एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका वडा नं ०२ घर भई हाल कीर्तिपुर नगरपालिका ०८ पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटी दिपायल सिलगढी नगरपालिका ०१ घर भई हाल कीर्तिपुर नगरपालिका ०७ भाजङगल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन् ।
त्रिवि क्रिकेट ग्राउण्डमा एनपीएलको जनकपुर बोल्टस र सुदुरपश्चिम रोयलबीचको फाइनल खेल सकिएपछि केहि व्यक्तिहरुले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने तथा बिभिन्न व्यक्तिहरुमाथि अभद्र व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । पीडितहरुले कुटपिट तथा अभद्र व्यवहार गर्नेहरुविरुद्ध जाहेरी दिएका थिए ।
पीडितहरुको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न दुई जनालाई हिजो साझँ पक्राउ गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको छ ।
फाइनल खेलमा जनकपुरका केही समर्थकमाथि अभद्र व्यवहार भएपछि दाेषीलाई कारबाही गर्न माग गर्दै घटनाबारे चाैतर्फी आलोचना भइरहेको छ।