दुई पुत्रवियोग र भ्रष्टाचार मुद्दाले थिलथिलो भएका पूर्वरक्षासचिव अर्याल ८४ वर्षमा अस्ताए – Nepal Press

दुई पुत्रवियोग र भ्रष्टाचार मुद्दाले थिलथिलो भएका पूर्वरक्षासचिव अर्याल ८४ वर्षमा अस्ताए

कान्छो छोराले जेठो छोराको हत्या गरेपछि भताभुंग बनेको थियो पारिवारिक जीवन

काठमाडौं । पूर्व रक्षासचिव चक्रबन्धु अर्याल ८४ वर्षको उमेरमा अस्ताएका छन् । क्यान्सरपीडित उनको ओम अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो ।

हिजै उनको अन्त्येष्टी भइसकेको छ । अर्याललाई नातिले दागवत्ति दिए । हुन त उनी दुई छोराका बाबु हुन् । तर, दुवै छोरा अहिले यो संसारमा छैनन् । यसको प्रसंग तल आउनेछ ।

अर्याल २०२२ माघ १७ मा अधिकृतका रुपमा निजामती सेवा प्रवेश गरेका थिए । सेवाकालमा उनले ११ वर्षसम्म विभिन्न जिल्लाको सीडीओ भएर काम गरे । २०५६ सालमा सेवानिवृत्त हुनुअघि उनी रक्षा मन्त्रालयको सचिव थिए । रक्षा सचिवको कुर्सीमा उनले चार वर्ष व्यतित गरेका थिए ।

निजामती सेवाको यात्रा शानदार रहे पनि सेवानिवृत्त जीवन उनको सुखद भएन । अवकास पाएको ४ वर्षपछि उनलाई भ्रष्टाचार मुद्दा लाग्यो । यो मुद्दाबाट उनले कहिल्यै छुटकारा पाउन सकेनन् । ११ वर्षसम्म जारी रहेको मुद्दाको यसै वर्ष असारमा सर्वोच्चले फैसला सुनायो । तर, फैसला उनको पक्षमा आएन ।

सरकारी सेवामा छँदा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले २०६०, मंसिर १० गते विशेष अदालतमा मुद्दा हालेको थियो । तर हदम्याद कटिसकेको भनेर विशेषले मुद्दा खारेज गरिदियो । यति गर्न विशेष अदालतलाई ४ वर्ष लाग्यो । तर, फेरि अख्तियार सर्वोच्च गयो । सर्वोच्चको फैसला आउँदा थप ४ वर्ष व्यतीत भयो । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीको इजलासले विशेषको फैसला उल्टाउँदै मुद्दालाई विशेषमै फर्काइदिए । विशेषमा फेरि मुद्दा चल्यो ।

२०६८ वैशाख १२ गते अख्तियारले दोस्रोपटक विशेषमा मुद्दा दायर गरेको थियो । त्यसको ७ महिनापछि विशेषले फैसला गर्दै अर्याललाई दोषि ठहर गर्यो । अख्तियारले अर्यालको ४ करोड ८ लाख ८० हजार रुपैयाँ सम्पत्ति मूल्यांकन गर्दै त्यसमध्ये २ करोड ६० लाख ८१ हजार रुपैयाँ अवैधरुपमा कमाएको दाबी गरेको थियो ।

विशेषले चाहिँ अर्यालको सम्पत्तिमध्ये ६६ लाख २ हजार रुपैयाँको मात्रे स्रोत नखुलेको ठहरसहित बिगो र जरीवना तोकेको थियो । साथै, उनलाई डेढ वर्षको जेल सजाय समेत सुनाइएको थियो ।

विशेषको फैसलाविरुद्ध अर्याल २०७० सालमा पुनरावेदन लिएर सर्वोच्च गए । उक्त मुद्दामा सर्वोच्चले गत असारमा फैसला सुनायो । झण्डै २१ वर्षपछि बल्ल मुद्दाको छिनोफानो भयो । मुद्दा सुरु हुँदा ६३ वर्षका अर्याल फैसला आउँदा ८४ वर्षका वयोवृद्ध र अशक्त बनिसकेका थिए ।

त्यसमाथि फैसलाले उनलाई राहत मिलेन । विशेष अदालतको फैसलामा थोरै संशोधन गरे पनि भ्रष्टाचारको दाग पखालिएन । यद्यपि, अदालतको सजाय भुक्तान हुन नपाउँदै उनी परलोक पुगेका छन् ।

वयोवृद्ध शरीरका बाबजुद पनि धार्मिक सामाजिक काममा सक्रिय थिए अर्याल । उनी विश्व हिन्दू महासंघको निमित्त अध्यक्ष हुन् । २०७८ सालको अधिवेशनका लागि बनेको आयोजक समितिका अध्यक्ष पनि थिए । सो अधिवेशनमा उनले पूर्णकालीन अध्यक्ष बन्न उम्मेदवारी दिए तापनि भ्रष्टाचार मुद्दाका कारण उनको उम्मेदवारी खारेज गरिएको थियो ।

पारिवारिक जीवनमा बज्रपात

अर्यालले आफ्नो पारिवारिक जीवनमा ठूलो बज्रपात खेप्नु परेको छ । अकल्पनीय रुपमा उनका कान्छा छोराले जेठा छोराको हत्या गरे । यो घटना २०६१/६२ तिरको हो । अमेरिकामा बस्ने जेठो छोरा सुवास नेपाल आएका बखत कान्छो छोरा सुदर्शनले छुरा प्रहार गरी हत्या गरेका थिए । के कारणले उनले दाइको हत्या गरे भन्ने बाहिर आएको छैन ।

दाजुको हत्या गरेको अभियोगमा पक्राउ परेका सुदर्शनलाई जिल्ला अदालत काठमाडौंले ५ वर्षको कैद सजाय सुनाएको थियो । तर, मुद्दा फेरि सर्वोच्च गयो । सर्वोच्चले जन्मकैद (२० वर्ष) को सजाय तोक्यो । पछि उनको क्यान्सरले मृत्यु भयो ।

दुवै छोरा गुमाएर विक्षिप्त बनेका अर्याल आफैं पनि क्यान्सरबाट पिडित बने । पछिल्लो समय उनी आफ्नो मुद्दाको पनि वास्ता गर्न छोडिसकेका थिए । भतिजले अदालतमा गएर आवश्यक समन्वय गर्थे ।

विशेष अदालतले फैसलामै अर्याललाई भ्रष्टाचारमा दोषि ठहर गरेको फैसलामा उनको परिवारिक स्थितिलाई लिएर सहानुभूति दर्शाएको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको इजलासले गरेको फैसलामा भनिएको छ, ‘प्रतिवादीको पारिवारिक जीवनमा आएको विपत्तिप्रति यो अदालत सहानुभूति प्रकट गर्दछ र रोगबाट शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *