आधारहीन आरोप आलोचनात्मक पत्रकारिता होइन : अध्यक्ष बस्नेत – Nepal Press

आधारहीन आरोप आलोचनात्मक पत्रकारिता होइन : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आधारहीन आरोप नभै स्वस्थ आलोचनाको बाटो समाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई आग्रह गरेका छन् ।

युट्युब, फेसबुक पेजसहित डिजिटल माध्यममा भ्रामक र आधारहीन आरोपले प्रश्रय पाएको उल्लेख गर्दै त्यसलाई रोक्न सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयम् सचेत बन्नुपर्ने सुझाव दिएका हुन् ।

काउन्सिलले नियमितरूपमा नयाँ अनलाइनका सम्पादक÷प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रममा आइतवार बोल्दै अध्यक्ष बस्नेतले आधारहीन एवं एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले सञ्चार माध्यमकै बदनाम भइरहेको उल्लेख गरे ।

अनलाइनसहित कतिपय सञ्चार माध्यमले जानाजानी आरोपैआरोपको शृङ्खला सुरु गरेको र सामाजिक सञ्जालको समेत ब्यापक दुरुपयोग भएको औंल्याए ।

पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भएपनि आलोचना गर्नु भनेको आरोपको वर्षा लगाउनु नभएको उनको भनाइ छ । उनले भने, “पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यो गलत बाटोको मारमा मिडिया जगत स्वयं पर्नुपरेको छ । यसले पत्रकारिताको विश्वसनीयता खल्बलाएको छ ।’

अहिले तथ्य र आधारहीन आरोप नभएर आलोचनात्मक पत्रकारिताको खाँचो रहेको उनले औँल्याए । पत्रकारले समस्या केलाउने मात्र नभएर त्यसको समाधानका लागि हुनुपर्ने कामहरूमा समेत चासो देखाउनुपर्ने बेला आएको उनले बताए ।

प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता भनेको आफूले आफैलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ पालना गर्नुपर्ने बताए ।

उनले प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण गर्ने र लागू गराउने रहेको र काउन्सिलले नयाँ सूचीकरण हुने अनलाइनलाई अभिमुखीकरण गरेदेखि यसले राम्रो नतिजा देखिएको उल्लेख गरे । पोखरेलले पत्रकारिताभित्र आलोचनात्मक चेतलाई कमजोर बनाउन नहुने भन्दै आलोचनाका नाममा आरोप पत्रकारितालाई रोक्न काउन्सिलले विशेष सक्रियता देखाएकोमा प्रशंसा समेत गरे ।

विषय विज्ञको रूपमा सहभागी पत्रकार फूलमान बलले पहिले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भन्न्ने धारणा रहेको उल्लेख गर्दै त्यसमा प्रश्न उठाउने काम पत्रकार आफैंले गर्न नहुने बताए ।

नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक समेत रहेका उनले अहिले गफ गरेकै भरमा गोपनीयताको ख्याल नगरी पत्रकारले लेख्छ वा पैसाको बार्गेनिङ गर्छ भन्ने भाष्य निर्माण हुन थालिनु दुःखद् भएको उल्लेख गरे । उनले भने, ‘अब राज्यले पत्रकारको योग्यतासम्बन्धी स्पष्ट मापदण्ड बनाउन पनि आवश्यक छ ।’

काउन्सिलले केही महिनादेखि युट्युव, फेसबुक पेजमार्फत चलेका सञ्चारमाध्यममाथि अनुगमन र निगरानी गर्दै आएको छ । सञ्चारमाध्यमको स्वरुपमा आएका त्यस्ता सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउन बेग्लै कार्यविधि बनाई काम गर्दै आएको छ ।

सोही क्रममा काउन्सिलले पत्रकार आचारसंहिता पालना गराउन कडाई गर्ने उद्दश्यले अभिमुखिकरण, मिडिया जागरण र नियमन सुरु गरेको हो । काउन्सिलले रचनात्मक र समाधानमुखी पत्रकारितालाई अँगाल्न विभिन्न सञ्चार कक्ष, विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा सुझाव दिने कामलाई अभियानको रुपमा अघि सारेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *