एमालेलाई मिनेन्द्रको सुझाव- राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउनु अनिष्टकारी हुनेछ (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा एमालेलाई राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउनु अनिष्टकारी हुने सुझाव दिएका छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किने तयारी भइरहेको चर्चा चलिरहेको बेलामा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देशको अभिभावक भएको व्यक्ति सधैँ सम्मानित भएर बस्नुपर्ने बताए।
उनले भने, ‘देशको उपराष्ट्रपति भइसकेको मान्छे राजनीतिमा प्रवेश गर्दै हुनुहुन्छ,पद सिर्जना गरिदैछ । देशको राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्किन लागेको भनेर साथीहरु हर्षबढाइ गर्दै हुनुहुन्छ । राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फकाउन सर्वथा अनिष्टकारी कुरा हुनेछ। मुलुकले त्यहाँसम्म पुराएपछि त्यहाँ रहँदामा मात्र होइन,त्यसपछि पनि मुलुकको अभिभावको रूपमा रहन्छ भनेर पठाएको। सद्भाव मलाई पूर्व राष्ट्रपति विद्या भण्डारी प्रति पनि छ र अहिलेको प्रधानमन्त्री ओलीप्रति अरू नेताप्रति पनि उत्तिकै छ। यदि एउटा ढोकाबाट पसेर राष्ट्रपति उपराष्ट्रपति बन्ने, अर्कोबाट निस्केर पार्टीको अध्यक्ष बन्न खोजिए देशलाई हानी हुनेछ। रिभल्बिङ डोर राम्रो हुन्न। पार्टीमा धैरेजना राम्रा मान्छे छन्। एमालेको जीवनमा म प्रवेश गर्न चाहेको होइन । किसुनजीले भन्ने गरेको उदाहरण, ईश्वर बाहेक सबैको विकल्प छ।‘
एउटा मान्छेले पार्टीमा धेरै फरक नपार्ने उनको भनाइ छ। उनले राष्ट्रपति भइसकेको व्यक्तिले पनि सक्रिय राजनीतिमा आउनु उपयुक्त नहुने बताए। उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउनको लागि माओवादीले पद सिर्जना गर्न लागेको बिषयको पनि आलोचना गरे।
विद्या भण्डारी पार्टी राजनीतिमा आएको दिन एमाले सकिन्छ । उनी त्याहाँ आईन भने उनले बनाउने भनेको दुईचार जना हनुमानहरू जम्मा गरेर भिड हो । उनको छवि त धूमिल हुन्छ नै पार्टीमा पनि गुटबन्दी बढेर पार्टी ध्वस्त हुन्छ । मेरो सुझाव उनले म कहिल्यै पार्टी राजनीतिमा आउने छैन भनेर सार्वजनिक बक्तव्य निकाल्नुपर्छ ।