छोरासँगै मृत भेटिएका कुलप्रसाद हुलाक कार्यालयका हाकिम, विदा लिएर खोटाङबाट आएका थिए – Nepal Press

छोरासँगै मृत भेटिएका कुलप्रसाद हुलाक कार्यालयका हाकिम, विदा लिएर खोटाङबाट आएका थिए

खोटाङ ।  भक्तपुरको सुर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख रहेको खुलेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका  थिए ।

हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा मृत फेला परेको खबर आफूसँग आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । उनले भने “जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य बिदामा जाने भनेर मङ्सिर २८ गते प्रशासनमा आउनुभएको थियो । आज यस्तो खबर सुनियो । ”

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको मृतकका आफन्त एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका गोपाल आचार्यले बताए। गएराति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको आफन्तले बताएका छन् ।

उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

उनीहरुको शव भाडाको कोठाबाट निकालेर परीक्षणका लागि अस्पताल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् । बिदामा बसेका निमित्त कार्यालय प्रमुख आचार्यको मृत्यु हुनाका कारण अहिलेसम्म प्राप्त भइनसकेको जिल्ला हुलाक कार्यालय खोटाङले जनाएको छ ।

रासस

 


प्रतिक्रिया

One thought on “छोरासँगै मृत भेटिएका कुलप्रसाद हुलाक कार्यालयका हाकिम, विदा लिएर खोटाङबाट आएका थिए

  1. १० बर्षे प्रचन्डपथमा गुज्रे पछि नेपालमा मान्छे मार्न, सिध्याउन, सफाया गर्न मान्छेमा कत्ति पनि डर, संकोच र मानवियताको ख्याल छैन !!
    सामाजिक बिश्रीन्खालता र आपराधिक मनोवृत्तिको यो बिकास के साच्चै परिवर्तनको पाटो हो ?? गम्भीर प्रश्न !!
    २-४ जना फुटपाथबाट कुर्सीमा हाली मुहालिको लागि बिराज हुनु बाहेक साच्चै परिवर्तन के भयो ??
    जातीय विद्वेष, सामाजिक विभेद र अराजकता चरम रुपमा देखिएको छ : जिम्मेवार को ?? र सम्हालिंछ कसरी ?
    अझै गर्ब गर्छन फूल बुट्टा भरेर, लाग्छ कि हिँसा नै तिनको सभ्यता भयो !!
    यस्ता घटना नियन्त्रित हुन्, शान्ति ब्येवास्था सुनिस्चित होस् !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर