नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि भारतीय एक्स्काभेटर र चालक ६ घण्टापछि नियन्त्रणमुक्त – Nepal Press

नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि भारतीय एक्स्काभेटर र चालक ६ घण्टापछि नियन्त्रणमुक्त

कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारतीय पक्षले महाकालीको धार नै परिवर्तन गर्नेगर हिजो एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएको थियो ।

बिहान करिब ११ बजे सदरमुकाम खलङ्गाको वीरेन्द्र वन क्षेत्रनजिकै चालक भास्कर पाठकले भारतीय एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएका थिए ।

स्थानीयले नेपाली भूमिमा भारतीय हस्तक्षेप बढेको भन्दै एक्स्काभेटर र चालक नियन्त्रणमा लिए । करिब ६ घण्टा स्थानीय, प्रहरी, प्रशासनको नियन्त्रणमा रहेका एक्स्काभेटर र चालकलाई यसपछि फेरि यस्तो गल्ती नगर्ने भन्दै छोडिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

‘पूर्व सूचनाविनै भारतीय मेसिन नेपालतर्फ छिराए लगत्तै चालक र एक्स्काभेटर नियन्त्रणमा लिइएको हो । भारतीय अधिकारीले गल्ती स्वीकार गरेको र अब फेरि यस्तो नगर्ने बताएपछि फिर्ता पठाएका छौँ, प्रजिअ जोशीले भने ‘यसअघि हाम्रो साधनमा पनि उनीहरूले अवरोध गरेका थिए । हामीले भारतीय पक्षको पनि त आयो भनेर बुझायौँ ।’

भारत पिथौरागढ जिल्लाका अधिकारी आनन्द स्वरूप तथा धार्चुला उपजिल्ला अधिकारी अनिल शुक्लको निरन्तरको आग्रहपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपराह्न ४ बजे चालक र एक्स्काभेटर फिर्ता पठाएको थियो ।

सीमा नदी क्षेत्रमा काम गर्दा आपसी समन्वय आवश्यक पर्छ । तर, भारतीय पक्षले भने एकलौटी रूपमा निर्माणको काम गरिरहेको छ । सीमापारि महाकालीमा तटबन्ध गरिरहेको भारतीय पक्षले विना जानकारी एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएको थियो ।

०७० को बाढीपछि आफ्नो भूमिसमेत छोडेर नेपालले तटबन्ध निर्माण गरे पनि अहिले भारतले नेपालतर्फ महाकालीको बहाव बढ्नेगर तटबन्ध गरिरहेको छ । धेरै ठाउँमा भारतीय पक्षले नेपालतर्फका ढुङ्गा आफ्नो भूमिमा सारेको स्थानीयको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी जोशी दुई देशले सीमा क्षेत्रमा काम गर्दा समन्वय गर्नुपर्नेमा एकतर्फी गर्दा समस्या उत्पन्न भएको बताउँछन् ।

दुई वर्षअघि पनि नेपाल र भारतीय पक्षबिच तटबन्ध निर्माणकै विषयमा ढुङ्गा हानाहान भएको थियो ।

‘हामीले भारतीय पक्षको एक्स्काभेटर नेपाली भूमितर्फ आएको विषय केन्द्रमा जानकारी गराइसकेका छौँ केन्द्रबाट पनि यस्ता काम नगर्नेगर दुई पक्षका बिच कुरा हुने छ ’ प्रजिअ जोशीले भने ‘हामीले पनि आगामी दिनमा यस्तो नगर्न भनेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर