा लागि हौसला र प्रेरणा बनेको छ । जसरी खारिएका, दूरदर्शी, सबल र सक्षम नेतृत्वका कारण एसिया विश्व आर्थिक तथा प्राविधिक विकासको गुरुत्वाकर्षणको केन्द्र बन्दै गएको छ, त्यसैगरी आफ्नो आवश्यकता, पृष्ठभूमि र विशेष परिस्थितिअनुरुप नेपालको विकासगर्ने दायित्व हाम्रो काँधमा छ ।
विकास र समृद्धितर्फ हामीले अघि बढाएका कदमहरूमा मित्रहरू माध्यम वा साधन बन्न सक्दछन् । विश्वका सबै राष्ट्रहरूसँग समधुर सम्बन्ध र सद्भावना राख्ने गौतम बुद्धको जन्मभूमि शान्तिप्रिय मुलुक नेपालका विश्वभर मित्र र शुभचिन्तक छन् । विकसित र आत्मनिर्भर नेपाल नै हाम्रो अन्तर्राष्ट्रिय प्रतिष्ठा र दिगो आन्तरिक सहिष्णुताको कडी बन्न सक्दछ ।
वर्तमान विश्वमाविनाशकारी हतियारको उत्पादन र प्रयोगले एकातिर सघन रूपमा पर्यावरण विनाशमा भूमिका खेलिरहेको छ भने अर्कोतिर सामाजिक–आर्थिक विकासमा गर्नुपर्ने लगानी खेर गइराखेको छ । एक सुरक्षित, स्थिर र समृद्ध विश्व हाम्रो चाहना हो । तर संसारका विभिन्न भागहरूमा जे भइरहेको छ, त्यो हामी सबैको लागि गम्भीर चिन्ताको विषय बनेको छ। मध्यपूर्वको गाजापट्टी, लेबनान, सिरिया र यमनमा जारी द्वन्द्व, हिंसा र युद्धले लाखौं मानिसको ज्यान लिनुका साथै ठूलो सङ्ख्यालाई अङ्गभङ्ग र बेघरबार बनाएको छ ।
यसैगरी, रुस-युक्रेन युद्धबाट सिर्जित मानवीय पीडा र त्रासदीको बारेमा पनि हामी गम्भिर रूपमा चिन्तित छौं। यस प्रकारका युद्धहरू चाँडोभन्दा चाँडो अन्त्य हुनुपर्छ।संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरू र अन्तर्राष्ट्रिय कानुनका अन्य मापदण्डहरू सबैले पालना गर्नुपर्छ ।
आमविनाशका हतियार उत्पादन गर्न प्रयोग हुने स्रोत र साधनलाई दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यतर्फ मोडिनुपर्छ । गरिबी, भोक, कुपोषण र पिछडिएको संसार दिगो विश्व शान्तिको लागि बाधक हुन् । तसर्थ, विश्वका विभिन्न भागहरूमा भइरहेका युद्ध, शक्तिशाली राष्ट्रहरू बिच हुने शस्त्रास्त्रको होडबाजी र अनेकौँ द्वन्द्व र तनावलाई न्यूनीकरण र निर्मूलीकरण गर्न संसारका शान्तिप्रेमी जनता एकजुट हुनु पर्दछ ।
नेपालको संविधान जारी हुने समयका विभिन्न बाधा–अवरोध, खिचातानी, राजनीतिक दलहरूमा राष्ट्रियभन्दा दलगत सोच हाबी हुने जस्ता आन्तरिक कठिनाईबाट पार पाउँनु हाम्रा लागि कम उपलब्धीको विषय होइन ।
शान्ति प्रक्रियाका बाँकी कामहरू द्रूततर गतिमा निप्ट्याउँन हामी जसरी अग्रसर छौँ, संविधान जारी हुनु केही महिना अघिको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षति र अर्थतन्त्रमा ल्याएको असन्तुलन तथा संवैधानिक विकासबाट प्राप्त राजनीतिक स्थायित्वको केही समयमै विश्वव्यापी कोभिड–१९ महामारीका कारण अर्थतन्त्रमा आएको शिथिलतालाई धेरैहदसम्म न्यूनीकरण गर्न हामी सफल पनि भएका छौँ ।
अब नेपालले भविष्यप्रति आशावादी भएर अघि बढ्नुको विकल्प छैन । अन्तरनिर्भरताको यो युगमा आँफूसँग उपलब्ध उर्जा व्यापार‚ कृषि र खानीमा आधारित उद्योग‚ पर्यटन, सूचनाप्रविधिमा आधारित सेवा‚ वन पैदावार‚ जडिबुटी जस्ता तुलनात्मक लाभका क्षेत्रहरूको सदुपयोग गर्न सके तीब्र आर्थिक विकास हुनेमा कुनै शंका छैन ।
यी सबै उपलब्धी हासिल गर्न अन्य एसियाली मुलुकहरूले गरे झैँ नेपालभित्र गरिनु पर्ने लगानी र व्यवसायिक वातावरण निर्माण‚ वैदेशिक लगानीका लागि तीव्र नीतिगत एवं संस्थागत सुधार‚ औद्योगिक तथा भौतिक पूर्वाधारको विकास‚ शासकीय क्षमता र सुशासनमा सुधार पूर्वशर्तहरू हुन् ।
यसो हुन सके दोहोरो अङ्कको आर्थिक वृद्धि दर हामीबाट टाढा छैन । किनकि, अहिले हाम्रा युवाहरू पनि विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने गरी क्षमतावान बन्दै गएका छन् र तीव्र गतिमा भूमण्डलीकरणसँग आवद्ध भइरहेका छन् । त्यसकारण अहिले म मेरो अगाडि एउटा उज्यालो नेपाल देखिरहेको छु ।
यस परिप्रेक्ष्यमा, यहाँहरू जस्तो प्राज्ञिक र बौद्धिक समुदायबाट दिइने बुँदागत, वस्तुनिष्ट र ठोस सुझावले विशेष महत्व राख्दछ । यस मञ्चमा यहाँहरूको बिचमा भएको छलफल, विचार विमर्श र बौद्धिक मन्थनले नेपाल सरकारलाई महत्वपूर्ण पृष्ठपोषण प्रदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।
अन्तमा, फेवा संवाद सुरुवात भएकोमा खुसी व्यक्त गर्दै,यससंवादको निरन्तरता र सार्थक परिणामको अपेक्षा सहित यो कार्यक्रमको सफलताको कामना गर्दै, आयोजकलाई धन्यवाद दिन्छु ।
(पुष ४ गते पोखरामा त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन युनिभर्सिटी, सेन्टर फर साउथ एशियन स्टडीज (सीसीएसएएस) द्वारा संयुक्त रूपमा आयोजित ‘फेवा संवाद–२०२४’को उद्घाटन कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सम्बोधनको सम्पादित अंश ।)
गफ नदिउँ । राष्ट्रपति पनि ओलिले बनाएका हुन् ।